News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको कुरिनटारस्थित बियर फ्याक्ट्रीका लागि भारतबाट ट्याङ्क बोकेर आएका पाँच गाडी रास्वपाको स्वागत गेटका कारण बाटोमै रोकिएका छन् ।
- चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्वाभाविक रूपमा अग्ला ती गाडीका लागि आवश्यक प्रबन्ध मिलाउन सहजीकरण भइरहेको बताउनुभयो ।
- महाधिवेशन सकिएपछि मात्र गाडी पार गराइने प्रहरीको भनाइपछि सडक किनारमा बस्नुपर्दा चालक र सहचालक मारमा परेका छन् ।
७ असार, काठमाडौं । चितवनको कुरिनटारस्थित एक बियर फ्याक्ट्रीका लागि ट्यांक बोकेर भारतबाट आएका पाँच वटा गाडी रास्वपा महाधिवेशनका लागि बनाइएको स्वागत गेटबाट छिर्न नसकेपछि टिकौलीको जंगल क्षेत्रमा रोकिएका छन् ।
रत्ननगर नगरपालिकाको निपनी भन्ने ठाउँमा शनिबार बेलुकादेखि गाडीहरु रोकिएका हुन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सामान्यभन्दा अग्ला गाडीहरु आएकाले गेटबाट छिर्न नसकेको भन्दै आवश्यक प्रबन्ध मिलाउन सहजीकरण गरिरहेको बताए ।
‘अलि अस्वाभाविक अग्ला खालका गाडीहरु आए, ती आउँदैछन् भन्ने पूर्व जानकारी पनि थिएन,’ प्रजिअ अर्यालले अनलाइनखबरसँग भने, ‘ती गाडीहरुका लागि आवश्यक प्रबन्ध मिलाउन सहजीकरण भइरहेको छ ।’
ती गाडीहरुले कुरिनटारस्थित बाह्रसिंगा बियर फ्याक्ट्रीका फर्मेन्टर ( फर्मेन्टेसन ट्यांक) बोकेका छन् । यो बियर फ्याक्ट्रीमा सबैभन्दा बढी प्रयोग हुने आधुनिक ट्यांक हो ।
स्टेनलेस स्टिलबाट बनेका ती ट्यांकभित्र बियर बनाउने कच्चापदार्थ राखेर पकाउने, कुहाउने लगायतका काम गरिन्छ । आकारमा यी ट्यांकहरु ठूला हुने भएकाले लामा लरी वा ट्रकमा राखेर ढुवानी गरिन्छ ।
ट्यांक बोकेका गाडी रोकिएको स्थानमा खटिएका अस्थायी प्रहरी पोष्ट टाँडीका प्रहरी सहायक हबल्दार अपिल बयलकोटीले गेटलाई अलिकति माथि उठाएपछि मात्रै ती गाडीहरु छिर्न सक्ने बताए ।
बीच बाटोमै रोकिएका गाडीका एक चालकले प्रहरी प्रशासनले गाडी फर्काएर सुरक्षित स्थानमा राख्न भनेपछि करिब पाँच किलोमिटर टाढा लगेर सडक किनारमा रोकेर राखिएको बताए ।
स्थानीय मिडियाहरुसँग भिडियो कुराकानीमा एक चालकले भनेका छन्, ‘बालेनको स्वागतका लागि बनाइएको गेटबाट नछिरेपछि गाडी घुमाएर चार–पाँच किलोमिटर टाढा सुरक्षित स्थानमा फर्काइयो । महाधिवेशन सकिएपछि ९ गते मात्रै पार गराइदिने भनेर प्रहरी प्रशासनले भनेका छन् ।’
त्यसको जानकारी कम्पनीलाई पनि गराइसकेको र कम्पनीबाट पनि प्रहरी प्रशासनले भनेको मान्न भनेको ती चालकले बताएका छन् ।
उनका अनुसार ती गाडीहरुमा चालक, सहचालकसहित १० जना छन् । उनले सडकमै खान–बस्न परेपछि समस्या भएको तर प्रहरी प्रशासनले भनेको मान्न बाध्य भएको बताए ।
अपडेट : रास्वपाको स्वागत गेट हटाएर पठाइयो ट्यांक बोकेका ५ भारतीय ट्रक
प्रतिक्रिया 4