Comments Add Comment

एक हजार रुपैयाँले कति फरक पार्दछ जिन्दगीमा…

१९ चैत, काठमाडौं ।  चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का चन्द्रबहादुर लामा (५०) को जिन्दगी सामान्य रफ्तारमा चलिरहेको थियो । लक डाउनको नियम पालना गरेर घरमै बसिरहेका थिए ।

तर, मंगलबार एकाएक अस्पतालको आईसीयूमा भर्ना हुनपुगे । त्यसपछि के-के भोग्नुपर्‍यो ? र, अझै के-के भोग्नुपर्नेछ ? उनी सुन्न, बुझ्नसक्ने अवस्थामा छैनन् ।

मंगलबार साँझ ८ बजे चन्द्रबहादुरका ज्वाईं रामबहादुरले (नाम परिवर्तन) ले काठमाडौं, महाकालस्थित ट्रमा सेन्टरमा ल्याएदेखि नै उनी अर्धचेत अवस्थामा छन् । राम बहादुर बिलिङ काउण्टर, ब्लड बैंक र औषधि पसल धाउँदा धाउँदा थकित छन् ।

त्योभन्दा बढी चकित छन्, एक हजार डिपोजिट गर्न नसक्दा आईसीयूमा भर्ना नलिएकाले ।

अर्धचेत चन्द्रबहादुरलाई आईसीयू भर्ना गर्न ढिलो भइसक्यो । अनुरोध गर्दागर्दै रामबहादुरले पनि हार मानिसके । भन्छन्, ‘पैसा आउँदैछ भनेर अनुरोध गर्दापनि यस्तो इमर्जेन्सी केसलाई भर्ना लिइएन । बिजोक भइसक्यो ।’

उनी सोध्छन्, ‘एक हजारकै कारणले भर्ना ढिलो हुँदा बिरामीलाई तलमाथि भयो भने ….?’

बुधबार बिहान हामी ट्रमा सेन्टरमा पुग्दा आकस्मिक कक्षको एउटा बेडमा चन्द्रबहादुर अर्धचेत अवस्थामा थिए । उनलाई सलाइन पानी चढाइएको थियो । उनका ज्वाईं रामबहादुर भने चिन्तित मुद्रामा बिलिङ काउण्टर अगाडि बसिरहेका थिए । उनले सुनाए, ‘डाक्टरहरुले हिजो बेलुका नै आईसीयू लानुपर्छ भनेका थिए । तर, डिपोजिट गर्ने हजार नभएर लान सकिएन ।’

मंगलबार साँझ ७ बजे

चन्द्रबहादुर श्रीमतीसँगै घरमै थिए । लक डाउनले गर्दा ज्याला मजदुरीको काम रोकिएको थियो । घरमै थुनिएकाले होला सायद, बेलाबेला श्रीमतीसँग विवाद हुन्थ्यो । छिनमै मिल्थ्यो पनि । हिजो साँझ पनि श्रीमतीसँग भनाभन भइरहेको थियो ।

एक्कासी श्रीमतीले जोडले धक्का दिइन् । उनी कोठामा भएको टेबलमा नमज्जाले बजारिन पुगे । दायाँपट्टकिो कोख छिनभरै सुन्नियो । उनी बेहोस भए । जीउ चिसिँदै गयो । हातगोडा कक्रक्क पर्‍यो ।

त्यही बेला नजिकै रहेका ज्वाईंलाई खबर पुग्यो ।

रामबहादुरले एम्बुलेन्स बोलाएर ट्रमा सेन्टर ल्याए ।

चिकित्सकले हेर्नासाथ भने, ‘ओहो डेञ्जर केस ! मिर्गौलामा रगत जमेजस्तो छ । अल्ट्रासाउण्ड गर्नुपर्छ । ब्लड टेस्ट, युरिन टेस्ट र एक्स-रे गर्नुपर्छ ।’

अल्ट्रासाउण्ड बाहेकका अरु टेस्ट गर्दागर्दै रामबहादुरसँग भएको पैसा सकियो । साँझ काउण्टर बन्द भयो । अल्ट्रासाउण्ड गर्न पाएनन् ।

एक्स-रेका साथै युरिन र ब्लड टेस्टको रिपोर्ट हेर्दै साँझ नै डाक्टरले भने, ‘आईसीयूमा लगेर रगत दिनुपर्छ, रगत खोज्नु र २१ हजार पैसा डिपोजिट गर्नु । भोलि बिहान अल्ट्रासाउण्डको रिपोर्ट हेरेपछि अपरेशन गर्ने नगर्ने थाहा हुन्छ । तर, अहिले तत्काल आईसीयूमा भर्ना गर्नुपर्छ ।’

राम बहादुरले चिकित्सकसँग आग्रह गरे, ‘डेञ्जर हो भने अहिले आईसीयूमा लगिदिनुस् । हामी भोलि बिहानसम्म ऋण खोजेर भएपनि पैसा जम्मा गर्छौं । ज्याला मजदुरी गर्ने हामीसँग अहिले तत्काल कहाँबाट हुनु यतिधेरै पैसा ।’

उनको आग्रहको केही लागेन । चन्द्रबहादुरले आकस्मिक कक्षमै पीडादायी रात काटे ।

बुधबार बिहान

बिहान ८ नबज्दै अल्ट्रासाउण्डको रिपोर्ट आयो ।

रिपोर्ट हेर्दै चिकित्सकले सोधे, ‘अवस्था खराब भइसक्यो, तपाईंहरुले अझै पैसा डिपोजिट गर्नुभएको छैन ।’

‘आज बिहान एक जनाले छ हजार दिनुभएको थियो, औषधि किन्दा र ब्लड लिन एम्बुलेन्समा जादाँ सकियो’ राम बहादुरले चिकित्सकसँग अनुरोध गरे, ‘गाडी नचलेर पैसा मगाउन सकिएन, दिउँसोसम्म पैसा जम्मा गर्छौ, कृपया भर्ना गरिदिनुस् न ।’

चिकित्सकले सुझाए, बिलिङ काउण्टरमा गएर अनुरोध गर्नू ।’

त्यसपछि रामबहादुरले बिलिङ काउण्टरमा गएर भने, ‘इमर्जेन्सीको डाक्टरले भन्नुभएको छ । पैसा एक घण्टामा डिपोजिट गर्छौं । इमर्जेन्सी केस हो, प्लिज एउटा बिल बनाइदिनुस् न ।’

बिलिङ काउण्टरको कर्मचारीले भने, ‘त्यसरी भनेर मिल्दैन ।  एक पटक सामाजिक सुरक्षा इकाईमा गएर अनुरोध गर्नू ।’

सामाजिक सुरक्षा इकाईको कर्मचारीले समस्या सुनिसकेपछि भने, ‘अहिले २१ हजार नै डिपोजिट गर्नुपर्दैन । म बिलिङ काउण्टरमा भनिदिन्छु, १ हजार रुपैयाँ जम्मा गर्नु ।’

रामले ट्राउजरको दुईवटा खल्ती उल्टाउदै भने, ‘सप्पै पैसा सकियो सर, अहिले त १० रुपैयाँ मात्रै छ ।’

उनले आफ्नो वास्तविक स्थिति बताउँदा पनि सामाजिक इकाईको कर्मचारीको मन पग्लिएन् । भने, ‘एक पटक बिलिङ काउण्टरमै अनुरोध गर्नु न ।’

रामबहादुर फेरि बिलिङ काउन्टरमा पुगेर आग्रह गरे । ‘थानकोटबाट एक जना आफन्त पैसा लिएर आउँदै हुनुहुन्छ, एक घण्टाभित्र पैसा आइपुग्छ । कृपया सानो बिल बनाइदिनु न् ।’

बिलिङ काउण्टरबाट जवाफ आयो, ‘नमिल्ने कुरा त कसरी गर्नू ?’

त्यसपछि रामबहादुरले भने, ‘यस्तो बेला सप्पैलाई पैसा लुट्नु परेको छ ।  एम्बुलेन्सले नठगेको भए यस्तो दिन आउन्न थियो ।’

इमर्जेन्सी केस । सरकारी अस्पताल । तर, डिपोजिट गर्ने एक हजार नहुँदा चन्द्रबहादुरलाई आईसीयूमा भर्ना गरिएन । सुन्दा अपरत्यारिलो लाग्थ्यो तर यथार्थ यही थियो ।

तीतो यथार्थ भोगिरहेका राम बहादुर भन्दै थिए, ‘यस्तो दिन त कसैको नआओस् ।’

उनले फेरि इमर्जेन्सी वार्डमा खटिएका एक जना चिकित्सकलाई अनुरोध गरे, ‘पैसा लिएर आउँदै हुनुहुन्छ, कृपया भर्ना गरिदिनुस् न ।’

चिकित्सकले फेरि बिलिङ काउण्टरमा जान भने ।

बिलिङ काउण्टरको जवाफ सुनिसकेका राम बहादुरले भने, ‘त्यो एम्बुलेन्सले नठगेको भए त यस्तो बिजोक हुन्नथ्यो ।’

बिहान ८ बजे

अल्ट्रासाउण्डको रिपोर्ट आएपछि इमर्जेन्सीका डाक्टरले रगत जम्मा गर्न आग्रह गरे । रामबहादुर पैसाभन्दा पहिले रगत जम्मा गर्न लागे । उनलाई बी पोजेटिभ रगत चाहिएको थियो । अनेक ठाउँमा फोन गर्दा एउटै जवाफ आयो, ‘अहिले रगत अभाव छ ।’

बल्लतल्ल भक्तपुरबाट सकारात्मक समाचार सुनियो । तर, भक्तपुर पुग्ने न साधन थियो न पास । त्यसैले एम्बुलेन्स खोज्न थाले । अस्पतालको एम्बुलेन्स बाहिर गएको थियो । बाहिरको एम्बुलेन्स नबोलाउनुको विकल्प थिएन ।

एम्बुलेन्स आयो । भक्तपुरबाट रगत ल्याएको भाडा लियो तीन हजार ।

नतिर्नुको विकल्प थिएन ।

यता आईसीयूमा पैसा तिर्नेबेला खल्ती रित्तियो ।

चिकित्सकले मंगलबार साँझ नै आईसीयूमा भर्ना गर्नु भनेका चन्द्रबहादुर बुधबार मध्याहृनसम्म आकस्मिक कक्षमै अर्धचेत अवस्थामा रहे । एकपछि अर्को ठाउँ र एकपछि अर्को कर्मचारीलाई हात जोड्दाजोड्दै थकित रामबहादुर अस्पतालको गेटमा हेर्दै भन्छन्, ‘बिरामीलाई तलमाथि होला कि भन्ने डर भइसक्यो ।’

त्यही बेला थानकोटबाट आफन्त पैसा लिएर अस्पताल आए । काउण्टरमा जम्मा गरे । चन्द्रबहादुर आईसीयूमा भर्ना भए । त्यसपछि सन्तोषको सास फेर्दै राम बहादुरले भने, ‘एक हजार रुपैयाँले कति फरक पार्दोरहेछ जिन्दगीमा ।’

तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment