Comments Add Comment

सुनौली नाका भएर सोमबार ६१५ जना भित्रिए

१० चैत, बुटवल । रुपन्देहीको बेलहिया (सुनौली) नाका सोमबार बिहान १० बजेदेखि एकसाताका लागि बन्द भएको छ ।

सरकारले भारत र चीनसँगका नाकाहरु बन्द गर्ने निर्णय गरेसँगै स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका सुनसान भएको हो । सुनौलीे नेपालको दोस्रो ठूलो नाका मानिन्छ ।

प्रदेश नम्बर ५ का प्रहरी प्रमुख नरबहादुर केसीले सीमानामा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको बताए । ‘अब जो जहाँ छ त्यहीँ बस्नुस् अनावश्यक बाहिर ननिस्कनुस्, बोर्डर क्रस गर्न कसैले पाउने छैन,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी खडगबहादुर खत्रीले अबको एक हप्तासम्म नाका कडाइका साथ बन्द हुने बताए । सोमबार बिहान मात्रै सुनौलीबाट ६ सय १५ जना नेपाल भित्रिएको उनले जानकारी दिए ।

‘नाकामा आएका ५०/६० जना रोकिएका छन्, नाकामा भएकालाई पनि आउन दिन्नौं,’ खत्रीले थपे, ‘उनीहरुलाई नेपाल प्रवेश गर्न दिन्नौं, उनीहरु उतै व्यवस्था गर्छन् उतै बस्छन । नियम त सबैले मान्नुपर्यो नी ।’

सुनौली नाकाबाट शनिबार १७ हजार र आइतबार ४ हजार नागरिक नेपाल भित्रिएको उनले बताए ।

तेस्रो मुलुकमा पर्यटकहरुलाई भने मार्च १४ गतेदेखि नै यो नाका हुँदै आवात–जावतमा रोक लगाइएको छ ।

नेपालबाट भने भारततर्फ नाकामा विशेष चेकजाँच गरेर जान दिइएको छ । आइतबार भारतमा जनता कर्फ्यू लागेर सुनौली बजार बन्द थियो । पश्चिम नवलपरासीले शनिबारदेखि नै भारतसँग जोडिएका नाकाहरु बन्द गरेको छ ।

अध्यागमन कार्यालय, बेलहियाका प्रमुख गिरीराज खनालले भने, ‘केही मानिसहरु नाकामा रोकिएका छन्, यो त प्रहरीको बिषय भयो, प्रहरीले छिट्टै केही निर्णय गर्ला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment