News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिणी लेबनानमा इजरायली आक्रमणपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरे पनि अमेरिकी सेनाले भने जलमार्ग खुला रहेको जनाएको छ ।
- अमेरिका र इरानबीच आणविक मुद्दा तथा लेबनान युद्धविरामका विषयमा छलफल गर्न आइतबार स्विटजरल्याण्डमा प्रत्यक्ष वार्ता हुँदैछ ।
- अमेरिकी उपराष्ट्रपति जेडी भान्स र मध्यस्थकर्ताको भूमिकामा रहेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि यस वार्तामा सहभागी हुँदैछन् ।
७ असार, काठमाडौं । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) जलमार्ग पुन: बन्द गरेको इरानले जनाएको छ ।
तर अमेरिकी सेनाले भने जलमार्ग खुल्ला रहेको र जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ । सेन्टकमका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन् ।
हेजबुल्लाह र इजरायलबीच नयाँ युद्धविराम घोषणा भएको २४ घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरेको बीबीसीले जनाएको छ ।
इरानको सो घोषणापछि अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सले सञ्चारमाध्यमहरूलाई जलमार्गमा जहाजहरूको आवतजावत निरन्तर जारी रहेको बताएका छन् । उनले अमेरिकी सेनाले परिस्थितिको निगरानी गरिरहेको भन्दै इरानले स्ट्रेट अफ होर्मुज नियन्त्रण नगर्ने बताए ।
बीबीसीले आफूले गरेको भेरिफाइले शनिबार कम्तीमा पाँचवटा तेल ट्यांकर जलडमरूमध्य पार गरेको र केही जहाजले बीचमै मार्ग परिवर्तन गरेको जनाएको छ ।
यसै साताको सुरुमा अमेरिकी र इरानी राष्ट्रपतिबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।
उक्त सम्झौतामा लेबनानसमेतका सबै मोर्चामा तत्काल युद्धविराम लागू गर्ने, विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने स्ट्रेट अफ होर्मुज पुन: सञ्चालन गर्ने, आगामी ६० दिनभित्र अन्तिम सम्झौताका लागि थप वार्ता गर्ने लगायतका विषय समावेश छन् । तर दुवै देशबीच अविश्वास र असमझदारी कायम छन् ।
शुक्रबार स्वीटजरल्याण्डमा युद्धविराम सम्बन्धी हस्ताक्षर समारोह पनि स्थगित गरिएको थियो ।
स्विटजरल्याण्डमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता हुँदै
तनाव जारी नै रहेका बेला अमेरिकी र इरानी अधिकारीहरुबीच स्वीटजरल्याण्डमा आज प्रत्यक्ष वार्ता भने हुँदैछ ।
वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायत सहभागी हुँदैछन् ।
वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार स्विट्जरल्याण्डमा हुने प्रत्यक्ष वार्ताका लागि शनिबार वाशिङ्टनबाट प्रस्थान गरेको रोयटर्सले जनाएको छ ।
यसअघि जेडी भान्सको स्वीटजरल्याण्ड यात्रा अन्तिम समयमा रोकिएको समाचार सार्वजनिक भएको थियो ।
तर रोयटर्स, बीबीसी जस्ता अन्तर्राष्ट्रिय मिडियाहरुले जेडीभान्स स्वीटजरल्याण्ड प्रस्थान गरेको उल्लेख गरेका छन् । इरानी अधिकारीहरु भने स्वीटजरल्याण्ड पुगिसकेका छन् ।
जेडी भान्सले वार्ताबाट आणविक मुद्दा र लेबनान युद्धविरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेको बीबीसीले जनाएको छ । इजरायल र हेजबुल्लाहबीचको तनाव तथा दक्षिणी लेबनानमा भएका इजरायली हवाई आक्रमणबारे प्रतिक्रिया दिँदै भान्सले अवस्था केही सुधार हुँदै गएको र हिंसा क्रमश: कम हुँदै गएको बताए । उनले इजरायल र लेबनान दुवैको सुरक्षा सुनिश्चित गर्नु नै मुख्य उद्देश्य रहेको उल्लेख गरे ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आफ्नो देशले सम्झौताअनुसार अन्य पक्षले पनि प्रतिबद्धता पूरा गर्नुपर्ने माग गर्ने बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री पनि वार्तामा सहभागी हुने
यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको सुरुआती चरणमा सहभागी हुने भएका छन् ।
युद्ध अवधिभर पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको थियो । यसअघि अप्रिलमा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीचको वार्ताको एक चरण सम्पन्न भएको थियो ।
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका–इरानबीच सहमति नभए अमेरिकाले पनि होर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजमाथि शुल्क लगाउन सक्ने चेतावनी दिएका थिए ।
इरानी सेनाले स्ट्रेट अफ जलडमरूमध्य बन्द गर्ने निर्णयको औचित्य पुष्टि गर्दै अमेरिका–इरानबीच भएको १४ बुँदे समझदारीको पहिलो बुँदा कार्यान्वयन नभएको आरोप लगाएको छ । उक्त बुँदामा लेबनानसहित सबै क्षेत्रमा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने उल्लेख छ ।
प्रतिक्रिया 4