+
+
ग्राउण्ड जीरो रिपोर्ट :

एटीएममा न स्यानिटाइजर, न साबुनपानी !

राष्ट्र बैंक भन्छ– स्प्रे छर्कन बैंकहरुले पास लगेका छन्

रोयल आचार्य रोयल आचार्य
२०७६ चैत १८ गते २२:४२

१८ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश नै ‘लकडाउन’ नै गरेको छ । सर्वसाधारणले पनि सकेसम्म उच्च सतर्कता अपनाएकै छन् । तर, सर्वसाधारणका लागि अति आवश्यक पर्ने बैंकका एटीएम बुथहरुमा भने पर्याप्त सुरक्षाका उपायहरु अवलम्बन गरेको पाएइन ।

लकडाउनका बेला सर्वसाधारणलाई नगद अभाव हुन नदिन बैंक तथा वित्तीय संस्थाहरुले एटीएम मेसिनहरु ‘फूल फेज’ मा चलाएका छन् । जनताको सेवाका लागि बैंकहरु तत्पर नै देखिन्छन् । विषम परिस्थितिमा पनि बैंकहरुले सर्वसाधारणलाई सुविधा दिइरहने बताएका छन् ।

यसै सन्दर्भमा अनलाइनखबरको टोली मंगलबार काठमाडौंका केही एटीम सेन्टरको अवलोकन गर्‍यो । नयाँ बानेश्वर, बुद्धनगर, बिजुलीबजार, सिंहदरबार, न्यूरोड, नक्साल, लाजिम्पाट लगायतका ठाउँहरुमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाका एटीएम बुथहरुमा पुग्दा सेवा सुचारु नै रहेको पाइयो ।

तर, कोरोना भाइरसबाट बच्न ती एटीएम बुथमा सुरक्षा सतर्कता भने अपनाइएको पाइएन । त्यहाँ न डिसइन्फेक्सन स्प्रे गरिएको थियो, न त स्यानिटाइजरको व्यवस्था नै ।

कुनै सामग्री छोइसकेपछि साबुन पानीले कम्तिमा २० सेकेन्ड हात धुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । स्वास्थ्यका जानकारहरुले यसका लागि अपिल गरिरहेका छन् । सरकारले पनि यसबारे बुझाउन प्रचार प्रसार तीब्र पारिरहेकै छ ।

तर, बैंकका एटीएमहरुमा न हातधुने साबुन पानी देखियो, न त स्यानिटाइजर नै ।

नयाँ बानेश्वर चोकमा रहेको एउटा बुथमा एकै ठाउँ विभिन्न ९ वटा बैंकहरुको एटीएम मेसिन राखिएका छन् । त्यहाँ मानिसहरु पैसा निकाल्न आइरहन्छन् । बुथको सुरक्षाका लागि सुरक्षा गार्ड पनि खटिएकै छन् । तर, न हात हुने पानी छ, न स्यानिटाइजर ।

पैसा निकाल्न आएका सर्वसाधारणमात्रै होइन ती सुरक्षा गार्ड आफै पनि असुरक्षित तरिकाले सेवामा खटिएका छन् । सामान्य कपडाको मास्कबाहेक सुरक्षाका लागि उनले अरु सावधानी अपनाएका छैनन् ।

हामीले उनलाई स्यानिटाइजर छ ? भनेर सोध्यौं । सुरक्षाको सावधानीका बारेमा पनि सोध्यौं । उनले सकेसम्म बैंकहरुको बचाउ गरे । बैंकहरुले सुरक्षा सावधानी अपनाएको उनले दाबी गरे । तर, आफैंले पनि स्यानिटाइजर प्रयोग गर्ने गरेका रहेनछन् । एउटा बैंकले स्पोन्सर गरेको स्यानिटाइजर सकिएको उनले बताए । एटीएममा सेवा लिन आएकालाई सुरक्षा सतर्कताबारे अपनाउनु आग्रह गर्नुपर्ने भए पनि उनी आफैं असुरक्षित थिए ।

एटीएम धातुजन्य पदार्थले बनेको हुन्छ र मानिसहरुले पैसा निकाल्दा औंलाले नम्बर थिच्नुपर्ने हुन्छ । एक व्यक्तिले थिचेको नम्बरमा अर्कोले औंला प्रयोग गर्दा भाइरस सर्ने उच्च जोखिम हुने भएतापनि त्यहाँ कुनै पनि बैंकले स्यानिटाइजरसम्म राखेको पाइएन ।

हामी त्यसपछि बानेश्वरको मञ्जुश्री फाइनान्सको एटीएम मेसिन भएको ठाउँमा पुग्यौं । त्यहाँ भद्रगोल फालिएका कागजहरु बाहेक अरु केही थिएनन् । सुरक्षा सावधानीका नाममा केही भेटिएन ।

हामी अगाडि बढ्यौं । नजिकै सिभिल बैंकको एटीएम मेसिनबाट रकम निकालेर एक व्यक्ति बाहिरिँदै थिए । उनी पनि बैंककै कर्मचारी रहेछन् । हामीले सोध्नुभन्दा पहिले नै उनी बोले, ‘स्यानिटाइजर पनि छैन, हात धुने पानी पनि छैन ।’

उनले बाटोमा पार्किङ गरेको गाडीबाट स्यानिटाइजर निकालेर हातमा दले ।

उनी आफैंले यसलाई बैंकहरुको हेलचेक्र्याइँका रुपमा व्याख्या गरे । यद्यपि, उनले आफ्नो शाखामा भने हातधुने पानी र स्यानिटाइजर व्यवस्था गरिएको दाबी गरे । कोटेश्वर शाखामा कार्यरत भएको बताएका उनले औपचारिक कुराकानी गर्न भने नमिल्ने बताए ।

