Comments Add Comment

काठमाडौंका पाँच स्थानमा ‘वाटर एटिएम’ राखिने

१० चैत, काठमाडौं । आगामी बैशाख १ गतेबाट पहिलो चरणमा सर्वसाधारणले काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउन पाउने भएका छन् । त्यो पनि प्रविधियुक्त वाटर एटिएम मार्फत ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्र भित्रका पाँच स्थानमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) राख्ने विषयको सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सर्वसाधारणले यस्तो सुविधा पाउने भएका हुन् ।

राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बिद्यासुन्दर सुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक सञ्जीबबिक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यो सम्झौतासँगै अब महानगरवासीले प्रति २ सय एमएल पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ । वाटर एटिएममै व्यवस्था गरेको कागजबाट निर्मित २ सय एमएलको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै रु एक लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए ।

उहाँका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको पाँच रुपैयाँ तिरे पुग्छ । यो सेवाले एक वोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यतामा पनि कमी आउनेछ ।

सम्झौता अनुसार काठमाडौँ महानगर क्षेत्र भित्रका वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा पहिलो चरणमा वाटर एटिएम राखिनेछ ।

तीन वर्षका लागि भएको सम्झौता अनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्ने छ । महानगरपालिकाले तोकेका स्थानमा बोर्डले ३ महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटिएम १५ लाख ८६ हजारको लागतमा पाँच ओटा राख्ने छ ।

सम्झौतापछि सम्वोधन गर्दै प्रमुख शाक्यले सकेसम्म पाँच वटै नभए पनि कम्तीमा एउटा वाटर एटिएम वैशाख १ मा सञ्चालनमा ल्याउने गरी काम अघि बढाउन निर्देशन दिए ।

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत र सदस्य मनराजा रञ्जितले वाटर एटिएमबाट उपभोक्तालाई सुपथ मुल्यमा पानी उपलब्ध गराएर काठमाडौंलाई मानवमैत्री सहर बनाउन मद्दत पुग्ने भन्दै प्लाष्टिकको पढ्दो प्रयोगलाई घटाउन पनि सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment