+
+
Shares

रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते २०:५५

रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका हुन् ।

जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख राष्ट्रमध्ये एक हो । जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि युक्रेनप्रतिको समर्थन निरन्तर दोहोर्‍याउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शान्ति वार्तालाई अघि बढाउने प्रयासस्वरूप अर्को साता अबुधाबीमा युक्रेनी, रुसी र अमेरिकी अधिकारीहरूबीच वार्ता हुने घोषणा गरेलगत्तै जेलेन्स्कीको जर्मनी भ्रमणमा पुगेका हुन् ।

जेलेन्स्कीको बर्लिन भ्रमण सुरक्षा तथा प्रतिरक्षासम्बन्धी एक सम्मेलनसँगै परेको छ । उक्त सम्मेलनको उद्घाटन लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले गर्ने कार्यक्रम छ । जेलेन्स्कीले पनि सम्मेलनमा सहभागी हुने बताएका छन् ।

सम्मेलनमा मुख्यत: युक्रेन युद्ध र रुसबाट युरोपको सुरक्षामा बढ्दै गएको चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ ।

जेलेन्स्कीले सुरक्षा, स्थिरता र नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्थाको रक्षा सबैको साझा चासो भएको उल्लेख गर्दै यी सिद्धान्तलाई ठोस निर्णय र कार्यमा रूपान्तरण गर्न मिलेर काम गर्नुपर्ने बताएका छन् ।

जर्मनीले नोभेम्बरको मध्यतिर युक्रेनका प्रमुख सहयोगी राष्ट्रहरूको समूह ‘कोएलिसन अफ द विलिङ’को बैठक आयोजना गर्ने योजना बनाएको छ । जर्मन चान्सलर मेर्जले गत साता यसबारे जानकारी दिएका थिए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?