Comments Add Comment

हेटौंडामा शुक्रबारबाट कोरोना परीक्षण सुरु हुने

२० चैत, हेटौंडा । मकवानपुरको हेटौंडामा शुक्रबारबाट कोरोना संक्रमण परीक्षण सुरु हुने भएको छ । लामो समयदेखि प्राविधिक जनशक्ति अभावका कारण सञ्चालन हुन नसकेको प्रयोगशाला मर्मतपछि कोरोना संक्रमण परीक्षण सुरु गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भोलि पहिलो चरणमा ५ वटा नमूना स्वाब परीक्षण गरिने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । परीक्षणका लागि पीसीआर मेसिनमा पहिलो चरणका सेन्थेटिक परीक्षण सफल भएसँगै बिहीबारबाट कोरोना भए–नभएकोे निर्क्यौल गर्न स्वाब परीक्षण थालिने दुलालको भनाइ छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा प्रयोगशाला स्थापना गरिएको छ । ल्यावका आवश्यक सामग्रीहरु र जनशक्ति हेटौंडा आइसकेका छन् ।

मेसिनलाई प्रयोगमा ल्याएपछि कोरोना भाइरसको परीक्षणका लागि काठमाडौं पठाउनु पर्नेे बाध्यता हट्ने सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दीपेन्द्र सुवेदीले बताए । उनका अनुसार ल्याबमा एकपटकमा ६० वटा नमूना परीक्षण गर्न सकिने छ ।

परीक्षण थालिएको साढे दुई घण्टामा नतिजा प्राप्त हुने मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार एकपटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्ने छ । मन्त्रालयसँग करिब पाँच सय नमुना परीक्षण गर्न पुग्ने केमिकल रहेको प्रमुख सुवेदीले जानकारी दिए ।

२०७१ सालमा दाताको सहयोगमा स्थापित ल्याब नियमित सञ्चालन भए हेटौंडामा भाइरस, ब्याक्टेरिया र प्यारासाइटको अध्ययन गरी उपचार सहज बनाउन सकिने सामाजिक मन्त्रालयले जनाएको छ । २०३५ सालमा स्थापित केन्द्रमा २१ जनाको दरबन्दी रहेकोमा प्राविधिकसहित १६ जना कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment