+
+
Shares

खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मूकदर्शक

जुन भेगमा हेलिकप्टर व्यापारको ७० प्रतिशत हिस्सा छ, सोही भेगमा प्राधिकरण र राज्यको उपस्थिति नहुनुले यहाँ वायुसेवा कम्पनी र पाइलटको मनपरीमा मलजल गरेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ कात्तिक १७ गते २०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा अवतरण क्रममा एयर डाइनेस्टी र फिस्टेल एयरका दुई हेलिकप्टर आकाशमै ठोक्किँदा एक भारतीय यात्रुको मृत्यु भएको छ।
  • दुर्घटनामा एक न्युजिल्यान्डी नागरिक र दुवै हेलिकप्टरका पाइलट घाइते भएका छन्, उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले घटनाबारे छानबिन सुरु गरेको छ र खुम्बु क्षेत्रमा नियमन र जोखिम मूल्यांकन कमजोर भएको भन्दै फेरि आलोचना भएको छ।

१७ कात्तिक, काठमाडौं । सगरमाथा आधारशिविर पदयात्राका लागि अहिले सयौं पर्यटक खुम्बु क्षेत्रमा छन् । सोही मौकामा वायुसेवा कम्पनीहरूको व्यापारको आकर्षक अवसर समेत यो सिजन बन्ने गर्छ ।

दैनिक कैयौं हेली उडान/अवतरण लुक्लाभन्दा माथिको क्षेत्रमा हुने गर्छ । तर, यी भेगमा हुने उडान/अवतरणका क्रममा हुने गतिविधि नियामक निकायको प्रत्यक्ष निगरानीभन्दा बाहिर हुन्छन् ।

अर्थात्, लुक्लाभन्दा माथि नागरिक उड्डयन गतिविधि नियमन गर्ने राज्यका निकायको उपस्थिति छैन । जसले गर्दा लापरबाहीका शृङ्खला निरन्तर दोहोरिन थालेका छन् ।

मंगलबार सोलुखुम्बु फेरिचेस्थित हेलिप्याड तोकिएको स्थानमा दुई हेलिकप्टर एकापसमा ठोक्किएका छन् । एयर डाइनेस्टीको दर्ता नम्बर ‘९एन–एन एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर अवतरण क्रममा आकाशमै ठोक्किए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार ४७ वर्षीय भारतीय बसन्तकुमार बलरामुडुको मृत्यु भएको छ ।

एक यात्रु न्युजिल्यान्डका नागरिक शैलेसकिसन पटेल र दुवै हेलिकप्टरका पाइलट घाइते भएका छन् । उनीहरूको काठमाडौंमा उपचार जारी छ ।

प्राधिकरण प्रवक्ता विक्रमराज गौतमका अनुसार दुर्घटनाका सम्बन्धमा आवश्यक छानबिन प्रारम्भ गरिएको छ । यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही र सुधारात्मक उपाय अवलम्बन गरिने प्राधिकरणको प्रतिबद्धता छ ।

मंगलबार जुधेका दुई हेलिकप्टरको सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका फुटेजका आधारमा जानकारले यो घटनामा चालकको गम्भीर लापरबाही मान्छन् । किनकि, यस क्षेत्रमा लुक्लास्थित प्राधिकरणको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को सञ्चार कभरेजले भेट्दैन ।

सोहीकारण पाइलट–पाइलटबीच हुने कुराकानीका आधारमा सञ्चार व्यवस्थापन गरिनुपर्छ । यस्तो अवस्थामा पाइलट इन कमान्ड (पीआईसी) सम्हालेका व्यक्ति निकै चनाखो हुनुपर्छ ।

प्राधिकरणका एक उच्च प्राविधिकका अनुसार यो हेलिप्याडमा तोकिएको स्थानमा एक पटकमा ६/७ वटासम्म हेलिकप्टर अवतरण गर्न सकिन्छ । तर, आजको घटना हेर्दा दुवै पाइलटले ‘ल्यान्डिङ प्वाइन्ट’ एउटै विन्दुलाई बनाएको देखिन्छ । जसले गर्दा दुई हेलिकप्टर ठोक्किन पुगे । उनी यसलाई पीआईसीबाट भएको गम्भीर लापरबाही मान्छन् ।

‘जब कम्युनिकेसनको जिम्मेवारी पाइलट–पाइलटबीच छ भने सुरक्षित उडान–अवतरण सुनिश्चित गर्नु पनि पाइलटकै जिम्मेवारी हो,’ उनले भने, ‘ठोस कारण त छानबिन प्रतिवेदनबाटै स्पष्ट होला ।’

उनका अनुसार आज दुर्घटनास्थलमा मौसम सफा थियो । हावाको नकारात्मक प्रभाव थिएन । हिँउले हेलिप्याडमा असर गर्ने अवस्था पनि थिएन । यति अनुकूल अवस्थामा ठिक सामुन्ने प्रत्यक्ष आँखाले देख्ने गरी दुई विपरति दिशाबाट आएका हेलिकप्टर ठोक्किनुलाई उनी पाइलटबाट कुनै पनि हालतमा हुनै नहुने गल्ती मान्छन् ।

‘यो दुर्घटना नेपाली उड्डयन क्षेत्रलाई लज्जित बनाउने एक उदाहरण बनेको छ,’ उनले भने । परिस्थति आफ्नो काबु भित्रै रहेको अवस्थामा पनि जहाज ठोक्किने अवस्थालाई उनी दुर्घटनाभन्दा बढी ‘अपराध’ मान्छन् ।

जहाँ ७० प्रतिशत हेलिकप्टरको व्यापार छ, त्यही छैन राज्य

मुख्य पर्यटकीय सिजनका बेला दैनिक दशौं उडान हुने खुम्बु क्षेत्रका हेलिप्याडहरूमा नियमनकारी निकाय प्राधिकरणका कर्मचारी उपस्थित नहुनु अर्को लापरबाही हो ।

हेलिप्याडहरूको अवस्था के छ, त्यस स्थानमा कुनै अवरोध छन् कि भनेर प्राविधिक अध्ययन पनि गरिँदैन । त्यस्तो अध्ययन गरेर प्राधिकरणले कुनै तथ्यांक वा प्रतिवेदन पनि सार्वजनिक गर्दैन । बरु, भगवान भरोसामा उच्च हिमाली भेगमा उडान भइरहेका छन् ।

तर, नेपालका निजी हेलिकप्टरको ७० प्रतिशत व्यापार खुम्बु क्षेत्रमा केन्द्रित छ । १० प्रतिशत हाराहारी व्यापार सिमीकोट–हिल्सा र बाँकी अन्य हिमाल तथा गतिविधिबाट व्यापार प्राप्त गर्ने गरेको देखिन्छ ।

जुन भेगमा हेलिकप्टर व्यापारको ७० प्रतिशत हिस्सा छ, सोही भेगमा प्राधिकरण र राज्यको उपस्थिति नहुनुले यहाँ वायुसेवा कम्पनी र पाइलटको मनपरीमा मलजल गरेको छ ।

पटक–पटक दोहोरिँदै दुर्घटना, छैन गल्ती सच्याउने तत्परता

यसअघि १२ कात्तिक २०८२ मा सोलुखुम्बुकै लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनापछि सरकारले गठन गरेको छानबिन आयोगले लुक्ला विमानस्थलमा रहेका प्राधिकरणका कर्मचारीले खुम्बु क्षेत्रमा हुने उडानको प्रभावकारी नियमन र जोखिम मूल्यांकन गर्न नसकेको बताएको थियो ।

सोही प्रतिवेदनले खुम्बु क्षेत्रका हेलिप्याडहरूमा ग्राउन्ड स्टाफ राख्नसमेत भनेको थियो । प्रतिवेदनले सबै हेलिकप्टर अपरेटरले व्यस्त समयमा सब–बेसहरूमा अनिवार्य कर्मचारी राख्न भनेको थियो । सोही प्रतिवेदनले पाइलटलाई अवतरण स्थलको अवस्था र मौसमको विस्तृत जानकारी राख्नसमेत सुझाव दिएको थियो ।

दुर्गम क्षेत्र र उद्धार उडानका लागि पूर्वउडान जोखिम मूल्यांकन तयार गर्न पनि प्रतिवेदनले सुझाव दिएको थियो । उच्च हिमाली भेगका हेलिप्याडमा स्पष्ट र स्तरीय मार्कर राख्न र हिउँ तथा हिमाली भेगमा हुने उडान सम्बन्धी निर्देशिका बनाउन समेत सोही प्रतिवेदनले सुझाव दिएको थियो ।

यी अधिकांश सुझाव अहिले पनि कार्यान्वयनमा आएका छैनन् । गरिएका काम पनि औपचारिकतामा सीमित छन् । जसले गर्दा उस्तै प्रकृतिका दुर्घटना निरन्तर दोहोरिने गरेका छन् ।

के भन्छ मन्त्रालय ?

दुर्घटनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको छ । मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले भनेका छन्, ‘नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवा सुनिश्चित गर्न नेपाल सरकारको नीतिगत, संस्थागत, संरचनागत तथा पूर्वाधार विकासका क्षेत्रमा निरन्तर प्रयास गर्दै आएको छ ।’

उनले नेपाली आकाश थप सुरक्षित बनाउन हवाई सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा नियमन उच्च प्राथमिकतामा राखिएको समेत बताएका छन् ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?