Comments Add Comment

काठमाडौंका होटल, स्कुल र रंगशालामा ५ हजार जना अट्ने क्वारेन्टाइनस्थल बनाइने

९ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अटाउने  सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने भएको छ । त्यसका लागि काठमाडौं उपत्यकाभित्रका होटल, होस्टल, विद्यालय र रंगशाला उपयोग गरिने भएको छ ।

कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको पहिलो बैठकले आइतबार उपत्यकामा ५ हजार जना अट्ने क्वारेन्टाइनस्थल बनाउने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेतृत्वको उक्त कार्यदलको बैठकले यसरी बनेको क्वारेन्टाइनस्थललाई आवश्यक परेका बेला अस्थायी अस्पतालमा समेत परिणत गर्न सक्ने निर्णय पनि गरेको छ ।

होटल र स्कुलमा २/२ हजार जना 

बैठकले पर्यटन विभाग र नेपाल पर्यटन विभागलाई होटेल व्यवसायीसँग समन्वय गरी कम्तीमा २ हजार जना अट्ने क्वारेन्टाइनस्थल निर्माणका लागि उपयुक्त होटलको स्थानसहितको विवरण तयार गर्न आग्रह गरेको छ ।

यी दुई निकायले व्यवसायीसँगको समन्वयमा होटलको तय गर्ने भएका छन् ।

त्यस्तै निजी विद्यालयमा पनि २ हजार जना अट्ने क्वारेन्टाइनस्थल बनाउन निजी विद्यालय र कलेजका प्रतिनिधिमूलक स‌ंस्थासँग समन्वय गर्ने निर्णय पनि भएको पर्यटनमन्त्री भट्टराईको सचिवालयले जानकारी दिएको छ । प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा क्वारेन्टाइनस्थलका लागि विद्यालय र होस्टलको नाम दिनुपर्नेछ ।

रंगशालामा पनि क्वारेन्टाइन

सरकारले देशभरकमा रंगशाला तथा खेलकुदसँग सम्बन्धित होस्टलमा पनि क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका रंगशालामा क्वारेन्टाइनमा राख्न सकिने क्षमता यकीन गरी जानकारी गराउनुपर्नेछ ।

यी सबै निकायबाट कूल ५ हजार क्षमताको क्वारेन्टाइन उपत्यकाभित्र तयार पार्ने निर्णय भएको हो । यसको तय भने सोमबार भित्र हुने भएको छ । सबै निकायलाई सोमबार बिहानसम्म कुन कुन स्थान र होटललाई क्वारेन्टाइन बनाउन सकिन्छ भन्नेबारे सुझाव दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment