+
+
Shares
बलुवाटार बैठकको अन्तरङ्ग :

के छन् सरकार र दलहरूका दिक्दारी ?

चुनाव नभए के हुन्छ ? बालुवाटार बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको दलहरुलाई एउटै सन्देश थियो – ‘तपाईंहरु जसरी जानुभयो, हामीहरु पनि त्यसरी नै जान्छौं र स्थिति छन् भयावह हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को चुनावका लागि राजनीतिक दलसँग सहकार्य र सहयोगको आग्रह गर्नुभएको छ।
  • बैठकमा दलहरूले सुरक्षा अवस्था र चुनावी वातावरणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
  • सरकार र दलबीच संवादले अविश्वास घटाएको भए पनि आगामी बैठकमा जेनजी प्रतिनिधिहरूलाई पनि समावेश गरिने जानकारी दिइएको छ।

५ कात्तिक, काठमाडौं। जेनजी आन्दोलनबाट सत्तारोहण गरेकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र आन्दोलनले एकैपटक बढारेर सडकमा पुगेका राजनीतिक दलहरुबीच मंगलबार बालुवाटारमा औपचारिक रुपमा झण्डै साढे चार घण्टा अन्तरंग चल्यो ।

बैठकमा प्रधानमन्त्रीले राखेको मूल एजेण्डा थियो- फागुन २१ को चुनाव । त्यो मिसनमा पुग्न जसरी प्रधानमन्त्री कार्कीले दलहरुको साथ खोजिन्, त्यसैगरी दलका नेताहरुले सरकारको अहिलेको कार्यशैली तथा सुरक्षाका कारण हुनसक्ने सम्भावित दृश्य र भवितव्यहरू सम्झाइदिए । जुन फागुनको चुनावका लागि आवश्यक न्यूनतम शर्तहरु हुन् ।

बैठकले दल र सरकारबीचको दूरी घटाएको छ तर दुवै विश्वासका साथ अघि बढ्ने गतव्य तय चाहीँ कहिले हुन्छ निश्चित दृश्य त्यहाँ देखिएन । बैठकमा प्रस्तुत अभिव्यक्किका केही झाँकीहरुले सभ्भावित गतव्य कहिले तय हुन्छ अनुमान लगाउन भने सकिन्छ । बैठकका केही संवाद र दृश्यबारे त्यहाँ उपस्थित नेताहरुले अनलाइनखबरलाई बताएका छन् ।

प्रधानमन्त्रीको आग्रह र दिक्दारी

बैठकको उद्देश्य र विषयवस्तुमाथि प्रवेश गराउँदै सञ्चारमन्त्री जगदीश खरेलले कार्यक्रम सुरुवात गरेपछि प्रधानमन्त्री कार्कीले सुरुमै बोलिन् । उनको मन्तव्यको एउटा पाटो दलहरुप्रति चुनावका लागि आग्रह थियो । अर्कोचाहिँ यो एक महिनाकोबीचमा खेपेका केही दिक्दारी ।

एक महिनाको अवधिमा अलिक बढी नै जेनजीहरुसँग छलफलमा बस्दा बस्दै दलहरुसँग कुरा गर्न नपाएको बताइन् । उनले सुरुवाती चरणमा जेनजी युवाहरूले नै दलहरूसँग संवाद गर्ने कुरा नरुचाएकाले संवादमा ढिलाइ भएको कुरा दलहरुलाई सम्झाइन् ।

संवादको सहजीकरणका लागि राष्ट्रपतिले भूमिका खेलेपछि अहिले छलफलमा बस्ने अवस्था आएको भन्दै उनले चुनावमा जोडिने पाँच पक्षबारे बताइन् । उनका अनुसार चुनावमा जोडिने पाँच पक्ष हुन्- सरकार, निर्वाचन आयोग, सुरक्षा अंग, राजनीतिक दल र आम नागरिक ।

यी मध्ये पहिलो तीन पक्ष चुनावका लागि लागिरहेको उनले जानकारी दिइन् । जसमा निर्वाचन आयोगले १२० दिनको समयमा चुनाव गर्न सकिन्छ भन्ने प्रतिबद्ध जनाएको कुरा प्रधानमन्त्रीले अवगत गराइन्।

शान्ति सुरक्षाका लागि प्रहरीले पनि प्रतिबद्धता जनाएको उनले बताइन् । तर यी तीन पक्षको सहभागिताले मात्र चुनाव नहुने भन्दै उनले राजनीतिक दल र नागरिकहरु नै चुनावमा लाग्नुपर्ने त्यसका लागि उनले सहयोग गर्नुहोस् भनिन् ।

उनले यो बीचमा जेनजीका अनेथरी समूहरुले गरेका अपेक्षा, गुनासा, धम्कीले गर्दा भइरहेको असहज अवस्थाबारे पनि अवगत गराइन्। जेनजी भन्दै दिनहुँ धेरै समूह आउने, आफैंले भेट नदिएसम्म नछोड्ने, संविधानमा नै नभएका र अहिले तत्कालै पुरा गर्न नसक्ने खालका माग राख्ने र ती माग पुरा नभएको भन्दै उल्टै धम्क्याउने गरेको भन्दै उने दिक्दारी पनि पोखिन्। धेरै समय आफूले यस्ता काममा बिताउनुपर्दा आराम गर्ने समय समेत नपाएको उनको उल्लेख गरिन्।

‘हामी दुई जना (प्रधानमन्त्री-गृहमन्त्री) अनपपुलर नै भइसक्यौं । हामीलाई त तारो नै बनाइएको छ’ उनले भनेकी थिइन्। केही जेनजीले भनिने व्यक्तिहरुले त ‘अख्तियारमा उजुरी परेको व्यक्ति तपाईं किन प्रधानमन्त्री’ बनेको भन्ने प्रश्न समेत गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले दिक्दारी व्यक्त गरेकी थिइन्।

बैठकमा उनले चुनाव गरेर छोड्न आफू आतुर रहेको उल्लेख गर्दै यसका लागि दलहरुका चासो सम्बोधन गर्न सरकारको प्रतिबद्धता जनाइन्। त्यसका लागि अबका बैठक दल र जेनजीका प्रतिनिधिहरु समेतलाई सँगै राखेर गर्ने जानकारी दिइन् । ‘अब तपाईंहरु पनि पनि संगै बसेर छलफल गर्नहोस्’ उनले भनेकी थिइन्।

शंकर र गगनका प्रश्न : यस्तै सुरक्षाले चुनाव हुन्छ ?

प्रधानमन्त्री कार्कीले आफ्नो भनाई राखेर फ्लोर ओपन गरेपछि सुरुमै एमाले महासचिव शंकर पोखरेल बोलेका थिए । उनले एमालेले राख्दै आएका धारणाहरु नै पेश गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति आपत्ति जनाए। पोखरेलले प्रतिनिधिसभा विघटनको विषयको न्यायिक निरुपण भइरहेको उल्लेख गर्दै नेताहरुलाई आतंकित पारेर चुनाव हुन्छ ? भन्दै प्रश्न उठाएका थिए।

शंकर पोखरेलले ‘मुख्य दलहरूलाई निषेध गरेर गरिने निर्वाचनले राजनीतिक वैधता पाउन नसक्ने उल्लेख गर्दै राजनीतिक दलका नेताहरूको क्रियाशीलतामा भइरहेको अवरोधमा आपत्ति जनाएका थिए। दलका नेताहरुलाई हिँडडुल नै गर्न नदिने लगायतका शैलीप्रति पोखरेलले प्रश्न उठाएका थिए।

कांग्रेस महामन्त्री गगन गगन थापाले चाहीँ मंगलबार बिहान आफैंमाथि भएको एक घटनाको उदाहरण दिँदै वर्तमान सुरक्षाको अवस्था दर्शाएका थिए ।

उनले बैठकमा सुनाएको प्रसंग यस्तो थियो- ‘काठमाडौं ४ को आफ्नै पूर्व निर्वाचन क्षेत्रमा उनी मंगलबार बिहान केही भेटघाटका लागि एउटा क्याफेमा गएका रहेका छन् । त्यहाँ क्याफेमा बस्दै गर्दा केही अपरिचित युवाहरु आए ।

१५/२० जना भेला भएपछि उनले सम्भावित खतरा आंकलन गरे । उनले बोलाएपछि ४५/५० जना कांग्रेस कार्यकर्ताहरु त्यहाँ भेला भएपछि । त्यसपछि उनले खतरा देखेका ती युवाहरु लाखापाखा लागे ।’ यो प्रसंग उल्लेख गर्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीमाथि सुरक्षाको अवस्थाबारे प्रश्न गरे । 

राजनीतिक दलहरुप्रति घृणा फैलाउने, स्वतन्त्र रुपमा भेला हुननसक्ने, कहाँ के हुने हो ? कुनै निश्चन्त नहुने अवस्थाले चुनाव हुन सक्छ ? भन्दै प्रश्न गरेका थिए ।

‘हामी चुनावको पक्षमा छौं तर चुनावको माहौल बनेको छैन’ थापालाई उदृत गर्दै एक नेताले भने,’ पार्टी र नेताहरुप्रति एकैखालको नकारात्मक धारणा फैलाइएको छ ।’

शंकर पोखरेल र गगन थापाले राखेको जस्तो सुरक्षा चिन्ता अन्य नेताहरुले पनि व्यक्त गरे । माओवादीबाट पम्फा भुसाल र वर्षमान पुन बैठकमा पुगेका थिए । उनीहरुले दल चुनावमा जाने भएपनि सुरक्षाबारे प्रश्न गरेका थिए ।

‘अहिले दलहरू र नेताहरू नै सुरक्षित छैनन् । मुद्दा नचलाउने गृहमन्त्रीको परिपत्र के हो ? भन्दै प्रश्न गरेका थिए । माओवादीकी भुसालले २३ र २४ गतेको घटनालाई एउटै चस्माले हेर्ने हो भन्दै प्रश्न गरेकी थिइन् ।

बैठकमा सहभागी भएका अरु दलका नेताहरुले पनि सुरक्षा चिन्ता प्रकट गरे । चुनाव देशव्यापी हुने र अहिले मधेसबा बढ्दै गएका घटनाको प्रसंग पनि त्यहाँ उठेको थियो ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले केही दिनअघि सप्तरीमा गोली हानेर एक पुजारीको हत्या भएको प्रसंग उठाउँदै हतियार लुटिएको र त्यसले निम्त्याएको सुरक्षा चुनौतीबारे प्रश्न गरेका थिए ।

नेताहरु चुनावमा प्रचारमा जान नसक्ने अवस्था रहेको उल्लेख गर्दै अबको केही दिन भित्र यो वातारण बन्ने के सुश्निचिता छ भन्ने प्रश्न गरेका थिए ।

एकीकृत समाजवादीबाट बैठकमा नेताहरु राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी थिए । २३ र २४ गतेको घटनालाई छानबिन गर्ने, भ्रष्टाचार छानबिन गर्ने प्राथमिकतासँगै सुरक्षाको प्राथमिकता पनि उत्तिकै रहेको बताएका थिए । राजदूतहरु परिवर्तन, कर्मचारी फेरबदल चुनावी सरकारको प्राथमिकता नभएको उल्लेख गर्दै चुनावमा सबै दल सभागी हुने वातावरण नबने अझ ठूलो संकट आउने धारणा राखेका थिए ।

सरकारको अहिले अपराधी समाउने रवैयामाथि भने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफ्नै एउटा घटना सुनाएका थिए । उनले सुनाएको प्रसंगको सार यस्तो थियो – जेनजी आन्दोलनका बेलामा उनी श्रीमतीको उचपारका लागि भारतमा थिए । उनको घरमा त्यो दिन तीन वटा समूह आएका रहेका छन् ।

पहिलो समूह तोडफोड गर्ने । उक्त समूह आएपछि महत समर्थकहरुको दोस्रो टोली पनि उनको घरमा आएको रहेछ । दोस्रो टोलीले पहिले आएको समूहलाई खेदाएछ । त्यसको केही समयपछि अर्को छुट्टै तेस्रो समूह आएर उनको घर आगजनी गरेछ ।

अहिले उनको घर आगजनी जसले गर्‍यो त्यो पक्राउ परेको छैन । तर जो दोस्रो समूहमा आएर घर तोडफोड र आगजनी गर्नबाट जोगाएका थिए ती समूहका व्यक्ति चाहिँ पक्राउ परेका छन् । ‘महतले गृह प्रशासनको कामको शैलीबारे उदाहरण यसरी दिएका थिए ।

‘गृहमन्त्रीमाथि नै राजनीतिक हिंसा, भक्तपुर भड्काउको इपिसेन्टर’

बैठकमा नेताहरु सबैले सुरक्षाको प्रश्न उठाएका थिए । गृहमन्त्रीमाथि नै धेरै प्रश्न तेर्सिएका थिए । एमाले महासचिव शंकर पोखरेलले गृहमन्त्री अर्यालले पदीय जिम्मेवारी अनुसार भूमिका निर्वाह नरहेको भन्दै आपत्ति जनाएपछि गृहमन्त्री अर्यालले त्यसको प्रतिवाद स्वरुप आफूहरुमाथि’राजनीतिक हिंसा भइरहेको’ भन्दै एमालेलाई नै इंगित गरेका थिए ।

