Comments Add Comment

शंकास्पद बिरामी अस्पताल पुग्दा डाक्टर नै त्राहीमाम

नाममात्रैको फिवर क्लिनिक, उपकरण नहुँदा डाक्टर नै त्रासमा

९ चैत, पोखरा । २२ महिनाको बच्चालाई तीन दिनदेखि रुघाखोकी र ज्वरोले च्यापेपछि अभिभावकले आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याए । बच्चा अभिभावकसहित ११ दिनअघि अर्थात फाुगन २९ गतेमात्र बेलायतबाट पोखरा आएका थिए ।

संसारभर फैलिइरहेको कोरोनो भाइरसको सन्त्रासबीच परिवारले बच्चालाई अस्पताल पुर्‍याउँदा सबै अन्योलमा परे ।

अस्पताल प्रांगणमा फिवर क्लिनिक खोलिएको छ । तर त्यहाँ न त कुनै स्वास्थ्यकर्मी थिए न त ज्वरो नाप्ने टचगन नै । अस्पतालमा रहेका जुनियर चिकित्सकले बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलालाई खबर गरे ।

कोरोनाको शंकास्पद बिरामी आएपछि डा. बास्तोलाले बहिरंग विभाग (ओपिडी) मै बोलाए । डा. बास्तोलाले टाढैबाट परिवारसँग सोधपुछ गरे किनकी उनी आफैं त्रसित बने । उनले बच्चालाई अस्पतालको आइसोलेसन वार्डसम्म पुर्‍याए तर जाँच गर्न सकेनन् ।

कारण थियो, अस्पतालमा चिकित्सकले लगाउने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) नहुनु ।

‘हामी डाक्टरले पाएको एउटा मास्क मात्र हो । पीपीई नै छैन’ डा. बास्तोलाले भने, ‘इक्वीपमेन्ट नहुँदा चेकजाँच गर्न जाने डाक्टरलाई नै जोखिम हुन्छ । पछि फोन गरेर किट मगाइयो । एक घन्टापछि बल्ल किट र इक्वीपमेन्ट आइपुग्यो ।’

दुई सेट इक्वीपमेन्ट आएपछि प्रयोगशाला प्रमुख लक्ष्मण बास्तोला आफैं बिरामी बच्चाको थुक (स्वाब)को नमूना लिए । स्वाब परीक्षणका लागि आइतबार नै काठमाडौं पठाउन खोजिएको थियो, तर जहाजबाट सोमबार विहानमात्र पठाइने भएको छ ।

बच्चालाई औषधी दिएर घर पठाइएको छ र, क्वारेन्टाइनमा बस्न भनिएको छ ।

स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण नहुँदा शंकास्पद बिरामी आउँदा नै डराउनुपर्ने अवस्था आएको डा. बास्तोला बताउँछन् । ‘प्रतिष्ठानले पनि इक्वीपमेन्ट खरिद गर्ने भनेको थियो, तर अस्पतालमा अहिलेसम्म आइपुगेको छैन’ डा. बास्तोलाले भने, ‘पहिले नै अस्पतालमा इक्वीपमेन्ट नआउने र भए पनि प्रदेश स्वास्थ्य निर्देशनालयबाट ढिला गरी उपकरण आउँदा डाक्टरमै डर सिर्जना भयो ।’

केही दिनअघि शंकास्पद बिरामीले अस्पतालमा गोलचक्कर लगाउनुपरेको दुःख पढेको भन्दै उनले अघि भने, ‘त्यसरी बिरामीले दुःख पाउनु हुँदैन भनेर सुरुमै आइसोलेसनमा राखेर अरु जोहो गर्न गर्न लाग्यौं । प्रतिष्ठान र सरकारले पहिले डाक्टरकै सुरक्षाका निम्ति इक्वीपमेन्टको व्यवस्था गर्न आवश्यक छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य पनि चिकित्सकहरुले प्रयोग गर्ने सुरक्षा उपकरण नहुँदा जोखिम बढेको बताउँछन् । ‘प्रतिष्ठानले ल्याउने कोशिस गरिरहेको छ । किनकी स्वास्थ्यकर्मीको सुरक्षा पहिलो प्राथमिकता हो,’ डा. आचार्यले भने, ‘राज्यले पनि सोचिरहेको होला । हामीले पनि स्वास्थ्य निर्देशनालय, प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्राचार पनि गरेका छौं ।’

१० जनामा ८ नेगेटिभ, २ को बाँकी

पोखराबाट अहिलेसम्म १० जना कोरोना भाइरसको शंकास्पद व्यक्तिबाट नमूना संकलन गरेर परीक्षणका लागि पठाएको छ । त्यसमध्ये ८ जनामा नेगेटिभ अर्थात कोरोनाको संक्रमण देखिएन । २ जनाको परीक्षणको नतिजा आउन बाँकी छ ।

नमुना संकलनको उपकरण प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराउँदै आएको छ । ‘अस्पतालहरु आफैंले खरिद गर्नुपर्ने हो । अस्पतालमा नभएपछि प्रदेश स्वास्थ्य निर्देशनालयले नमूना संकलनमा उपकरण उपलब्ध गराउँदै आएको छ’ प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले भने, ‘सरकारसँग पनि उपकरण अपर्याप्त छ ।’

केन्द्रकै मुख ताक्दै प्रदेश

गण्डकी प्रदेशमा कम्तीमा दुई हजारभन्दा बढी उपकरण आवश्यक भए पनि दुई सयभन्दा कम रहेको निर्देशक शर्माले बताए । प्रदेश सरकार पनि केन्द्रकै मुख ताकेर बसिरहेको शर्माले बताए । उनले भने, ‘अपर्याप्त स्रोत साधनबीच पनि कठिन अवस्थाको सामाना गर्न र कोरोनालाई परास्त गर्न सबै सजग हुनैपर्छ ।’

उनकाअनुसार गण्डकी प्रदेश सरकारले व्यक्तिगत सुरक्षा सामग्री पाँच सय, इन्फ्रारेड थर्मोमिटर पाँच सय, मास्क २० हजार थान, सेनिटाइजर र डिसन्फेक्टेन्ट सय लिटर उपलब्ध गराइदिन संघीय सरकारलाई अनुरोध गरेको छ । यस्तै हरेक अस्पतालमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) १० सेटसमेत तयारी अवस्थामा राख्न र ल्याबका कर्मचारीलाई आवश्यक तालिम दिन निर्देशन दिएको छ । तर अस्पतालहरुले आवश्यक सामाग्री ल्याउन सकेका छैनन् ।

प्रदेश सरकारले भने ११ वटै जिल्लामा कम्तीमा २ सेट उपकरण पठाउन लागेको डा. शर्माले बताए ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि हेल्लो डाक्टर सेवा पनि सुरु भएको छ । हेलो डाक्टरमा फोन गरेर कोरोनाको संक्रमणबारे जानकारी लिन सकिने व्यवस्था गरेको हो । कोरानो संक्रमणको आशंकाबारे ०६१ ५२४०७४ नम्बरमा फोन गरेर हेल्लो डाक्टरमार्फत जानकारी लिन सकिने व्यवस्था मिलाइएको शर्माले बताए । टेलिकमबाट टोल फ्री नम्बर लिने प्रक्रिया अगाडि बढाइसकिएको र प्राप्त हुनेबित्तिकै अहिलेको फोन नम्बर बिस्थापित गरिने छ ।

कृषि तालिम केन्द्रमा क्वारेनटाइन, अस्पतालहरुमा आइसोलेसन वेड

गण्डकी प्रदेश सरकारले पोखराका निजी तथा सरकारी ५० शैय्याभन्दा माथिका अस्पतालमा न्यूनतम ५ शैय्याको आइसोलेसन वार्ड तत्काल स्थापना गर्ने निर्णय गरेको छ ।

कृषि तालिम केन्द्र मालेपाटनमा क्वारेन्टाइनका लागि प्रयोग गर्ने सरकारले निर्णय गरिसकेको छ । यहाँ ५० जनाका लागि क्वारेन्टाइनको ब्यवस्था गरिने छ । शिक्षा, वन, भेटेरिनरी तालिम केन्द्र र सशस्त्र बल, विपद व्यवस्थापन केन्द्र लामापाटनलाई होम क्वारेन्टाइनका रुपमा तयार पार्न प्रदेश सरकारले निर्देशन दिएको छ ।

यस्तै मोहरियामा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ‘डेडिकेटेड’ आइसोलेसन अस्पतालका रुपमा प्रयोग गरिने भएको छ । अस्पतालमा ६० शैय्यासम्म आइसोलेसन तयार पारिँदैछ ।

वैकल्पिक व्यवस्थाका लागि मातृशिशु मितेरी अस्पताल बाटुलेचौरलाई तोक्ने र आर्मी अस्पताललाई आइसोलेटेड अस्पतालका रुपमा प्रयोग गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । मणिपाल शिक्षण अस्पताल १५, गण्डकी मेडिकल कलेज १५, चरक मेमोरियल अस्पताल ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान १०, जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँलाई ३० शैय्या क्षमताको आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न पनि भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment