+
एनपीएल २०२६ :

अन्तिम बलमा विराटनगरलाई जिताएका रसेलको मनमा बस्यो नेपाली क्रिकेट

२०८३ कात्तिक  १७ गते २१:५८ २०८३ कात्तिक १७ गते २१:५८

अन्तिम बलमा ३ रन जोगाउँदै विराटनगरलाई सनसनीपूर्ण जित दिलाएका आन्द्रे रसेलले म्याच विनिङ प्रदर्शन मात्र गरेनन्, नेपाली क्रिकेट र यहाँको अद्भुत माहोलको समेत उच्च प्रशंसा समेत गरे।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्द्रे रसेलले अन्तिम ओभरमा १३ रन जोगाउँदै विराटनगर किंग्सलाई जनकपुर बोल्ट्सविरुद्ध २ रनको रोमाञ्चक जित दिलाए।
  • विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनायो, जसमा रसेलले पहिलो अर्धशतक पूरा गर्दै १७ बलमा ४८ रन जोडे।
  • रसेलले नेपाली क्रिकेटमा प्रतिभाको कमी छैन भन्दै यहाँको माहोल, समर्थक र खेलाडीको खुलेर प्रशंसा गरे।

१७ कात्तिक, काठमाडौं । अन्तिम बलमा ३ रन आवश्यक थियो, क्रिजमा थिए सेट ब्याटर सेफ हसन अनि बलिङमा थिए आन्द्रे रसेल । रसेल, जसले त्यसअघिको बलमा चौका बेहोरेका थिए, अन्तिम बल फाल्न धेरै समय लगाउँदैनन् ।

अन्तिम बलमा शर्ट लेन्थ बलिङ गरेपछि सेफले पूल गर्छन् तर बल सिधा डिप मिडविकेट फिल्डर बसिर अहमदको हातमा जान्छ र विराटनगर २ रनले विजयी हुन्छ । सेफ पिचमै घोप्टो परेर भावुक मुद्रामा देखिन्छन् भने विराटनगरका समर्थक सेलेब्रेट गर्न थाल्छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत मंगलबार भएको जनकपुर बोल्ट्ससँगको खेलको अन्तिम ओभरमा १३ रन जोगाउँदै विराटनगरलाई सनसनीपूर्ण जित दिलाएका आन्द्रे रसेलले आफ्नो म्याच विनिङ प्रदर्शन मात्र गरेनन्, नेपाली क्रिकेट र यहाँको अद्भुत माहोलको समेत उच्च प्रशंसा गरेका छन्।

जनकपुरलाई अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक थियो। बलिङको जिम्मेवारी पाएका रसेलले ओभरको दोस्रो बलमै हर्मीत सिंहलाई क्याच आउट गराए। त्यसपछि अभिषेक तिवारीले चौका प्रहार गरे भने सेफ हसनले पनि चौका प्रहार गरेपछि जनकपुरलाई अन्तिम दुई बलमा ७ रन चाहिएको थियो।

पाँचौं बलमा सेफले फेरि चौका प्रहार गरे। तर, अन्तिम बलमा जितका लागि ३ रन आवश्यक हुँदा रसेलले अपेक्षा नगरेको सर्ट बल फाले। ठूलो सट खेल्न खोजेका सेफलाई बासिर अहमदले क्याच गरे।

यससँगै जनकपुरको जितको सम्भावना समाप्त भयो र विराटनगरले रोमाञ्चक दुई रनको जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिने सफलता प्राप्त गर्‍यो।

खेलपछि प्रतिक्रिया दिँदै रसेलले अन्तिम ओभरमा १० रनसम्म पनि बचाउन सक्ने आत्मविश्वास रहेको बताए। आफूलाई १३ रन जोगाउने जिम्मेवारी दिएको र योजनाअनुसार बलिङ गर्न सकेका कारण नै आफू सफल भएको उनको भनाइ थियो।

‘अन्तिम ओभरमा १० रनसम्म भए पनि डिफेन्ड गर्न सक्छु भन्ने थियो। मलाई १३ रन जोगाउने जिम्मेवारी दिइयो। योजनाको कार्यान्वयन गर्न सकेकाले सफल भएँ। त्यो बलमा जे पनि हुन सक्थ्यो, तर हामीले चाहेको नतिजा आयो,’ उनले भने।

रसेलले अन्तिम बलमा सेफलाई सर्ट बल फाल्ने निर्णय पनि आफ्नै योजनाअनुसार भएको खुलाए। ‘उनले मलाई दबाबमा राखेका थिए। अन्तिम बलमा मात्र उनलाई चक्मा दिन सकेँ। उनले अपेक्षा नगरेको सर्ट बल फालेँ। उनले राम्रो खेलेका थिए। अन्त्यमा उनका लागि पीडादायी भयो। म पनि यस्तो अवस्थामा धेरैपटक परेको छु,’ उनले थपे।

यसै दौरान, नेपाली क्रिकेटको क्रेज र माहोलबाट प्रभावित बनेका रसेलले खेलको यो ऊर्जावान् वातावरण र समर्थकहरूको उत्साहले आफ्नो मन छोएको भाव व्यक्त गर्दै नेपाली क्रिकेटप्रतिको आत्मीयता र प्रशंसा समेत साटेका छन्।

सेफ हसन

अनुभवले दिएको आत्मविश्वास

३८ वर्षीय रसेलले आफ्नो करिब २० वर्षको क्रिकेट अनुभवले परिस्थितिअनुसार खेल्न सहयोग गरेको बताए। उनका अनुसार हरेक पिच र अवस्थाको प्रकृति बुझेर खेल्दा मात्र सफलता प्राप्त गर्न सकिन्छ।

‘लगभग २० वर्षको अनुभवले हरेक परिस्थितिमा के गर्नुपर्छ भन्ने ज्ञान दिएको छ। कन्डिसनअनुसार बलिङ र ब्याटिङ गर्न सक्नुपर्छ। क्रिजमा आएपछि पिचको अवस्था बुझ्ने र केही समयपछि मात्र आक्रमण गर्ने गर्छु,’ उनले भने।

विराटनगरले पहिले ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। इमरान शेख र लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए। इमरानले ४५ बलमा ५६ र लोकेशले ४० बलमा ५३ रन बनाए।

अन्तिमतिर रसेलले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकासे। एक समय ११ बलमा ४ रन मात्र बनाएका उनले त्यसपछि १७ बलमा ४८ रन जोडे। उनले प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक पूरा गर्दै विराटनगरलाई बलियो योगफलसम्म पुर्‍याए।

जवाफमा जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। सेफ हसनले ४८ बलमा ७१ रन बनाए पनि उनको प्रयास जितका लागि पर्याप्त भएन। उनले दुई चौका र पाँच छक्का प्रहार गरे।

जनकपुरका लागि टी–२० डेब्यू गरेका विशाल सुश्लिङले ३० बलमा ४३ रन बनाए। उनले सेफसँग चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए। जिमी निशमले १५ बलमा २७ रन बनाए पनि जनकपुरलाई जिताउन सकेनन्।

बलिङमा रसेलले चार विकेट लिए। एन्जेलो म्याथ्युजले पनि एक विकेट लिएका थिए। अलराउन्ड प्रदर्शन गरेका रसेल प्लेयर अफ द म्याच घोषित भए।

नेपाली क्रिकेटमा प्रतिभाको कमी छैन : रसेल

खेलपछि रसेलले नेपाली क्रिकेट र यहाँका खेलाडीको खुलेर प्रशंसा गरे। नेपालमा प्रतिभावान् खेलाडीको संख्या धेरै रहेको र राष्ट्रिय टोली छनोट गर्न चयनकर्तालाई कठिन हुने उनको बुझाइ छ।

‘नेपालको टोली छनोट गर्न चयनकर्तालाई धेरै गाह्रो हुने देख्छु, किनभने यहाँ धेरै प्रतिभा छन्। नेपालले वेस्ट इन्डिजलाई कसरी हराएको रहेछ भन्ने कुरा यहाँ आएपछि अझ स्पष्ट देखेको छु। यहाँका खेलाडीमा केही गर्ने भोक छ,’ उनले भने।

उनले विराटनगरका लोकेश बमको प्रदर्शनको पनि प्रशंसा गरे। लोकेशसँग नजिक भएको र उनको सुरुवातदेखि नै रन बनाउने भोक देखेको रसेलले बताए।

रसेलले नेपाली खेलाडीको स्वभाव र यहाँको वातावरणले आफूलाई छोटो समयमै आत्मीय महसुस गराएको पनि बताए। आईपीएलका क्रममा सन्दीप लामिछानेसँग भेट भएपछि उनको हाँसोमजाक गर्ने शैली आफूलाई मन परेको उनले सुनाए।

‘सन्दीपलाई भेटेपछि नेपालीहरू यति हँसिला र खुसी हुने रहेछन् भन्ने लागेको थियो। म यहाँ आएको एक हप्ता मात्र भयो, तर यी खेलाडीलाई पहिल्यैदेखि चिनेको जस्तो महसुस भयो। आफ्नो अनुभव साझा गर्न पाउँदा पनि उत्साहित छु’ उनले भने।

नेपालको प्राकृतिक सौन्दर्यले पनि आफूलाई प्रभावित पारेको रसेलले बताए। उनले नेपाललाई माया गर्ने भन्दै अर्को एक खेलका लागि पनि यहाँ बस्ने बताएका छन्।

‘यहाँको चुनौती राम्रो छ, प्रतिभावान् खेलाडी छन्। नेपालमा देखेका कुराहरू धेरै मन परेका छन्। म नेपाललाई धेरै माया गर्छु,’ उनले भने।

रसेलले अर्को सिजन पनि एनपीएल खेल्न आउने इच्छा व्यक्त गरे। उनका अनुसार नेपाली क्रिकेटमा अझै धेरै सम्भावना छ र नेपालले भविष्यमा ठूला टोलीसँग प्रतिस्पर्धा गर्ने विश्वास गर्न सकिन्छ।

यस जितसँगै विराटनगर लगातार दोस्रो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। जनकपुर भने दोस्रो हारपछि तेस्रो स्थानमा झरेको छ।

आन्द्रे रसेल एनपीएल २०२६ जनकपुर बोल्ट्स विराटनगर किङ्स
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय