+
+
Shares

सरकारी निर्देशनलाई एलआरआई स्कुलको ठाडो चुनौती

अभिभावक भन्छन्– ज्यान भन्दा पैसा ठूलो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते २०:०६

९ चैत, काठमाडौं । नोवल कोरोना (कोभिड १९) भाइरसको संभावित जोखिमबाट बच्न सरकारले सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित सबै शैक्षिक संस्था चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको एक हप्ता हुन लागेको छ । तर निजी क्षेत्रका कतिपय विद्यालयले भने सरकारको निर्देशनलाई टेर–पुच्छर लगाएको छैन ।

त्यस मध्येको एक हो, कलंकीस्थित एलआरआई स्कुल । यो स्कुलले चैत १४ गतेसम्मको नतिजा प्रकाशनको तालिका सार्वजनिक गरेको छ । जबकी सरकारले २१ चैतसम्मका लागि अत्यावश्यक बाहेक सम्पूर्ण कार्य बन्द गर्न निर्देशन दिइसकेको छ ।

विद्यालयको पछिल्लो कार्यतालिका अनुसार चैत १० गते नर्सरीदेखि कक्षा १ को, ११ गते कक्षा २ र ३ को १२ गते कक्षा ४ र ५ को नतिजा प्रकाशन गर्न लागेको हो । यस्तै, चैत १३ गते कक्षा ६ र ७ तथा १४ गते कक्षा ९ को नतिजा सार्वजनिक गरिने विद्यालयले जनाएको छ ।

त्यतिमात्रै होइन, सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएकै दिन एलआरआईले एसईई दिने तयारी गरेका विद्यार्थीहरूको सामूहिक तस्वीर खिचाएर सार्वजनिक गरेको छ ।

विद्यालय प्रशासनले भने सरकारको निर्देशन विपरीत आफूले गरिरहेको गतिविधिबारे विस्तृत विवरण आवश्यक परे विद्यालयमै आएर लिनु पर्ने बताएको छ । टेलिफोनबाट कुनै पनि जानकारी दिन नमिल्ने विद्यालयले जनाएको छ ।

‘कानुनी कारवाही गर्छौ’

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सरकारको निर्देशन उल्लंघन गर्नेलाई कानुनी कारबाही गर्ने बताउँछन् । एलआरआई स्कुलको सन्दर्भमा सोधिएको प्रश्नमा उनले भने, ‘परीक्षाको नतिजा एक डेढ महिना ढिलो प्रकाशन गर्दा के फरक पर्छ ?’

जिल्ला शिक्षा कार्यालय, काठमाडौंका इकाई प्रमुख नन्दलाल पौडेल आफूहरूले स्थानीय तहमार्फत सबै विद्यालयमा कुनै पनि गतिविधि गर्न नपाइने भनेर पत्र पठाइसकेको बताउँछन् । अनुरोध गर्दा पनि अटेर गर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

‘विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोभिड-१९ को विषयमा कसैले खेलवाड गर्न मिल्दैन’ पौडेल भन्छन्, ‘जनसंख्यामा जानाजानी लापरबाही गर्नेलाई सिडिओ र प्रहरीले नै एक्सन लिनुपर्ने देखिन्छ ।’

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल महानगरभित्रका सबै विद्यालयलाई सरकारको निर्देशनबारे जानकारी गराई सकिएको र निर्देशन नमान्नेलाई कानुनी डण्डा चलाउने बताउँछन् । सचेत गराउँदा पनि वेवास्ता गर्ने विद्यालयलाई कारबाही प्रक्रिया अगाडि बढाएको डंगोलले जानकारी दिए ।

‘कोरोना लागि हाल्यो भने पैसा उठ्दैन भन्ने डर हो ?’

एलआरआई स्कुलले नतिजा प्रकाशन सम्बन्धी सूचना आफ्नो फेसबुक पेजमा पनि राखेको छ । सूचनामा रिजल्ट लिन आउँदा अनिवार्य रुपमा सबै शुल्क तिरीसक्नुपर्ने भनिएको छ ।

सूचना पढेर अभिभावकहरू निकै आक्रोशित देखिन्छन् ।

निश्चल जोशीले कमेन्टमा लेखेका छन्, ‘पैसा उठाउने नामको रिजल्टले अभिभावक र विद्यार्थीको स्वास्थ्यको रिजल्ट के सोच्थ्यो है । केही दिन ढिला गर्दा आकाश नै खस्थ्यो, कतै कोरोना लागि हाल्यो भने पैसा उठ्दैन भन्ने डर होला, होइन र ?

अर्का अभिभावकको प्रतिक्रिया छ, ‘विद्यार्थी, अभिभावक, शिक्षकको कसैको पनि माया नभएको जस्तो देखियो यो स्कूल, केवल पैसाको मात्र माया रहेछ, किन बाँढ्नु पर्ने रिजल्ट अहिले ?’

यसअघि धापाखेलस्थित जेम्स स्कूल र जावलाखेलको सेन्ट जेभियर्स स्कूलले पनि सरकारको निर्देशन उल्लंघन गरेर प्रवेश परीक्षा सञ्चालन गरिसकेको छ ।

शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालका अनुसार सेन्ट जेभियर्स स्कूललाई प्रवेश परीक्षाको नतिजा प्रकाशित गरे कडा कारबाही गरिने पत्र पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?