Comments Add Comment

गण्डकी प्रदेशमा विदेशबाट आएका चार हजारमा ‘र्‍यापिड परीक्षण’   

२८ चैत, कास्की । गण्डकी प्रदेशमा चैत महिनामा छिमेकी मुलुक भारत लगायतका देशबाट आएका चार हजार एक सय ४६ जनाको कोरोना परीक्षण गरिने भएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सम्भावित संक्रमण फैलावट रोक्न विदेशबाट प्रदेश भित्रिएका सबैको र्‍यापिड डाइगोनिष्टक टेष्ट(आरडिटी) गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित फेला परेका नौ जनामध्ये आठ जना विदेशबाट आएका रहेकाले चैत महिनायता विदेशबाट फर्किएकाको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सबैको परीक्षण गर्न लागिएको हो । गण्डकीमा हालसम्म दुई जनामा कोरोना देखिएको छ ।

विदेशबाट आएका बागङकी १९ वर्षीया युवती र अर्की एक ६५ वर्षीया महिलामा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई कोरोना परीक्षणका लागि पाँच हजार थान आरडीटी किट प्राप्त भएको र त्यसबाट विदेशबाट आएका सबैको परीक्षण गर्न लागिएको बताए ।

“गण्डकी प्रदेशभित्र रहेका स्वास्थ्य कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार चैत ४ गते यता भारतलगायत विदेशबाट आएका नागरिकको सङ्ख्या चार हजार एक सय ४६ रहेको छ । यी सबैको आरडीटी किट्सद्वारा परीक्षण गरिने छ”, निर्देशक शर्माले भने । बागलुङबाट परीक्षण सुरुवात भएको र सबै जिल्लामा परीक्षण गरिने बताइन्छ । द्रूत परीक्षणका लागि निर्देशनालयबाट प्रदेशमा दुई टोली बनाएर शुक्रबारदेखि तोकिएको क्षेत्रमा परिचालन गरिएको बताइन्छ ।

गोर्खा, नवलपुर, तनहुँ र लमजुङमा एक टोली र म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जाका लागि अर्को टोली परिचालन भएको र जिल्लामा प्राविधिकलाई आवश्यक तालिम दिएर प्रत्येक जिल्लामा परीक्षणको काम हुने निर्देशनालयले जनाएको छ । कास्कीमा भने आवश्यक तालिमपछि टोलीले काम सुरु गरेको बताइन्छ ।

दुई मेसिनबाट कोरोना परीक्षण    

गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले दुईवटा मेसिनबाट कोरोना परीक्षण भइरहेको छ । गत चैत १८ गते कोरोना जाँचका लागि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पोर्टेवल पीसीआर मेसिनसँगै चैत २२ देखि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रियल टाइम (आरटी पीसीआर) मेसिनबाट प्रदेशका विभिन्न जिल्लाबाट सङ्कलित नमुनाको दैनिक परीक्षण गरिएको प्रादेशिक आपतकालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए ।

दुई महिनाअघि ‘भाइरललोड सर्भिस’ का लागि पश्चिमाञ्चल क्षेत्री अस्पतालको प्रयोगशालामा सञ्चालनमा ल्याइएको सो मेसिनमा यसअघि आवश्यक किट नभएको भन्दै कोरोना परीक्षणमा प्रयोग गरिएको थिएन । अत्याधुनिक क्षमताको आरटीपीसीआर मेसिन सञ्चालनमा आएसँग परीक्षणको संख्यामा वृद्धि भएको र दुईवटा मेसिन भएकाले प्राप्त नतिजा ‘भेरिफिकेसन’ का लागि काठमाडौं पठाउने बाध्यता हटेको बताइन्छ ।

गण्डकी प्रदेशका हालसम्म दुई सय ८३ जनाको नमुना सङ्कलन गरिएकामा दुई १४ जनाको नतिजा नेगेटिभ आएको छ । दुई जनामा भने कोरोना सङ्क्रमण देखिएकामा ६७ जनाको परीक्षण नतिजा आउन बाँकी रहेको बताइन्छ । त्यसैगरी, हेलो डाक्टर १०९२ मा सम्पर्क गरी हालसम्म पाँच सय १३ जनाले चिकित्सकीय परामर्श सेवा लिएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment