Comments Add Comment

अमेरिकी गभर्नर, जो कोरोनाको महामारी आउनुपूर्व नै सचेत बने

१९ चैत, काठमाडौं । अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले समग्र अमेरिकामा फैलिएको छ । अबको केही सातामा महामारी अझ फैलिने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले पनि दिइसकेका छन् ।

तर, अमेरिकाको एउटा राज्यका गभर्नरले भने आफ्नो राज्यमा संक्रमण देखिनुभन्दा अगाडि नै भाइरस नियन्त्रणको कदम चालेका थिए । यसरी समस्या आउनुभन्दा पहिला नै  सचेत बनेर कदम अघि बढाउने नेता ओहियो राज्यका गभर्नर माइक वेवाइन हुन् ।

मंगलबार उनले आफ्नो राज्यको तथ्यांक सार्वजनिक गरे । जसमा समग्र संक्रमित दुई हजार एक सय ९९, मृत्यु हुनेको संख्या ५५ र अस्पतालमा भर्ना हुनेको संख्या पाँच सय ८५ छ । उनले मंगलबार तथ्यांक सार्वजनिक गर्दा आफ्नो नियन्त्रणको प्रयासमा साथ दिने सबैलाई धन्यवाद दिँदै सामाजिक दुरी बढाउन सबैलाई प्रेरित पनि गरे ।

बीबीसीका अनुसार डेवाइनको यो कदम न्युयोर्कका समकक्षी एन्ड्र्यु क्युओमोकोभन्दा निकै फरक छ । न्यूयोर्क अमेरिकाको सबैभन्दा प्रभावित राज्य हो । सञ्चारमाध्यमको आकर्षणको हिसाबमा भने डेवाइन क्युओमोभन्दा पछि छन् ।

अहिले डेवाइनले चालेको कदमको प्रशंसा हुन थालेको छ । अमेरिकामा भर्खरै कोरोना भाइरसको संक्रमण देखिएको बेलामा उनले भाइरस नियन्त्रणको कदम शुरु गरेका थिए । मार्च ५ मा विभिन्न संगठनको अवरोधका बीच डेवाइनले अदालतसँग राज्यको अधिकांश खेलकुदका कार्यक्रम बन्द गर्न अनुमति मागेका थिए ।

त्यतिबेलासम्म मुलुकमा भाइरसका कुनै संक्रमित देखिएका थिएनन् । तर, उनले ८० मुलुकबाट आउने २० हजार एथ्लेटहरुको वार्षिक कार्यक्रम रोकिदिए । जसमा प्रतिदिन ६० हजार मानिस दर्शक हुन्थे र पाँच करोड ३० लाख डलर रकम राज्यको सबैभन्दा ठूलो सहर कोलम्बसलाई आम्दानी हुन्थ्यो ।

पाँचौं कार्यकाल सम्हालिरहेका उनले त्यतिबेला आलोचकलाई यो राज्यलाई सन्तुलनमा राख्ने परीक्षा भएको बताएका थिए । त्यसपछि भाइरस नियन्त्रणका कदम चाल्दै गए ।

ओहियो राज्यका सबै विद्यालय बन्द गर्ने पहिलो राज्य बन्यो । उनले १७ मार्चमा हुन गइरहेको अमेरिकी राष्ट्रपति पदको लागि ओहियोको मनोनयन पनि रोकिदिए । धेरैले त्यतिबेला उनको आलोचना गरे । उनले लगाएको कठिन नियमलाई उनीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको कदमको रुपमा पनि व्याख्या गरे । तर, उनी पछि हटेनन् ।

डेवाइनलाई यो कदमका लागि साथ र सहयोग दिने राज्यका स्वास्थ्य मन्त्रालयका प्रमुख एमी एक्टोन हुन् । डेवाइनले उनलाई भरोसा गरेर गत वर्ष आफ्नो पदभारसँगै उनलाई सो पदमा नियुक्त गरेका थिए । एक्टोनले आफू आएपछि आफ्नो विभागमा पनि उल्लेख्य सुधारको काम गरेका छन् ।

डेवाइनले स्वास्थ्य मन्त्रालयका प्रमुखको नीतिले नै आफूहरुलाई सुरक्षित राखेको बताए । उनले यो नीतिलाई कायम राख्नुपर्नेमा पनि जोड दिएका छन् । त्यसो त डेवाइनलाई यो कदमका लागि उनको ३० वर्षे राजनीतिक अनुभवले पनि साथ दिएको हो ।

उनले अधिकांश सबैजसो सार्वजनिक कार्यालयमा काम गरिसकेका छन् । साथै उनले अमेरिकाको माथिल्लो र तल्लो सदनमा पनि प्रतिनिधित्व गरिसकेका छन् ।

गत साता सबैभन्दा बढी बेरोजगार भत्ताका लागि आवेदन दिनेमा ओहियो राज्य दोस्रोमा थियो । ओहियोबाट एक लाख ८७ हजार सात ८० जनाले बेरोजगारीको लागि आवेदन दिएका थिए । यो संख्या गत वर्ष समग्रमा बेरोजगारीको लागि दिएको आवेदनको आधा हो ।

मंगलबार यस विषयमा बोल्दै डेवाइनले आफूले निकै कठिन निर्णय गरेको तर त्यसको सहयोगमा अहिले आफ्नो राज्यमा संक्रमितको संख्या कम देखिएको बताए । ओहियोमा संक्रमितको संख्या बढिरहेको छ । तर, उसले न्युयोर्क, वासिङटन, लोउसिनिया राज्यको तुलनामा निकै हदसम्म भाइरसलाई नियन्त्रण गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment