Comments Add Comment

निकुञ्जभित्र लकडाउनले नछोएका जीवजन्तु (फोटो फिचर)

२६ चैत, चितवन । संसारका ८७ लाख जीवजन्तुमध्येको एक प्रजाति हो मानिस । कोरोनारुपी संकट आइलाग्दा समस्त मानवजातिको जीवन अस्तव्यस्त छ । तर, ब्रम्हाण्डका अन्य जीवहरुलाई चाहिँ कोरोनाले छोएको छैन ।

तर, सरकारले देशब्यापी लकडाउन गरेर मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरेपछि जीव-जनावरहरुलाई पनि त्यसको असर नपर्ने कुरा भएन । सडकमा हिँड्ने कुकुरदेखि बाँदरसम्म भोकै परिरहेका समाचार पनि आइरहेका छन् ।

यस्तोमा हामीले सोच्यौं, चितवन राष्ट्रिय निकुञ्जभित्रका जनावरहरुको अवस्था चाहिँ के होला ? उत्तरका लागि हामी निकुञ्जभित्रै पुग्यौं । सन्तोषको कुरा, त्यहाँभित्रका जीवजन्तुहरु पूर्ववत अवस्थामै रमाइरहेका देखिए ।

चितवन राष्ट्रिय निकुञ्जले गैंडाको चरनका लागि चार सय हेक्टर जति घाँसे मैदान तयार गरेको छ । लकडाउनका बेलामा सबैको ध्यान कोरोनामा नै केन्द्रित हुँदा निकुञ्जभित्र चोर-शिकारीहरुले प्रवेश गर्ने र जंगली जनावर मार्न सक्ने हुँदा सुरक्षा सतर्कता पनि बढाइएको छ ।

निकुञ्जको सुरक्षार्थ बसेको सेनाले यो लकडाउनको अवधिमा झण्डै एक सय व्यक्तिहरु पक्राउ गर्‍यो । आफू सतर्क रहँदै जंगली जीवजन्तुहरुको संरक्षण गरिरहेको सैनिक स्रोत बताउँछ । बटुकदल गणका सेनाको सुरक्षा घेराभित्र जंगली जनावरहरू निर्धक्क छन् ।

देशकै ठूलो चितवन राष्ट्रिय निकुञ्ज घुम्दा जनावरहरुको प्रकृतिसँगको नौकाविहार यथावत देख्न पाइयो । मयूरहरुको नाच, हरिण र मृगहरुको दौड, एकसिङे गैंडाको विचरण सबै पहिलेजस्तै छ ।

राप्ती नदीमा पाइने विश्वकै दुर्लभ घोडियाल गोही माछा ढुकेर बसिरहेको छ । गौरगाई सतर्क मुद्रामा देखिन्छ । निकुञ्जको सिमसार क्षेत्रमा पाइने चराहरू आफ्नै बेगमा छन् । चितवनमा बढ्दै गरेको गर्मीमा धापिएका चराहरु नदीमा पौडिएर पानी छर्कर्दै उफ्रिरहेको दृष्य मनमोहक लाग्छ ।

निकुञ्ज घुम्दा र जीव जनावर देख्दा कोरोनाको त्रास एकैछिन भए पनि भुलिन्छ । फेरि याद आउँछ कोरोनाको , प्रश्न उठ्छ मष्तिकमा । यसरी नै स्वतन्त्र भएर मानिसहरु हिँडडुल गर्न कहिले पाइएला ? मानिसमा फैलिएको कोरोनाको त्रासदी कहिले अन्त्य होला ?

तस्वीरहरू : कोमलचन्द्र भगत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment