+
+
Shares

अमेरिका-इरान वार्ता : पाकिस्तानका प्रधानमन्त्री पनि सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ७:१३

७ असार, काठमाडौं । अविश्वास र असमझदारी कायमै रहेका बेला अमेरिकी र इरानी अधिकारीहरुबीच स्वीटजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदैछ ।

वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायत सहभागी हुँदैछन् ।

वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार स्विट्जरल्याण्डमा हुने प्रत्यक्ष वार्ताका लागि शनिबार वाशिङ्टनबाट प्रस्थान गरेको रोयटर्सले जनाएको छ ।

यसअघि जेडी भान्सको स्वीटजरल्याण्ड यात्रा अन्तिम समयमा रोकिएको समाचार सार्वजनिक भएको थियो ।

तर रोयटर्स, बीबीसी जस्ता अन्तर्राष्ट्रिय मिडियाहरुले जेडी भान्स स्वीटजरल्याण्ड प्रस्थान गरेको उल्लेख गरेका छन् । इरानी अधिकारीहरु भने स्वीटजरल्याण्ड पुगिसकेका छन् ।

जेडी भान्सले वार्ताबाट आणविक मुद्दा र लेबनान युद्धविरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेको बीबीसीले जनाएको छ । इजरायल र हेजबुल्लाहबीचको तनाव तथा दक्षिणी लेबनानमा भएका इजरायली हवाई आक्रमणबारे प्रतिक्रिया दिँदै भान्सले अवस्था केही सुधार हुँदै गएको र हिंसा क्रमश: कम हुँदै गएको बताए । उनले इजरायल र लेबनान दुवैको सुरक्षा सुनिश्चित गर्नु नै मुख्य उद्देश्य रहेको उल्लेख गरे ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आफ्नो देशले सम्झौताअनुसार अन्य पक्षले पनि प्रतिबद्धता पूरा गर्नुपर्ने माग गर्ने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री पनि वार्तामा सहभागी हुने

यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको सुरुआती चरणमा सहभागी हुने भएका छन् ।

युद्ध अवधिभर पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको थियो । यसअघि अप्रिलमा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीचको वार्ताको एक चरण सम्पन्न भएको थियो ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका–इरानबीच सहमति नभए अमेरिकाले पनि होर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजमाथि शुल्क लगाउन सक्ने चेतावनी दिएका थिए ।

इरानी सेनाले स्ट्रेट अफ जलडमरूमध्य बन्द गर्ने निर्णयको औचित्य पुष्टि गर्दै अमेरिका–इरानबीच भएको १४ बुँदे समझदारीको पहिलो बुँदा कार्यान्वयन नभएको आरोप लगाएको छ । उक्त बुँदामा लेबनानसहित सबै क्षेत्रमा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने उल्लेख छ ।

हेजबुल्लाह र इजरायलबीच नयाँ युद्धविराम घोषणा भएको २४ घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरेको बीबीसीले जनाएको छ ।

तर अमेरिकी सेनाले भने जलमार्ग खुल्ला रहेको र जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ । सेन्टकमका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?