Comments Add Comment

टिप्पणी : कुना पसे कलाकार ?

मदिराको विज्ञापन गर्न समुन्द्रपारको मुलुकमा पुगी, मोजमस्ती गर्दै सर्वत्र डंका पिट्न पछि पर्दैनन्, हाम्रा सेलिब्रेटी । तर, जब–जब समग्र राज्यका खातिर जागरण र जन–चेतना अभिवृद्धि गर्नुपर्ने अवस्था आइलाग्छ, गुपचुप भइदिन्छन् । जब–जब रचनात्मक साथ, सहयोग, समर्थन जुटाउनुपर्ने अवस्था आइलाग्छ, गायब भइदिन्छन् ।

जन–जागरणका लागि सन्देश प्रवाह गर्नुपर्ने, कलोबजारी बिरुद्ध खबरदारी गर्नुपर्ने, राज्यले नसकेको र नभ्याएको काममा हातेमालो गर्नुपर्ने अवस्थामा आफुलाई ‘राज्यको गहना’ भन्न रुचाउने हाम्रा सेलिब्रेटीहरु भने मादक माहौलमा रमाइरहेका होलान् ।

भयानक स्वास्थ्य चुनौतीसँग जुध्नका लागि यतिबेला मुलुक रक्षात्मक अवस्थमा उभिएको छ । कमजोर चिकित्सा पद्धती र संयन्त्र भएको हाम्रो मुलुकलाई यो वैश्विक संकटको सामना गर्न सहज छैन । त्यसैले यो जोखिमबाट आफुलाई सग्लो राख्न राज्यले अनेक उपाय खोजिरहेका छन् । जन–चेतनाका लागि सन्देश प्रवाह गर्नेदेखि दैनिक उपभोग्य बस्तुको संभावित अभाव टार्न बलबुतोले भ्याएसम्मको प्रयास गरिरहेको छ । चिकित्सा सेवालाई सर्तक अवस्थामा राख्नेदेखि चिकित्सक, नर्सको मनोबल उच्चा राख्नेसम्मको शैली अपनाइरहेका छन् ।

अर्कोतिर सर्वसाधरणमा भय र अफवाह फैलिएको छ । कोरोना भाइरसको चपेटामा परिने हो कि भन्ने कुराले त्रासादी पैदा गरेको छ । खाद्य अभाव हुने डरले दैनिक उपभोग्य बस्तुको जोहो गर्नतर्फ लागेका छन् ।  दैनिक काम–व्यवहार छाडेर लाखौं सर्वसाधरण गाउँ फर्कदैछन् ।

ठिक यही मौकामा खाना पकाउने ग्यास लगायतको कालोबजारी सुरु भएको छ । गाडीको शुल्क मनपरी ढंगले असुल्न थालिएको छ । बजारमा दाल–चामलको कृतिम अभाव हुने छाँट देखिएको छ । यससँगै अनावश्यक डर, त्रास फैलाउनेहरु सक्रिय भएका छन् । समाज डर, भ्रम र द्विविधामा छ ।

आफुलाई ‘राज्यको गहना’ भन्दै फूर्ति लगाउने वा घुर्की लगाउने सेलिब्रेटीहरुले यो कुरालाई कसरी मनन गरेका होलान् ? राज्यको यो संकट टार्न उनीहरुले आफ्नो भूमिका खोज्छन् कि खोज्दैनन् होला ?

वर्तमान अवस्थालाई हेर्दा हाम्रा सेलिब्रेटीमा यस्तो उत्तरदायित्व निर्वाह गर्नुपर्छ भन्ने चेत र सोंच देखिएको छैन । न उनीहरु जनचेतनाका लागि सन्देश प्रवाह गरिरहेका छन्, न स्वास्थ्य–जागरणका लागि कुनै पहल । न कालोबजारी नियन्त्रणका लागि खबरदारी गरिरहेका छन्, न चिकित्सा–सेवाको मनोबल उकास्ने कुनै अभियानमा लागेका छन् ।

यसको अर्थ उनीहरुले सामाजिक मर्म र मूल्यलाई अनुभूत गरेका छैनन् । राज्य संकटमा परिरहँदा उनीहरुलाई दुखेको छैन । त्यसो नहुँदो हो त, हाम्रा सेलिब्रेटीहरुले यतिबेला आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका खेल्थे । तर, उनीहरुको सिर्जनशिलतामा खिया लागेको पो हो कि ?

राज्यले जसरी सर्वसाधरणलाई सचेत र सूचित गरिरहेको छ, यसमा सेलिब्रेटीको भूमिका अहंम हुनसक्थ्यो । कसरी व्यक्तिगत सरसफाईमा ध्यान दिने, के–कस्ता सर्तकता अपनाउने भन्ने कुरामा सेलिब्रेटीहरुले सन्देश प्रवाह गर्न सक्थे । यसका लागि उनीहरुले विज्ञापन बनाउनुपर्ने, टेलिभिजन, रेडियो वा पत्रपत्रिकाबाट प्रसारण÷प्रकासित गर्नुपर्ने पनि होइन । केवल सामाजिक सञ्जालबाटै आह्वान गरिदिए पुग्ने थियो । किनभने सामाजिक सञ्जालमा यि सेलिब्रेटीहरुलाई हजारौंले पच्छयाएका छन् । त्यही माध्याम अपनाएर पनि उनीहरु जन–जागरणका लागि आफ्नो रचनात्मक भूमिका खेल्न सक्थे ।

अहिले सर्वसाधरणलाई के सत्य, के हल्ला भन्ने पनि थाहा छैन । अनाधिकृत माध्यामबाट आउने हल्लाहरुलाई उनीहरुले पत्याएका छन् । यस्ता भ्रम चिर्नका लागि पनि सेलिब्रेटीले भूमिका खेल्न सक्थे ।

अर्कोतिर बजारमा खाना पकाउने ग्याँसको अभाव छ, यातायातको भाडामा कालोबजारी गरिदैछ, बजारमा खानेकुराको कृतिम अभाव हुने छाँट देखापरेको छ । यस्तो कुरामा सेलिब्रेटीले खबरदारी गर्न सक्थे ।

सर्वसाधरणलाई आतंकित नहुन, भ्रमित नहुन, चिकित्सकहरुलाई उच्च मनोबल कायम राख्न सेलिब्रेटीले रचनात्मक भूमिका खेल्न सक्थे । तर, हाम्रा सेलिब्रेटीहरु यतिबेला गायब छन् । गुपचुप छन् । उनीहरुलाई समाजमा व्याप्त यो छटपटीले सताएकै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment