Comments Add Comment

नेकपाको मुख-मुख क्रान्ति, घाँटी-घाँटी प्रतिक्रान्ति

‘कम्युनिष्ट पार्टी भनेको विपरितहरूको एकत्व हो’ -मार्क्स । तसर्थ, कम्युनिष्ट पार्टीभित्र सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्वदेखि पुँजीपतिका दलाल प्रतिनिधिसम्म हुने गर्दछन् । कम्युनिष्टहरू भौतिकवादी एवं द्वन्दवादी हुन्छन् । हरेक विषय विज्ञानको कसीमा मापन गर्दछन् साथै प्रत्येक घटनाको सकारात्मक र नकारात्मक दुवै कोणबाट विश्लेषण गर्दछन् ।

सैद्धान्तिक दृष्टिबाट हेर्दा जिवित कम्युनिष्ट पार्टीमा वादविवाद, बहस र छलफल सदैव हुन्छ । सजिव कम्युनिष्ट पार्टीमा हुने सामान्य वादविवादले पार्टीलाई अझ स्पातिलो बनाउन मद्दत नै गर्दछ ।

विगतको इतिहासको गम्भीर समीक्षा पश्चात सैद्दान्तिक, बैचारिक रूपमा एकतावद्ध भएको पार्टीभित्र स-साना मतभेद उत्पन्न हुनेवित्तिकै एकतामाथि नै संशय गर्ने मनोविज्ञान नेकपाभित्र छ । यसलाई द्वन्दवादको नियमअनुरूप सकारात्मक आशयका साथ गरिएको चासो र चिन्ताको रूपमा बुझ्नु पर्दछ । सिद्दान्त एवं विचारमा एकतावद्ध पार्टीमा अन्तरसंघर्षहरू खुल्ला स्पष्ट र पारदर्शी बनाउनुपर्दछ ।

सरकार सञ्चालनका सन्दर्भमा, काम गर्ने शैलीमा शालीन साथै विवेकी हुन आवश्यक छ । कम्युनिष्ट पार्टीका नेतादेखि कार्यकर्ता जनताप्रति जवाफदेही, पारदर्शी र नैतिकवान हुनुपर्दछ । सर्वहारा श्रमजीवीको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीका मन्त्रीहरूमा द्रब्यमोहको आरोप आउनु राम्रो संकेत होइन ।

समाजवाद अर्थात समतामूलक राज्य निर्माणको यात्रा । तसर्थ समाजवादको पहिलो आधार निजी सम्पत्तिको मोह त्याग हो । सम्पतिको राष्ट्रियकरण हो । राज्यप्रति इमान्दार र पारदर्शी हुनु हो । राष्ट्रप्रति सवै नागरिकको अधिकार र स्वमित्व बरावर हुने ब्यवस्था हो ।

त्यसकारण समाजवादी ब्यवस्थाका निम्ति नेताहरूमा आदर्श हुनु पहिलो अनिवार्य सर्त हो । परन्तु, आज नेपालको कम्युनिष्ट आन्दोलनभित्र क्रमश अभिजात वर्गको जन्म भएको छ ।

‘सुन सबै पहेंलो हुन्छ, पहेंलो सबै सुन हुँदैन’ लेपमात्र लगाएका धातुहरूले प्रगतिशीलताको परिभाषालाई भ्रमित बनाइरहेका छन् । मार्क्सवादका अनुयायीहरूले द्वन्द्ववादी तवरले सही र सत्यलाई तथ्यको आधारमा मुल्याङ्कन गर्न आवश्यक छ । प्रत्येक समाजमा वर्ग संघर्ष छ, संघर्षको अन्तिम रूप बल प्रयोग हो । शान्तिपूर्ण हुने प्रतिस्पर्धा रूपमा प्रगतिशील देखिए पनि सारमा पेटी बुर्जुवा नै हो । आजकल प्रगतिशीलताको नाममा पेटी बुर्जुवाहरूको सङ्ख्या ह्वातै बढ्दै छ । परिणामत, राजनीतिक पार्टीहरूभित्र अपारदर्शी प्रतिस्पर्धा छ । कमरेडली भावनाको अभाव छ । सामूहिक नेतृत्व विकास हुनु भन्दा गुटले प्रथामिकता पाएको छ ।

आजकल कोही कोही मनुवाहरूले गणतन्त्रको धुरीमा बसेर गणतन्त्रका निम्ति अहोरात्र निरङ्कुश राजतन्त्रका विरूद्ध जीवनको प्रवाह नगरी खट्नेहरूलाई धारेहात लगाउँदै सत्तोसराप गरेको पनि सुनिन्छ । हुन त तातो पानीले घर डढ्दैन, ती मनुष्यहरूले थोरै अक्कलको पनि ख्याल गरौं, जगविना धुरी हुँदैन गणतन्त्र जग जनयुद्ध हो । शान्तिपूर्ण तरिकाले गणतन्त्र आउने थियो भने ०४६ सालमा बहुदलीय ब्यवस्था नभएर गणतान्त्रिक ब्यवस्था देशमा आउने थियो । विरोधका निम्ति विरोध गर्दैमा घामजस्तै छलङ्ग इतिहास मेटाउने प्रयास गर्दैमा रक्तरञ्जित इतिहास मेटिँदैन । अहिलेको जनमत बाम एकताको उपज हो ।

यतिबेला सातैवटा प्रदेशका जनता नोवेल कोरोना भाइरस (कोभिड-१९) को महामारीले होम क्वारेनटाइनमा छन् । परन्तु, अवस्था कस्तो छ भने कोरोना भाइरस टेष्ट गर्ने किट आइपुग्छ, स्वस्थ्यकर्मीले लगाउने पोशाकलगायतका कुनै न कुनै सामग्रीको अभावमा केन्द्र सरकारको मुख ताक्दै प्रदेश सरकार बस्नुपर्ने बाध्यता छ । अधिकार प्रत्यायोजन गर्ने कार्यनीतिक मामिलामा संघीय सरकार अझ उदार हुन जरूरी छ ।

कार्यनीतिले रणनीतिको सेवा गर्ने किसिमको हुनु अत्यन्तै आवश्यक हुन्छ । सिंहदरबार केन्द्रित क्रियाकलापले अनत्वगत्वा केन्द्रिकरणलाई प्रश्रय दिनु हो । समाजवाद उन्मुख संविधानको कार्यनीति शक्ति केन्द्रीकरण होइन, विकेन्द्रीकरण हो । विकेन्द्रीकरणले नै संघीयता कार्यान्वयनमा सहजता प्रधान गर्दछ । यसो गर्दा मात्र रणनीतितर्फ उन्मुख हुन सम्भव छ ।

लेनिनले क्रान्तिबारे भन्नुभएको थियो, ‘मुख-मुख क्रान्ति घाँटी-घाँटी प्रतिक्रान्ति आउने गर्दछ ।’ आज त्यसैगरी बिचौलिया दलाल पुँजीवादी प्रवृत्ति ओम्नी कम्पनीमार्फत सरकार र नेकपाको घाँटीमा प्रतिक्रान्तिको घण्टी बजाउदै छ ।

केही समयअघि यती कम्पनीमार्फत उच्च मध्यम वर्गले कम्युनिष्ट पार्टीको सरकारलाई एउटा नमिठो धक्का दियो । यती प्रकरणले पुराएको क्षतिको समीक्षा नहुँदै दलालहरू ओम्नीमार्फत सरकारलाई असफल बनाउन आइपुगेका छन् ।

यस्तो संवेदनशील अवस्थामा कतिपय नेकपाका नेता तथा कार्यकर्ताहरू घाँटीमा आइपुगेको प्रतिक्रान्तिलाई स्वागत गर्दै उक्त कम्पनीहरूको ढाकछोप गरिरहेका छन् । यस्तो देवत्वकरण र अन्धसमर्थन गर्ने प्रवृत्तिले नेकपालाई क्रान्तिकारी पार्टी बनाउन मद्दत गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment