Comments Add Comment

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रेमपत्र- समाधान कोरौं, समाधि नखनौं

सम्माननीय प्रधानमन्त्रीज्यू,

सर्वप्रथम यहाँको उच्च मनोबलको प्रशंसा गर्दै शीध्र स्वास्थलाभ कामना गर्दछु । विश्वव्यापी रूपमा फैलिएको कोरोनाको जोखिमसँग जुध्न यतिबेला अन्य सबै राजनैतिक विमति थाती राखेर हामी यहाँको साथमा उभिएका छौं र ‘सरकारमासँगै नरहेर पनि सँगै लड्न सकिन्छ’ भन्ने संस्कार साथ यो संकटको घडी सरकारलाई साथ दिन सबै दल,संस्था र समुदायलाई अपिल गरिरहेका छौं ।

प्रतिपक्षले सरकारलाई साथ दिनु भनेको ढिलासुस्ती, लापरबाही, अनियमितता र भ्रष्टाचारलाई समर्थन गर्नु होइन । बरु सबै कमजोरीबारे प्रश्न उठाएर,तिनको निदान खोज्न घच्घच्याउनु हाे ।

हाम्रो आग्रह छ,  यो प्रकरणमा चीनको सफलता एवं इटली र स्पेनको भयावह स्थितिबाट गहिरो शिक्षा लिऊ । हामी थप चुक्यौं भने भीषण स्थिति व्यहाेर्नेछाै‌ं । सही ढंगले जुट्यौं भने नेपाल र नेपालीको रक्षा गर्न समर्थ हुनेछौं । थोकमा मृत्यु हेर्ने  कि एकएकलाई जोगाउने ? यो यक्ष प्रश्न इतिहासकै सबैभन्दा  गम्भीर प्रश्न बन्न पुगेको छ ।

यो प्रकरणमा चीनको सफलता एवं इटली र स्पेनको भयावह स्थितिबाट गहिरो शिक्षा लिऊ । हामी थप चुक्यौं भने भीषण स्थिति व्यहाेर्नेछाै‌ं

प्रधानमन्त्रीज्यू,

उपप्रधानमन्त्रीको नेतृत्वमा जारी अभियानले प्रयत्न निश्चय नै गरिरहेको छ । हामी त्यसलाई प्रोत्साहित गरिरहेकै छौं । तर यस्तो संकटको घडीकाे हरेक कदमको समीक्षा गर्न एवं विज्ञ र आफूबाहिरको मत निरन्तर आत्मसात गर्न अत्यावश्यक हुन्छ । हाम्रो आग्रह छ, लक डाउनको दोस्रो चरणको यो घडी हालसम्मको प्रगति र कमजोरीको वस्तुनिष्ठ समीक्षा गरौं । कमजोरी सच्याएर व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाैं ।  संक्षिप्त पत्रमा पृष्ठभुमिदेखि समग्र विश्लेषणमा म जान चाहन्नँ । तत्कालीन परिस्थिति, प्रश्न र चुनौतीबारे आमनेपालीको भावना प्रतिनिधित्व गर्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट यहाँको ध्यानाकर्षण गराउन चाहन्छु ।

समीक्षा १ – परीक्षण र उपचारमा गम्भीर लापरबाही

परीक्षण,परीक्षण र परीक्षणका लागि विश्व स्वास्थ संगठनले जोड दिएको छ । तर अझै पनि ७ प्रदेशको कम्तीमा ७ ठाउँमा परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गरिएको छैन ।  संक्रमण फैलनबाट रोक्न परीक्षणको व्यापक दायरा विस्तार गर्नैपर्ने विषयमा यतिका समयसम्म प्रगति नहुनुलाई गम्भीरतापूर्वक लिएर प्रदेश हुँदै सबै जिल्लामा विस्तार गर्न यहाँबाट तत्काल परिणाममुखी पहलको अपेक्षा छ ।

हालसम्म ६ नेपालीमा कोरोना संक्रमण देखिएकोमध्ये एक स्वस्थ भएर फर्किए भने ४ उपचाररत छन् । तर उनीहरूको परिवारका सदस्यको परीक्षण गर्न सरकार साइत कुरेर बसेकाे छ ।

उनीहरूसँगै हवाई या सडक यात्रा या घुलमिल गरेका अन्य  नागरिकको खोजबिन सुरु गरियो तर परीक्षणको दायरामा ल्याइएको छैन । समुदायमा कोरोना फैलन
छुट दिएझैं स्थिति हो यो । यहाँको जानकारीमा यो विषयको गम्भीरता पुगेको छ कि छैन ?

यसबीचमा उपत्यका र बाहिरका अस्पतालमा केही बिरामीमा कोरोना आशंका गरियो,मृत्युपश्चात् मात्रै परीक्षणको रिपोर्ट आयो । बुटवलको एक अस्पतालमा शव उठेन, विराटनगरका ४ अस्पताल दौडाउँदा दौडाउँदै एक महिलाको मृत्युु भयो । कोरोनाबाहेक अन्य रोगले पनि मृत्यु हुन्छ, तर सुरक्षित रूपले परीक्षण गर्न पीपीई नपाउँदा कैयौं ठाउँमा कोरोनाको सन्त्रासले बिरामी हेर्न स्वास्थ्यकर्मी हच्किएका छन् । प्रधानमन्त्रीकै जिल्लामा ४ वर्षे बालकको ज्वरो जचाँउन जाँदा एक अस्पतालको गेटबाटै अभिभावक फर्काइए । यस्तो स्थिति समाधान गर्न यहाँको ध्यान तत्काल जान जरुरी छ ।

यसबीचमा विदेशबाट जति नेपाली आए, तीमध्ये थोरै मात्र क्वारेन्टाइनमा छन्  । बाँकी कहाँ छन् सरकारसँग तथ्यांकसम्म  छैन । क्वारेन्टाइन, परिक्षण र उपचारको व्यवस्थित कार्ययोजना कठोरतापूर्वक कार्यान्वयन गरेर समुदायलाई आश्वस्त राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछु ।

समीक्षा २– अभाव र अनियमितताको प्रश्न

कोरोना भाइरस प्राणघातक रहेको सूचना विश्वव्यापी भएको ४ महिना पुगिसक्दा पनि पीपीई,परीक्षण कीट,भेन्टिलेटरलगायत अत्यावश्यक सामग्रीको
पर्याप्त जोहो नगरिनु सरकारको गैह्रजिम्मेवारी थियोे ।  यो प्रकरणको चार गल्ती क्रमशः स्मरण गराउन चाहन्छु ।

क‍) समयमै सामग्री आयातको योजना, तयारी र प्रक्रिया नथाल्नु ।

ख) लक डाउनमा पुगेपछि आकस्मिक रूपले खरिद योजना बनाउँदा आवश्यक पारदर्शी प्रक्रिया अवलम्बन नगरिनु  ।

ग) बजार मूल्यभन्दा अत्यधिक रकम निकासा गराएर राज्य कोषको दुरूपयोग गरिनु ।

घ) विश्व स्वास्थ संगठनको मापदण्डबाहिरका कतिपय कमसल सामग्री खरिद गरिनु ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

हामी यतिबेला यहाँको नेतृत्वमा आजको संकटबाट पार पाउन हर सम्भव साथ दिन तत्पर रहेका छौं । सरकार, प्रतिपक्ष र सबै दल संकटको यस्तो बेला एक ठाउँमा उभिनु भनेको राजनीतिप्रति नागरिकको असन्तोषलाई न्यून गर्ने अवसर पनि हो ।  तर नागरिक पंक्तिबाट जब ‘कात्रोमा पनि कमिसन ?’ भनेर प्रश्न आउँछ ,तब हामी नाजवाफ बन्छौं  ।

प्रधानमन्त्रीज्यूसमक्ष दुई विकल्प रहेको म सुझाउन चाहन्छु ।  एक, ढाकछोप गर्ने र त्यसको छिटा व्यहोर्ने, दुई सिंगो देशको आग्रह सुनेर निश्चित आरोपीहरूलाई पदमुक्त गर्दै अनुसन्धानलाई   सघाउने ।

समीक्षा ३–राहत अपर्याप्त ,प्याकेजमा उदार बनौं

सरकारले ल्याएको राहतको प्याकेजलाई सकारात्मक रूपमा लिंदै त्यो अपर्याप्त रहेकोे ध्यानाकर्षण हामीले गरिसकेका छौं ।  प्रधानमन्त्रीज्यू हरेक वर्ष असार मसान्तमा हामीले फ्रिज हुन लागेको बजेट कनिकाझैं छर्ने गरेका छौं  । यसपालि त्यो नछरौं ।  अहिले नागरिक जोगाऔं,पछि पुल हालौंला, बाटो बनाऔंला ।  ज्यालादारी श्रमिककोमा राहत पुर्‍याउने तीव्रतामा ध्यान पुगोस् । रोजगार कार्यक्रमका नाममा अघिल्लो वर्ष पानी बगायौं हामीले ।अहिले बेरोजगार एवं शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहतको योजना तर्फ त्यो कार्यक्रमलाई किन नमोड्ने ?

तेहेर्‍याउन चाहन्छौं, व्यवसायीहरूको बैंक ब्याज घटाएर राहत अनुभूति गराउन सरकार किन गम्भीर नभएको ? प्रधानमन्त्रीज्यूको निर्देशन सम्बन्धित मन्त्रालयलाई      जाओस् । २० लाखसम्म ऋण लिएका साना व्यवसायीकाे  हकमा ३ महिनासम्मको ब्याजसमेत मिनाहा गरियोस् । आज यिनलाई जोगाए भोलिको अर्थतन्त्र यिनैले उठाउने छन्
प्रधानमन्त्रीज्यू ।

प्रतिपक्षले सरकारलाई साथ दिनु भनेको ढिलासुस्ती, लापरबाही, अनियमितता र भ्रष्टाचारलाई समर्थन गर्नु होइन । बरु सबै कमजोरीबारे प्रश्न उठाएर,तिनको निदान खोज्न घच्घच्याउनु हाे

छापा माध्यम क्रमशः बन्द हुँदैछन् । व्यवसाय चौपट भएपछि रेडियो , टीभी र अनलाइन पनि विज्ञापन न्यूनता हुँदै शून्यताको मारमा पर्नेछन् । श्रमजीवी पत्रकारको चुल्हाे क्रमश: लक्ड हुनसक्छ, लकडाउन लम्बिए  । राज्यको चौथो अंगलाई बचाउन लोकतान्त्रिक संविधान भएको मुलुकमा गम्भीर ध्यान पुग्नुपर्‍यो प्रधानमन्त्रीज्यू । अनि काठमाडाैं प्रेसमाथि प्रधानमन्त्रीकै निकटस्थको साइबर अपराधलाई अनुसन्धान र कारबाहीकाे दायरामा सुम्पन जरूरी आग्रह म यसैमा गाँस्न चाहन्छु ।

समीक्षा ४– नेपाली डायस्पोराबारे सोचौं

नेपाल बाहिर पनि अर्को नेपाल छ, प्रधानमन्त्रीज्यू चालीस लाखको संख्यामा फैलिएको । हिजो निरन्तर रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र जोगाउने त्यो डायस्पोरालाई आज देशै संकटमा छ भनेर भुल्न मिल्दैन ।

क) अरु देशले आफ्ना नागरिक लगे र लगिरहेका छन् नेपालबाट ।  परदेशबाट घर फर्कन हाम्रा जो चाहन्छन् तिनलाई देशले ल्याउन सक्दिनँ भन्नुहुन्न । सोचौं,परामर्श गरौं र धैर्यसाथ आवश्यक निर्णयमा पुगौं ।

ख) सिमानामा आइपुगेर नारा लगाइरहेका अनुहार हेर्नोस् प्रधानमन्त्रीज्यू । उनीहरू हिजो मत दिन आएका थिए, तपाईंलाई प्रधानमन्त्री बनाएर फर्किएका थिए,दशैंमा आउन कतिले सकेनन् ,कोरोना संकटमा आउँदा देश छिर्न सकेनन् । अलि अघिसम्म हजारौंलाई अव्यवस्थित ढंगले प्रवेश गराएका थियौं  । आज सानो संख्यामा सिमानामा आइपुगेका नेपालीलाई व्यवस्थित रूपले प्रवेश गराउने दायित्व देशको हो । संकटमा परदेशीलाई त सेवा पुर्याउनु पर्छ भने संकटमा आफ्नो देशमा शरण नपाउनुभन्दा ठूलो अन्याय के हुन सक्दछ । अत्यन्तै कारुणिक यो यथार्थप्रति प्रधानमन्त्रीज्यूको गम्भीर  ध्यानाकर्षण गराउँदछु ।

हामी फेरि पनि यो संकटमा यहाँको साथमा छौं, दृढ ढंगले परिस्थितिको नेतृत्व गर्न यहाँलाई प्रतिपक्षी दलको हरसम्भव साथ र सहयोग रहनेछ । जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना,संचार तथा प्रचार विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment