News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय क्रिकेट खेलाडी अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीको ब्रान्ड एम्बासडरमा दुई वर्षका लागि नियुक्त भएका छन् ।
- कन्सलटेन्सीका चेयरमेन उद्धब बनले नेपाली क्रिकेटसँग जोडिन र युवा खेलाडीलाई प्रोत्साहन गर्न सम्झौता गरेको बताए ।
- सोही अवसरमा नेपाली क्रिकेटमा दुई दशकभन्दा बढी योगदान पुर्याएका क्रिकेटर शरद भेषावकरलाई सम्मान गरिएको छ ।
१४ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी अर्जुन कुमाल इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सी प्रालीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीले २० वर्षे अर्जुनसँग हाललाई २ वर्षका लागि सम्झौता गरेको छ । आपसी सहमति यो सम्झौता प्रत्येक वर्ष नवीकरण गरिदैं लगिने इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीले जनाएको छ ।
‘क्रिकेट हाम्रो एउटा संस्कार भइसकेको छ, हामी क्रिकेटबाट बाहिर रहन सक्दैनौं, कहि न कहि नेपाली क्रिकेटसँग जोडिने प्रयासमा हामीले अर्जुन कुमालसँग सम्झौता गरेका छौं । उनी युवा खेलाडी हुन्, उनले अझ राम्रो खेल्न सहज होस भनेर हामीले यो सम्झौता गरेका हौं, हाम्रो कम्पनीले युवा लक्षित कार्य गर्दै आएको छ, त्यही भएर अर्जुन कुमालसँग काम गर्दा हामीले ती युवालाई सम्बोधन गर्न सक्छौं जस्तो लाग्छ,’ इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीका चेयरमेन उद्धब बनले जनाए ।
इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीले यसअघि राष्ट्रिय क्रिकेट खेलाडी आसिफ शेखसँग सम्झौता गरेको थियो । युवा ओपनिङ ब्याटर अर्जुनले हालै नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । उनले विश्वकप क्रिकेट लिग २ मा यूएईविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसपछिको अर्को खेलमा उनले ओमानविरुद्ध ४८ रन बनाएका थिए । उनी नेपाल यू–१९, नेपाल ‘ए’ हुँदैं राष्ट्रिय टोलीमा पुगेका हुन् ।
दक्षिण अफ्रिकामा भएको आईसीसी यु–१९ विश्वकपमा अर्जुनले न्युजिल्यान्डविरुद्ध १०४ बलमा ९०, पाकिस्तानविरुद्ध ३७ बलमा २१ र अफगानिस्तानविरुद्ध १०८ बलमा ९१ रन बनाएका थिए । विश्वकप अघि मलेसियामा भएको एसीसी यु–१९ प्रिमियर कपमा अर्जुनले साउदी अरेबियाविरुद्ध १ सय ४३ रन बनाएका थिए । त्यसपछि पाकिस्तानविरुद्ध एसीसी यु–१९ एसिया कपमा १०८ बल खेली ९१ रन बनाएका थिए ।
अर्जुन नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन सुदुरपश्चिम रोयल्समा थिए भने गत सिजन उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए । घरेलु क्रिकेट विशेष गरी प्रधानमन्त्री (पीएम) कपमा अर्जुन ‘रन मेसिन’ जस्ता छन् । उनी लगातार दुई सिजन पीएम कपमा सर्वाधिक रन बनाउदै मोटरसाइकल पुरस्कार जित्दै आएका छन् ।
उनले पछिल्लो ५ वर्ष देखि पीएम कप खेल्दै आएका छन् । गत वर्ष देखि उनले प्रमुख गरी लय लिन लागेका हुन् । सन् २०२५ को संस्करणमा उनले १ शतकसहित सर्वाधिक ३ सय ७४ रन बनाएका थिए । उनले सोक्रममा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई उछिने । यस वर्ष त उनी धेरै अगाडि बढे । एकै संस्करणमा ५ सय रन बनाउने पहिलो खेलाडी बने । अर्जुनले ९ खेलमा २ शतकसहित कुल ५ सय ४ रन बनाए । कोशी प्रदेशविरुद्ध उनले १ सय २ र लुम्बिनीविरुद्ध अविजित १ सय ३ रन बनाएका थिए ।
‘म जस्तो युवा खेलाडीलाई यस्तो व्यवसायीक सम्झौताले ठुलो हौसला प्रदान गर्दै राम्रो खेल्न प्रेरित गर्दछ, खेलमा केन्द्रित भएर खेल्न पाइन्छ । हाम्रो देशमा क्रिकेटको माहोल अझ राम्रो हुदैंछ र खेलाडीमाथि गरिएको यस्तो लगानीले नेपाली क्रिकेटलाई मजबुत बनाउन ठुलो सहयोग पुग्ने मैले विश्वास लिएको छु,’ अर्जुन कुमालले भने ।
सोहि अवसरमा नेपाली क्रिकेटमा दुई दशकभन्दा बढि योगदान दिएकोमा क्रिकेटर शरद भेषावकरलाई पनि सम्मान गरिएको थियो ।
शैक्षिक परामर्शको कार्य गर्दै आएको इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीको मुख्यालय काठमाडौंका डिल्लीबजारमा रहेको छ भने बानेश्वर, बुटवल र इटहरीमा शाखा छ ।
विदेशमा पढ्न जाने विधार्थीका लागि इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीले विश्वविधालय तथा कलेज छनोट, कोर्ष छनोट मार्गदर्शन, आवेदन प्रकृया, अफर लेटर तथा एडमिसन सहायता, छात्रवृति सम्बन्धि जानकारी र सहायता लगायतका विषयमा सहजताको भूमिका निर्वाह गर्दै आएको छ ।
प्रतिक्रिया 4