उनले विगतको एमाले कस्तो थियो र अहिले कस्तो भयो भन्दै आफू एमालेमा हुँदाको अवस्था उल्लेख गरेका थिए । ‘म पनि २०७३ सालसम्म एमालेमै थिएँ । पहिलेको एमाले कस्तो थियो अहिले कस्तो भएको छ ?,’ गृहमन्त्री अर्यालले भनेका थिए,’शान्ति सुरक्षा कमजोर बनाउने दल र व्यक्तिहरुले नै पनि काम गरेका छन् ।’

उनले यो प्रसंगमा भक्तपुरको उदाहरण दिएका थिए । उनले राजावादी अभियान चलाइरहेका दुर्गा प्रसाईं र एमाले महेश बस्नेतको नामै लिएर भक्तपुर ‘हिंसा भड्काउने इपिसेन्टर’ बनिरहेको आरोप लगाएका थिए । महेश बस्नेतले गुण्डु छिर्नेहरुलाई ‘किमा’ बनाउँछु भनेर दिएको अभिव्यक्ति नै उल्लेख गर्दै उनले हिंसा भड्काउने काम दलहरु नै लाग्न नहुने धारणा राखेका थिए ।

गृहमन्त्रीले अहिले नेताहरु केन्द्रित गरेर दिइरहेको अभिव्यक्तिमा एमाले नेताहरु उनीमाथि व्यापक प्रश्न उठाइरहेका छन् । जुन प्रश्नका कारण गृहमन्त्री अर्याल आक्रोशित बनेको छनक बैठकमा उनले कुरा राख्दाको भावभंगीले नै बताएको एक नेताले बताए ।

‘संघीयता नभत्काउनेदेखि राजा ल्याउनेसम्मका माग’

प्रधानमन्त्रीसँगको वालुवाटार बैठकमा अहिले जेनजीहरुले संघीयता फाल्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली ल्याइहाल्ने लगायतका मागको दबाब रहेको देखि राजासहितको नवीन समझदारीको कुरा समेत उठेको थियो।

मधेस केन्द्रीत दलहरुले संघीयतालाई असर पार्ने कुनै काम नगर्ने भनेका थिए । राप्रपाले भने २०६२/०६३ पछिको राजनीतिक कोर्ष नै गलत भएको जेनजी आन्दोलनले पुष्टि परेकाले अब राजसंस्था, राजनीतिक दलहरु र जेनजीबीच नवीन समझदारीको खाँचो रहेको प्रसंग उठाएको थियो ।

रास्वपाले सरकारलाई अनन्तकालीन समर्थन गर्न नसक्ने धारणा राखेको थियो । रास्वपाका स्वर्णिम वाग्ले, सोबिता गौतम सहभागी भएका थिए । उनीहरुले रास्वपाका सुशासन-केन्द्रित मुद्दा एवं जेन-जीका माग एउटै रहेकोले सम्माननीय सुशीला कार्कीको सरकारप्रति पार्टीको सद्भाव र शुभेच्छा रहेको ‘समर्थन नि:शर्त एवं अनन्तकालीन हुन नसक्ने’ उल्लेख गरेका थिए। सरकारले राजनीतिक प्रतिशोध साँधेर काम गर्ला कि भन्ने रास्वपाको चिन्ता थियो । ‘प्रतिशोधको राजनीति विरुद्ध सरकार उभिएको देखिनुपर्छ’ रास्वपाको भनाई थियो ।‌

बैठक ‘आइसब्रेक’

बालुवाटार बैठकमा अनेक प्रसंगहरु आएपनि दल र सरकारबीचको संवादहीनताको अवस्थामा आइसब्रेक हो । दल र सरकारका प्रतिनिधिहरुले यसलाई सकारात्मक नै ठानेका छन् ।

‘राष्ट्रपति सँग मात्र कुरा हुने अवस्थाबाट माथि उठेर यो तहको संवाद हुनु आइब्रेक हो । यसले अविश्वासको पहाड भत्कायो । सरकारले पनि दलहरुलाई मान्यता दिएर संवादमा बस्यो ।’

बालुवाटार बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले चुनावले मात्र स्थिति ठीक ढंगले सम्हालिएर जाने उल्लेख गर्दै यसमा दलहरु सहभागी हुनैपर्ने धारणा राखेका थिए । चुनाव भएर स्थिति सम्हालिएन भने के हुन्छ भन्ने प्रसंग ल्याउँदै दलहरुलाई उनीहरुले करिब एउटै सन्देश दिएका थिए- ‘तपाईंहरु जसरी जानुभयो, हामीहरु पनि त्यसरी नै जान्छौं र स्थिति छन् भयावह हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?