नजिकै एनमएबी बैंकको एटीएम मेसिन थियो । त्यसको हालत पनि उस्तै । बुद्धनगर इन्द्रेणी कम्प्लेक्स अगाडि गरिमा विकास बैंकको एटीएम थियो । त्यहाँ सुरक्षा सतर्कता होइन, कागजको डंगुर भेटियो ।

हामीले सोच्यौं । न्यूरोड त पक्कै व्यवस्थित होला ।

हामी नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंकलगायतका करिब दर्जन बढी बैंक तथा वित्तीय संस्थाका एटीएमहरु डुल्यौं । बिल्कुल उस्तै थियो अवस्था । त्यहाँ कुनै पनि सुरक्षा सतर्कता अपनाइएको थिएन ।

७ वटा बैंकका एटीएम रहेको ठाउँमा पुग्यौं । अवस्था उस्तै थियो । एक व्यक्ति उभिइरहेका थिए । ‘यहाँ चाहिँ सुरक्षा गार्ड बस्नुभएको छैन ?’

जवाफ आयो, ‘गार्ड त म नै हो तर यहाँको होइन एनएमबी बैंकको ।’

एनएमबी बैंक एक तल्ला माथि थियो । भुईं तल्लामा बैंकका एटीएमहरु । त्यहाँ कार्यरत गार्ड घर गएपछि सहयोग स्वरुप आफूले रेखदेख गरिरहेको उनले सुनाए । हामीले लाजिम्पाटमा रहेका सिद्धार्थ बैंक, एभरेष्ट बैंकहरुका एटीएम पनि हेर्यौं । त्यहाँ पनि सुरक्षाको सतर्कता अपनाइएको थिएन ।

त्यसपछि हामी नक्सालमा रहेको भाटभटेनीको छेवैमा पुग्यौं । जहाँ नेपाल इन्भेष्टमेन्ट बैंक, देव विकास बैंकसहित १३ बैंक तथा वित्तीय संस्थाका एटीएम थिए । सबै सञ्चालनमै थिए । तर, कुनैमा न स्यानिटाइजर राखिएको थियो, न त हातधुने साबुन पानी ।

‘एटीएम प्रयोगपछि हात धुनैपर्छ’

काठमाडौं उपत्यकामा रहेका एटीएमहरुको स्थलगत अवस्था हेरिसकेपछि हामीले विशेषज्ञलाई सोध्यौं– ‘के यहाँ जोखिम छैन ?’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यस्ता ठाउँहरुमा संक्रमणको उच्च जोखिम हुने बताए ।

सार्वजनिक सेवाका क्षेत्रहरुमा सबै गएर सेवा लिन सक्ने भएकाले त्यहाँ धेरै जोखिम हुने उनी बताउँछन् । यदि एटीएम मेसिनहरुमा कुनै संक्रमितले प्रयोग गरे भाइरस त्यहाँ सक्रिय हुन सक्ने र अर्को व्यक्तिले प्रयोग गर्न पुग्दा भाइरस सर्न सक्ने पुनले बताए ।

सरुवा रोग विशेष डा. पुनले यसबाट प्रयोगकर्ताहरु एकदमै सतर्क हुनुपर्ने बताए । सार्वजनिक ठाउँहरुमा छुनेबित्तिकै स्यानिटाइजर वा साबुन पानीले हात धुनैपर्ने उनको सुझाव छ । त्यस्ता क्षेत्रमा हातले छोइसकेपछि हात नधोई अनुहारमा छुनै नहुने उनले बताए ।

‘यस्ता ठाउँहरुमा कोही न कोहीले छोएकै हुन्छ नि, यसकारण धेरै सतर्क रहनुपर्छ’ डा. पुनले भने, ‘यदि त्यहाँ हात धुन सम्भव नभए हातले अनुहारमा नछोई घरमा गएर हात धुनैपर्छ ।’

उनले स्वास्थ्य सुरक्षामा सबै गम्भीर हुनुपर्ने आग्रहसमेत गरे ।

सतर्कता अपनाउन भनेका छौं : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भने कोरोना भाइरसको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइसकेको बताएको छ ।

राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाका प्रमुख देवकुमार ढकालले बैंकहरुलाई निर्देशन दिइसकेको भन्दै त्यसको कार्यान्वयन गर्नैपर्ने बताए ।

ढकालले एटीएम मेसिनहरुमा डिसइन्फेक्सन स्प्रे छर्नका लागि टोली खटिएको सूचनासमेत आफूले पाएको बताए । उनका अनुसार स्प्रे छर्नका लागि भनेर राष्ट्र बैंकबाट पाससमेत लगिएको छ ।

लकडाउन अवधि थपिएपछि जिल्ला प्रशासन कार्यालयले वित्तीय क्षेत्रको सवारी साधनको पास वितरण गर्ने जिम्मा राष्ट्र बैंकलाई नै दिएको छ ।

‘एटीएममा डिसइन्फेक्सन स्प्रे छर्ने भनेर यहाँबाट पास नै लगिएको छ’ ढकालले अनलाइनखबरसँग भने, ‘त्यसको कार्यान्वयन भएको छ छैन हामी हेर्छौं ।’

एटीएममा स्यानिटाइजर वा हातधुने पानीको व्यवस्था नै गर भनेर शब्द उच्चारण नगरे पनि उच्च सुरक्षा सतर्कता अपनाउनु भनिएको भन्दै त्यसको बैंकले पालना गर्नुपर्ने ढकालले बताए । सेवासँगै सुरक्षामा पनि सबैले ध्यान दिनु पर्ने उनले बताए ।

यदि नभएको पाइए बैंकहरुलाई पुनः सम्झाइने उनले बताए ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?