+
+

जेम्स स्कूलले रोकेन प्रवेश परीक्षा

प्रशासन भन्छ-केही भए विद्यालय जवाफदेही हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ७ गते १७:२७

७ चैत, काठमाडौं । ललितपुर, धापाखेलस्थित जेम्स स्कूलले नोवल कोरोना (कोभिड-१९) भाइरसको सन्दर्भमा सरकारले दिएको निर्देशन अटेर गरेको छ । कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्र, निजी, सामुदायिक विद्यालयदेखि विश्वविद्यालयसम्ममा कुनै पनि गतिविधि नगर्न ५ चैतमै निर्देशन दिएको थियो ।

तर जेम्स स्कूलले भने प्रवेश परीक्षालाई निरन्तरता दिएको छ । उसले कक्षा १ मा १४४, कक्षा ४ मा ३५, कक्षा ५ मा ९, कक्षा ६ मा १९, कक्षा ७ मा ८ र कक्षा ८ का लागि २ जनाको भर्ना खोलेको छ । २१७ सिटका लागि भर्ना खुले पनि दुई हजारभन्दा बढीले फर्म भरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।

ललितपुरमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे यतिबेला प्रवेश परीक्षा गर्नु गैरकानूनी कार्य भएको बताउँछन् । सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने भनेपछि त्यो विद्यालयमा पनि लागू हुने उनको भनाई छ । पाण्डेल अनलाइनखबरसँग भने, ‘कानून विपरीत प्रवेश परीक्षा लिने जुनसुकै विद्यालय कारवाहीको भागीदार हुन्छ ।’

शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले भोलि कोरोनाको संक्रमण देखिए जवरजस्ती प्रवेश परीक्षा सञ्चालन गर्ने विद्यालयले नै पूर्ण रुपमा जिम्मेवार हुने बताउँछन् । उनी भन्छन्, ‘सरकारले भर्नासमेत नगर्नु भनेको अवस्था प्रवेश परीक्षा लिन पाइने कुरै भएन ।’

जेम्स स्कूल प्रशासनले प्रवेश परीक्षा लिएको स्विकार गरेको छ । यद्यपि आफूहरूले कोरोना भाइरसकै कारण सबै कक्षाका अभिभावक एकै पटक जम्मा नहुने गरी प्रवेश परीक्षा सञ्चालन गरेको दाबी गरे । अभिभावकलाई प्रवेश परीक्षाबारे टेलिफोनमार्फत जानकारी दिएको उनले बताए ।

शिक्षा मन्त्रालयका एक सहसचिव भने काठमाडौं उपत्यकामा जेम्म बाहेकका विद्यालयले पनि प्रवेश परीक्षा लिएको सूचना प्राप्त भएको बताउँछन् । यद्यपि उनले विद्यालयको सूची खुलाउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?