Comments Add Comment

स्पेनमा संकटकाल थप दुई हप्ता लम्बिने 

९ चैत, बार्सिलोना । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणका कारण स्पेनमा संकटकालको अबधि थप दुई हप्ता बढ्ने भएको छ ।

गत मार्च १४ देखि मुलुकमा संकटकालको घोषणा गर्दै कोरोना नियन्त्रणका केन्द्रित रहेको सरकारले “लकडाउन” को अबधि बढाउने भएको हो।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसले आईतबार टेलिकन्फरेन्स मार्फत क्षेत्रीय नेताहरुलाई सो जानकारी गराएका हुन् । स्पेनको तल्लो सदनबाट अनुमोदित भएमा, लकडाउन अप्रिल १२ सम्म जारी रहनेछ । यसको मतलब स्पेनिसहरू इस्टरको समयमा उनीहरूको घरहरूमा सीमित हुनेछन् ।

पछिल्लो २४ घण्टामा झण्डै ४ सय जनाको मृत्यु 

(कोभिड–१९) बढ्दो संक्रमणका कारण स्पेनमा पछिल्लो २४ घण्टामा झण्डै ४ सय मानिसहरुले ज्यान गुमाएका छन् । पछिल्लो यो तथ्याङ्कले इटालीपछि स्पेनमा भयावह अबस्था देखिएको छ । आइतबार दिउँसो १ बजेसम्म कोरोना भाइरसका कारण स्पेनमा १७२५ जनाले ज्यान गुमाइसकेका छन् । प्रत्येक दिन ३ हजार नयाँ संक्रमितहरु थपिदै जाँदा अहिलेसम्म २८ हजार ५७२ जनामा संक्रमण भेटिएको छ ।

राजधानी म्याड्रिड सबैभन्दा प्रभावित बनेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयद्वारा जारी आँकडाअनुसार कोरनाका कारण म्याड्रिडमा मात्र १ हजार २१ जनाको मृत्यु भइसकेको छ भने ९ हजार ७०२ जनालाई संक्रमण भएको पुष्टि गरिएको छ ।

सङ्क्रमितमध्ये १२ प्रतिशत स्वास्थ्यकर्मी

स्वास्थ्य मन्त्रालयले आईतबार प्रकाशित गरेको सूचना अनुसार ३ हजार ४७५ जना डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ को संक्रमण भेटिएको छ । जुन तथ्याङ्क कुल सङ्क्रमित संख्याको १२ प्रतिशत हो । त्यसो त फ्रान्समा कोरोनाका कारण एक स्वाथ्यकर्मीको मृत्यु भइसकेको छ । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरेनले आइतबार यसको पुष्टि गरेका हुन् ।

स्पेनमा विगत नौ दिनदेखि ४ करोड ७० लाख मानिसहरु घरभित्रै क्वारेन्टाइनमा बस्दै आएका छन्र । तर प्रत्येक राति ८ बजे घरको कौसीमा निस्केर स्वास्थ्यकर्मीहरुलाई हौसला बढाउन तालि बजाउने गरेका छन् ।

नेपालीहरु संक्रमित छैनन् तर चिन्तित 

नेपाली राजदूतावास म्याड्रिडका अनुसार हालसम्म नेपालीलाई कोभिड–१९ को संक्रमण भेटिएको छैन । तर अहिलेको भयावह अवस्था कतिसम्म लम्बिने हो भन्नेबारे चिन्तित छन् । “लकडाउन” कारण विगत ९ दिनदेखि घरभित्रै रहनुपर्दा आत्तिएको महसुस गरेका छन् ।

अर्कोतर्फ स्पेनमा आबासीय अधिकार पाएर काम गरिरहेका नेपालीहरुलाई सरकारले घोषणा गरेको सामाजिक सुरक्षाको प्याकेजबाट राहत मिलेको छ । उनीहरुलाई तलवको ७० प्रतिशत रकम सरकारले सहयोग गर्ने बताइएको छ ।

तर आवासीय अधिकारका बनाउने प्रक्रियामा रहेका (पेपर नभएका) नेपालीहरुलाई ठूलो संकट देखिएको छ । कामकाज ठप्प हुँदा आयस्रोत नै बन्द भएकाले खाना बस्नमा नै समस्या देखिएको छ ।

स्पेनमा आवासीय अधिकार पाएका (बैध रुपमा बस्ने) र नपाएका गरी झन्डै १० हजार नेपालीहरु रहेको अनुमान छ ।

तर म्याड्रिडस्थित नेपाली दूतावासले सन् २०१९ को स्पेनी सरकारी तथ्याङ्कलाई उल्लेख गर्दै दिएको जानकारीअनुसार यहाँ स्पेनमा ५ हजार ६४ नेपाली छन्। तर सो तथ्याङ्क बैध रुपमा बस्ने नेपालीहरुको मात्र हुनसक्ने नेपाली समाजका अगुवाहरुले बताउँदै आएका छन् ।

ब्यवसायी चिन्तित, आर्थिक मन्दीको सम्भावना 

सन् २००८- २००९ ताका स्पेन ठुलो आर्थिक मन्दीको संकटमा थियो । तर झण्डै एक दशक यता स्पेनले ठुलो आर्थिक सुधार भएको थियो । रोजगारीको अबसर,ब्यापार ब्यबसायको राम्रो अवस्थाले पनि स्पेनमा रहेका नेपालीहरुको जीवनस्तरमा समेत सुधार आएको हो । तर कोरोनोको संकटसँगै ठूलो आर्थिक मन्दीको आँकलन यहाँका स्थानीय मिडियाहरुले गरेका छन् ।

स्पेनमा पछिल्ला केहि बर्षहरुमा ब्यबसाय गर्ने नेपालीहरुको संख्या पनि बढ्दै गएको छ । स्पेनभर गरी सामान्य बारहरुदेखि रेष्टुरेष्टसम्म गरी झन्डै सयको संख्यामा व्यवसायीहरु रहेको अनुमान छ । तर मुलुकभर संकटकालको अबस्थाले गर्दा ब्यबसायीक गतिबिधिकालागि अस्थायी निलम्बनमा परेका छन् ।

सरकारले ब्यबसायी र कामदारका लागि सामाजिक सुरक्षाको ब्याकेज घोषणा गरेको भए पनि त्यसले तङ्गिने अबस्था भने छैन । पर्यटकीय गतिविधिका कारण फस्टाएका ब्यवसायहरु नियमित अवस्थामा फर्कन महिनौं लाग्ने अनुमान छ ।

युरोपेली मुलुकहरुले आ-आफ्नो सीमा बन्द गरेका छन् । संकटकाल फुकुवापछि पनि पर्यटकीय गतिविधिहरु समान्य अवस्थामा फर्कन नसकेमा नेपाली ब्यवसायीहरुलाई पनि ठूलो चुनौती हुनसक्छ । युरोपभर नै ठूलो संख्यामा रोजगार गुम्ने सम्भावना रहेको आर्थिक बिज्ञहरुले आकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment