
२०४६ सालमा मैले काठमाडौं शहर पहिलोपटक देखेको थिएँ । त्यो बेला पनि गोली चलिरहेको थियो, परिवर्तनको संघारमा थियो देश । म बालक थिएँ । पञ्चायत ढलेर बहुदलको खम्बा ठडियो ।
म युवा भएँ । त्यसैबेला १० बर्षे माओवादी युद्द भयो । राजतन्त्र ढलेर गणतन्त्रको अर्को खम्बा उभियो । सधैं अन्योल, अस्थिरपना र आन्दोलनका बीच मेरो पुस्ता हुर्कियो ।
आज अधबैंसे भएको छु । र, म काठमाडौं पसेको ३५ वर्षपछि पनि सडकमा गोली चलिरहेको छ । परिवर्तनको माग उर्लिरहेको छ । थाहा छैन कहिले यसको अन्त्य हुन्छ वा चाहेको परिवर्तन हुन्छ । परिवर्तनका लागि लड्दा ज्यान गुमाउनुभएका सबैप्रति हार्दिक श्रदाञ्जली र परिवारजनमा गहिरो समवेदना ।
यो शहरमा म रहरले आइपुगेको थिइनँ । सात वर्षे म, १७ वर्षमा विधवा भएकी २४ वर्षे आमाको हात समातेर, बाँच्ने झिनो आशासहित थानकोट आइपुग्दा उज्यालो भइसकेको थिएन, अँध्यारोले छाडिसकेको पनि थिएन । मिर्मिरेमा शहरभरि पिलपिले बत्तिहरू बलिरहेका थिए ।
रातभरिको बसयात्रापछि देखेको त्यो धुमिल दृष्य अहिले पनि सम्झनामा आउँछ । यहाँ आइपुग्न मैले एक दिन हिँडेर अनि एक रात गुडेर आउनुपरेको थियो । मेरा लागि गाडी नयाँ थियो, बिजुली बत्ति नयाँ थियो, मान्छे नयाँ थिए, शहर नयाँ थियो, परिवेश र परिस्थिति नयाँ थियो ।
पर्वत जिल्लाको होश्रांग्दी भन्ने गाउँमा २०३९ साल कात्तिक २८ गते म जन्मिँनुभन्दा चार महिनाअघिदेखि नै मेरो नदीसँग सम्बन्ध जोडियो ।
२४ वर्षे मेरा बुबाले सदरमुकाम कुश्मा बजारछेउ भएर बग्ने मोदीखोलामा हामफाल्नुभयो र केहिबेरमै कालीगण्डकीमा बिलाउनुभयो । पेशाले शिक्षक मेरा बा किन हामफाल्नुभयो त्यसको उत्तर हामीले कहिल्यै पाएनौं न त हामीले लास नै भेट्यौ ।
असारको बर्खेभेलमा बगेको शरीर हामीबाट त गुम्यो तर पृथ्वीबाट भने हराएको छैन । सायद त्यो कुनै जलचरको खाना बन्यो र पछि माटो बन्यो । त्यो कतै घुमिरहेको छ ।
यो पृथ्वीमा कुनै कुरा हराउँदैन, त्यो केवल अर्को कुनै कुरामा परिणत हुन्छ । हाम्रा लागि नदी हत्यारा बन्यो, दोष उस्को पक्कै थिएन ।
बुबा बगेपछिको सात वर्षमा हामी शहर भासियौं । शहरमा मेरा धेरै सम्झना छन् तर ती सम्झनाहरू म अति आवश्यक परेमात्रै मानसपटलमा घुमाउने गर्छु र अधिकांश समय मेरो प्रयास बिर्सनेतर्फ रहने गर्छ।
तपाइँसँग दुःख हुँदा आँसु आउने नै भयो तर तपाइँसँग सुख हुँदा पनि त्यो दुःख सम्झेर आउने फेरि आँसु नै रहेछ, जसरी तपाइँसामु बोल्दा पनि आँसुले आफ्नो बाटो खोजिरहेछ । मेरो लागि आँसु बाँच्ने सहारा थियो ।
मैले मेरी श्रीमती मिनाक्षीलाई बेलाबेला भन्ने गर्छु, यदि रुन नजानेको भए वा मेरा आँखामा आँसु चाँडै नआउने भएको भए मैले उहिल्यै आत्महत्या गरिसकेको हुन्थें ।
यति दुःखी र निरस जिन्दगी बाँच्नुको के अर्थ भनेर धेरै सोच्थें म । तर जसै म मर्छु भनेर सोच्थें र एक्लै कतै कुनामा रुन्थें । अर्को मनले फेरि सोच्थें मेरो जन्म नै सामान्य छैन, त्यसैले मृत्यु कसरी यति सामान्य हुनसक्छ ।
मेरो बुबा मरेको चार महिनापछि मात्र जन्मेको थिएँ । न नजन्मेको भए पनि त हुन्थ्यो । म जन्मेपछि तुरुन्तै मरेको भए पनि त हुन्थ्यो । तर त्यसो भएन । म बाँचे । पक्कै केही गर्नका लागि त बाँचेको हुँला । मनमा अनायासै यस्ता भावना आउँथे र आँसु झारेपछि मलाई हल्का हुन्थ्यो । बाँच्ने रहर बढ्थ्यो भने मर्ने रहर घट्थ्यो ।
काठमाडौं पसेपछि म केही वर्ष सोल्टीमोडमा बसें, ठूलाबा-ठूलीआमासँग जो मेरी आमाका दिदीभिनाजु हुनुहुन्छ। त्यसपछि विष्णुमती किनारको टंकेश्वरमा चिया दोकानमा केही वर्ष थाल-गिलास माझेर बसें, आमासँगै चियाभात बेचेर । त्यसपछिको एक दशक हामीले कालिमाटीमा तरकारी बेच्यौं ।
यो शहरमा बाँच्न हामीले धेरै कुरा गर्यौं । त्यो चिया दोकानबाट १०० मिटर पनि पर थिएन विष्णुमती नदी । तर मैले कहिल्यै त्यो नदीमा पौडी खेल्न पाइनँ, कहिल्यै किनारको बालुवामा पल्टन पाइनँ ।
नदीबारे मेरो सम्झनामा फोहोरको थुप्रो र नमिठो गन्ध मात्र आइरहन्छ । मलाई त्यो नदी कालै बगे पनि वा निलै बगे पनि केही मतलब थिएन किनभने मेरो उद्देश्य बाँ च्नुथियो र बाँच्नका लागि हामीले काम गर्नुपर्थ्यो । म खासमा बाँच्न व्यस्त थिएँ ।
तर, समयले कोल्टे फेर्यो । म पढाइमा अब्बल थिएँ । वातावरण विज्ञानमा स्नातकोत्तर गरें । अवसर खोजें, मिहिनेत गरिरहें । यो बीचमा यो शहरमा म एउटा राम्रै जिन्दगी बिताउन सक्ने भएँ । देश-विदेश पुगेर काम गर्ने अवसर पाएँ ।
६ वटै महादेश पुगेर समाचारसमेत लेखें । मेरो घर थिएन, परिवार थिएन । यो शरहले मलाई धेरै कुरा दियो । यही शहरमा मैले मिनाक्षीलाई भेटें, प्रेमिकाको रूपमा । हामीले छोरी अनुरासहितको परिवार बनायौं । दुइटी आमाहरूसहित सँगै बसेका छौं ।
यसो हेर्दा मैले बाँचेको चार दशकमा पृथ्वीमा धेरै कुरा भए । यो देशमा मात्रै होइन, पूरै पृथ्वीमै । म जन्मिएको वर्ष सन् १९८२ मा पृथ्वीको जनसंख्या साढे चार अर्ब हाराहारी थियो । सन् २०१८ मा छालबाटो किताबमा भएको यात्राका लागि निस्कँदा जनसंख्या बढेर साढे सात अर्ब पुग्यो र अहिले आठ अर्ब नाघेको छ ।
मान्छे मात्रै बढेनन् यो पृथ्वीमा उसले निकालेको हरितगृह ग्यासका कारण पृथ्वी नै तात्यो भनेर वैज्ञानिकहरू भनिरहेछन् ।
सन् १८८० को दाँजोमा हेर्ने हो भने पनि हामी अहिले सरदर १.१ डिग्री सेल्सियस तातो पृथ्वीमा बाँचिरहेका छौं ।
जति जंगल गएको ९,९०० वर्षमा मासियो त्यति जंगल त बीसौं शताव्दीको १०० वर्षमै भएको मासिएको थियो । सन् १९७० पछाडि मात्रै पनि मानिसका क्रियाकलापका कारण जंगली जीवजन्तुको संख्या ६० प्रतिशतभन्दा बढीले घटिसक्यो भन्ने आँकडा निकालिएको छ ।
यसरी देश फेरिएको छ, शहर फेरिएको छ, मान्छे फेरिएका छन् । यसैगरी सबै पृथ्वी फेरिएको छ । कथाहरू फरक भएका छन् ।
फेरिनु प्रकृतिको नियम हो तर जुन गतिमा फेरिएको छ त्यो असामान्य छ । यहाँ मान्छेले मात्रै आफ्नो कथा भनिरहेको छ, उसको मात्रै कुरा भइरहेको छ तर समग्र पृथ्वीमा रहेका अरू प्रजातिको कथा हराउँदै गएको छ ।
हाम्रो पूरा आयुलाई १०० आसपास मान्ने हो भने पनि पृथ्वी हामीभन्दा झन्डै पाँच करोड गुणा जेठो हो । एउटा के कुरा सत्य हो भने, पृथ्वीमा सधैं एउटै मात्र प्रजातिको वर्चश्व थिएन र मान्छेको पनि रहँदैन होला । आउने-जाने पृथ्वीमा भइरहन्छ। तर खासमा मान्छेले अरू प्रजातिले भन्दा एउटा कुरा फरक पायो अर्थात् फुक्काफाल हात ।
अरु सबैजसो प्राणीले आफ्ना हातखुट्टा टेक्न मात्रैका लागि प्रयोग नगरी धरै पाउँदैनन् तर मान्छे मात्रै यस्तो प्राणाी हो जो गोजीमा हात हालेर गफ लगाउँदै खुट्टाले हिँड्न सक्छ ।
उसले आफ्ना हातलाई के गरौं र कसो गरौं भनेर अनेक गरिरहेको छ । त्यो हात चलाउन उसले दिमागको इस्तमाल गर्छ । वा दिमागले हात चलाउँछ । यो फुक्काफाल हातको सहाराले मान्छेले पृथ्वी कब्जा गर्यो र थप गर्दैछ । ऊ उड्ने भएको छ, गुड्ने भएको छ ।
साढे चार अर्ब वर्ष पुरानो पृथ्वीमा मानिस नामको प्रजातिले बिताएको पूरै समय हिसाब गर्दा पनि पृथ्वीको उमेरको जम्मा ०.०००७ प्रतिशत मात्रै हो । तर मानिसले अति छोटो समयमा अति दोहन गर्यो ।
त्यसरी एउटा प्रजातिले यति छोटो समयमा यस्तो परिवर्तन पृथ्वीमा कहिल्यै गरेको थिएन । हाम्रो जीवनलाई यिनै रुखपात, ढुंगा माटोले, नदी, पानीले त चलाएको छ ।
यिनलाई नबुझी कसरी जीवन बुझिन्छ ? यिनलाई माया नगरे हाम्रा सन्तति कसरी यो पृथ्वीमा बाँच्छन् । यो सामान्य देखिए पनि गहन प्रश्न हो । यो प्रश्न प्रगतिको बाधक होइन, यो दिगो विकासको संवाहक हो । यो निराशाको कथा होइन चिन्ताको विषय हो ।
बिजुलीका तार, नदीका बाँध, अग्ला घर, हुइँकिने गाडी, उड्ने जहाज, सुइँकिने रेल । एक औंलामा नाचिरहेको इन्टरनेट, चिटिक्क परेको टेलिभिजन, गोजीमा हाल्नमिल्ने मोबाइल, यो हेर्दा अहिलेको समय बढो चमत्कारी जस्तो लाग्छ तर गहिरिएर हेर्यो भने डरलाग्दो पनि छ ।
यो पृथ्वी अबको १०० वर्षमा कस्तो होला ? मान्छे र अरू प्रजातिको भविष्य कस्तो होला ? दोहनको श्रृंखला कसरी बढ्ला ।
एउटै प्रजाति भए पनि अति विभाजित मान्छे कसरी सँगै बस्ला ? कयौं प्रश्नले मनलाई थोरै चिन्तित पारिरहन्छ तर मानिसले कयौं विषम परिस्थितिको सामना गरेर यहाँसम्म आइपुगेको हो त्यसैले यो गति र मति दुवैलाई मान्छेले सम्हालेर अगाडि बढ्ला भन्ने लाग्छ ।
अब छालबाटोबारे थोरै कुरा,
नदी संरक्षणमा लागेका एकजना अभियान्ता छन्, मेघ आले । उनी आफूलाई डुंगाचालक भन्छन् वा अंग्रेजीमा भन्दा उनी र्याफ्टर हुन् । उनले एक दिन मलाई भने, मेरो जीवनकालमै धेरै नदी मरे ।
मैले डुंगा खियाउँदा खियाउँदै मरणासन्न भएका नदी देखें । अब यो देशमा मर्न बाँकी नदी कर्नाली हो । त्यसैले यो नमर्दै र मेरो जीउमा बल छँदै यसको शिरपुछार यात्रा गर्दैछु, तपाइँलाई निम्तो ।
मरेको भनेको चाहिँ निरन्तर बग्न नपाएको । नदीले बग्न पाएन भने मरेको हुन्छ भनेर उनले मलाई भनिरहन्थे । उनको त्यो रहरले मलाई कर्नाली पुर्यायो । त्यही निम्तोले मलाई कैलाशदेखि गंगा घुमायो ।
तीन देश, डेढ महिनाको समय, दुई हजार किलोमिटरको लामो यात्रा जसमा एकसाता बढी त लगातार डुंगामै बगेका थियौं हामी, छालहरूलाई जितेर वा ति छालहरूकै सहारामा बगेर ।
यो एक्लै गर्न सकिने यात्रा पक्कै थिएन । डेढ महिनाको समयमा हिमालयपारिबाट पूरै नेपाल काटेर भारतको उत्तरप्रदेश र विहारका फाँटसम्म पुग्दा देखेभोगेका कथा र पात्रहरूको वरिपरि यो किताब घुमेको छ ।
यहाँ महादु:खी हुम्ली धनवीर पनि छन्, हराउँदै गएका बर्दियाका बाघ पनि । तिब्बतबाट भागेका दलाई लामा पनि छन्, भागिगएर फेरि तिब्बत फर्केका मिंगमार पनि छन् ।
यहाँ दैलेखबाट लगातार एकसाता भन्दा बढी बग्दा जितिएका छालका बेग पनि छन्, बनारसमा खरानी बन्दै गरेका लास पनि छन् । कतै सपना बेच्ने नेता छन् त कतै सपना बोकेका आम मानिस छन् ।
यो सपनाको कारोबारमा नेताले जितेका छन् जनताले हारेका छन् । मलाई कतै तिब्बती रेलले घुमाएको छ त कतै मैले मर्किंदै बगेको कर्नालीमा डुंगा घुमाएको छु । कर्नालीसँगै बगेको छु । कतै टक्क अडिएको छु । कतै छेउछाउका मानिससँग गफिएको छु ।
पृथ्वीमा रहेका सबै नदीको कूल लम्बाइ लगभग एक करोड २० लाख किलोमिटर छ जसमध्ये ६० प्रतिशतमा बाँध बाँधिसकिएको छ । नेपालका सबै खोला नालाको लम्बाइ नाप्दा ४५ हजार किलोमिटर हुन्छ । त्यो थोरै पक्कै होइन ।
यो पृथ्वी एक फन्को मार्दा जम्मा ४० हजार किलोमिटर मात्रै हुन्छ । त्यसैले हाम्रा नदी नाला मात्रै हिँड्दा मात्रै पनि पृथ्वी फन्को मारेभन्दा बढी हुन्छ । मैले त जम्मा त्यसको एकहजार किलोमिटर मात्रै हिँडेको हुँ ।
यो नदीबारेको किताब होइन । नदीले यसलाई उनेको मात्रै हो । यो नदी वरिपरि हिँड्दा देखेभेटेका पात्रहरूको कथा हो । नदी पानी मात्रै होइन यो सभ्यता हो, संस्कृति हो, जीवन चलाउने आधार हो र पृथ्वीलाई चलायमान बनाउने रक्तनली हो ।
यो जन्मेपछि बाँच्ने आधार हो र मरेपछि बग्ने बाटो पनि हो । तर पछिल्लो समय नदी केबल पानी र त्यसले निकाल्ने बिजुलीमा मात्रै केन्द्रित भयो ।
त्यसको कारण पनि छ । पहिला पिउन, सिँचाइ, ढुवानी र माछाको स्रोतको रूपमा प्रयोग भएका नदीमा सन् १८८२मा उपयोगको अर्को बाटो खुल्यो ।
उक्त वर्ष अमेरिकाको विस्कन्सन्स्थित फक्स नदीको पानीबाट विश्वकै पहिलो विद्युगृह निर्माण भए पनि नदी ऊर्जाको मुख्य स्रोत पनि बन्न थाले ।
बिजुलीका लागि नदीहरूमा बाँध बाँध्ने काम मुख्य गरेर दोस्रो विश्वयुद्दपछि झन् व्यापक भयो । अहिले विश्वको कूल बिजुलीको १७ प्रतिशत खोलानदीले दिन्छन् ।
नदीहरू अहिले कतै तारमार्फत बिजुलीका रूपमा घरघरमा पुगेका छन् त कतै ट्रकहरूमा बालुवाका रूपमा ढुवानी भइरहेका छन् ।
पक्कै पनि नदीहरूमा धनी देशले बिजुलीको उत्पादन नदीहरूबाट गर्नुपर्छ तर नदीलाई बिजुलीमात्रै हो भन्ने साँघुरो सोचबाट भने बाहिर निस्कनुपर्छ ।
यता देशभित्र पनि हामीले विकासको बहसमा वातावरणलाई बाधकको रूपमा स्थापित गरायौं । नदीलाई बिजुलीमा मात्रै केन्द्रित गर्यौं । पैसाको कुरा गर्ने तर पर्यावरण भन्यो कि भाउन्न भइहाल्ने अवस्था आयो ।
हामीसँग यो पृथ्वीको थोरै मात्र ठाउँमा हुने भौगोलिक र जैविक विविधता छ । हामीले अरूले जे गर्यो त्यही नगरेर, कम बिग्रिएको पृथ्वी हेर्न यता आउ भन्न सक्छौं । हामीले कम क्षति गरेर पनि विकास गर्न सक्छौं भन्ने मलाई लाग्छ ।
हामीले पहाडलाई सोचविचार गरेर काट्न सक्छौं, केही नदीलाई बग्न पनि दिन सक्छौं । हामी अरू जस्तो निम्छरो हुन जरुरी छैन भन्ने मलाई लाग्छ । हामीले पैसा खर्चेर पहाड काट्न त सक्छौं तर पैसाको भरमा फेरि पहाड जोड्न सक्दैनौं ।
त्यसैले हामीले धेरै सोचविचार गरेर मात्रै यी कलिला पहाड काट्नुपर्छ, नदीलाई त्यसैअनुसार व्यवहार गर्नुपर्छ । त्यसका लागि हामीले हाम्रो ध्यान भ्यू टावरतिर होइन ज्ञान आर्जनतिर लगाउनुपर्छ ।
विश्वकै सबैभन्दा अग्लो र विविधतायुक्त भूगोलमा रहेको देशले टाकुरमा उभिएर अलि परपरसम्म हेर्नुपर्छ र फराकिलो दायरा बनाउनुपर्छ । तर हामीमा गहिरो चिन्तन भएन । आक्रोश बढी छ, आवश्यक ज्ञान कम छ ।
र अन्त्यमा,
यो किताबलाई पद्मश्री पुरस्कारका लागि छनोट गर्ने छनोट समितिलाई धन्यवाद । मलाई किताब लेख्न हौस्याउने र सधैं समय र परिवेश मिलाइदिने मेरी पहिला प्रेमिका र अहिले श्रीमती मिनाक्षीप्रति आभारी छु ।
मलाई पढाउनुपर्छ भनेर काठमाडौं ल्याउने मेरी आमा र चरम अभावका बीच पनि मलाई सधैं आफ्नो परिवारको सदस्य जसरी हुर्काउने मेरा ठूलाबा-ठूलीआमाप्रति म ऋणी छु ।
मेरो परिवारको आधा हिस्सा जन्माउने र ममा सधैं उत्साह भर्ने मेरी सासुआमा र हामी सबैकी प्यारी छोरी अनुराप्रति सधैं आभारी छु । मैले किताबमा भनेझैं यो किताब अनुराको पुस्तामा सर्मपित गरेको छु ।
यो यात्रामा मलाई सामेल गराउने मेघ आले र मेरो सहयात्री प्रिय फोटोग्राफर साथी नवीन बरालले ठूलो गुन लगाएका छन्, म आभारी छु उनीहरूसँगै अरू विज्ञ सहयात्रीहरूप्रति ।
प्रकाशक फाइनप्रिन्ट र सम्पादन लेआउट लगायत कभर बनाइदिने सबैलाई धन्यवाद । र, अन्तमा मेरा सबै प्रिय पाठक जसले यो किताबलाई यति धेरै माया गर्नुभयो, दोस्रो, तेस्रो संस्करण ल्याउन बाँध्य पार्नुभयो, यो पुरस्कार तपाइँहरूको पनि हो, तपाइँ सबैलाई मुरीमुरी धन्यवाद ।
(यो वर्षको पद्मश्री पुरस्कार जितेका लेखक रमेश भुसालको मन्तव्यको सम्पादित अंश ।)
प्रतिक्रिया 4