Comments Add Comment

राजु खड्का र सन्दीप लामिछाने एउटै टिममा, पवन अग्रवाल वैकल्पिक !

पूर्वकप्तान एलबी क्षेत्री नजरमा नेपालको ‘ड्रिम टिम’

२७ चैत, काठमाडौं । पछिल्लो समय नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको खेल हो क्रिकेट । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट ओडीआई स्टाटस पाएको नेपाल टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पनि शीर्ष २० भित्र नै छ । नेपालले सन् १९९६ मा एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा थालेको हो ।

नेपालले पहिलो खेलमा हार बेहोरेको थियो । नेपालको पहिलो अन्तर्राष्ट्रिय जित भने जापानविरुद्ध थियो । त्यसयता नेपालले सयौं प्रतियोगितामा भाग लिएर थुप्रै उपाधिहरु जितसकेको छ । थुप्रै क्रिकेट स्टारहरु जन्माइसकेको छ ।

नेपालको लागि अन्तर्राष्ट्रिय म्याचमा पहिलो अर्धशतक पवन अग्रवालले हानेका थिए भने पहिलो शतक राजु खड्काले प्रहार गरेका थिए । यसबीचमा महबुब आलम, विनोद दास, शक्ति गौचनलगायतले आ–आफ्नो समयमा उत्कृष्ट प्रदर्शन गरे । अहिलेको टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दिप लामिछानेजस्ता थुप्रै स्टारहरु छन् ।

अब एकछिन कल्पना गरौँ, विगतदेखि वर्तमानसम्मका उत्कृष्ट खेलाडीहरुबाट टप ११ को छनोट गर्ने हो भने कस्तो टिम बन्ला ? ओपनिङ जोडी कसलाई बनाउँदा उपयुक्त होला ? अनि विकेट किपर ? स्पिनरहरु को–को पर्लान् ?

नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय क्रिकेट टिमको उपकप्तान र पछि नेपाली टिमको कप्तानी गरेका लेख बहादुर (एलबी) क्षेत्रीलाई हामीले यस्तो ड्रिम टिमको कल्पना गर्ने अभिभारा सुम्पियौँ । नेपालको महिला क्रिकेट विकासमा समेत महत्वपूर्ण भूमिका खेलेका क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तक समेत सार्वजनिक भएको छ ।

क्षेत्रीले आफ्नो नजरमा बेस्ट ११ र ३ वैकल्पिक गरी कुल १४ खेलाडीको सूची तयार पारेका छन् । उनको ड्रिम टिमभित्र पाँच पूर्वकप्तान समावेश छन् । एक दशक नेपालको कप्तानी गरेका पारस खड्कादेखि पछिल्लो समय ग्लोबल स्टारको छवि बनाएका सन्दीप लामिछानेसम्म क्षेत्रीको टिममा अटाएका छन् ।

क्षेत्रीले स्वयम् आफूलाई पनि बेस्ट ११ मा राखेका छन् । तर, भेट्रान स्पिनर शक्ति गौचन भने उनको टिममा अटाउन सकेनन् । ‘पहिलो अन्तर्राष्ट्रिय टिमदेखि अहिलेसम्मका खेलाडीलाई हेरेर यो टिम सोचेको हुँ । बेस्ट टिम बनाउँदा कोही राम्रा खेलाडी पनि छुट्न सक्छन्,’ क्षेत्रीले भने ।

क्षेत्रीको बेस्ट ११ मा पछिल्लो एक वर्ष राष्ट्रिय टिममा खेलिरहेकामध्ये सात खेलाडी छन् । को–को छन् त नेपालका पूर्व कप्तान एलबी क्षेत्रीको ड्रिम क्रिकेट टिममा ?

१. ज्ञानेन्द्र मल्ल, ओपनर

वर्तमान राष्ट्रिय टिमका कप्तान हुन् ज्ञानेन्द्र मल्ल । गत भदौमा पारस खड्काले एक दशक लामो कप्तानी पदबाट राजीनामा दिएपछि ज्ञानेन्द्र नयाँ कप्तान बनेका हुन् ।

नेपालका क्लासिक ब्याट्सम्यानको छवि बनाएका उनी पहिले तेस्रो नम्बरमा ब्याटिङ गर्थे । तर, तीन वर्षदेखि ओपनिङ गर्दै आएका छन् ।

नेपालको लागि ओडिआईमा पहिलो अर्धशतक बनाउने ज्ञानेन्द्रले टी २० आईमा शतक समेत प्रहार गरेका छन् । टी २० मा शतक प्रहार गर्नेमा पारस खड्कापछि ज्ञानेन्द्र मात्र हुन्।

२. सुवास खकुरेल, ओपनर/विकेटकिपर

सुवास खकुरेल एक समय निकै राम्रा ओपनर मानिन्थे । उनले एउटा अन्तर्राष्ट्रिय शतकसहित नेपालका लागि केही उत्कृष्ट प्रदर्शन गरेका छन् ।

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले सुवासलाई राष्ट्रिय टिममा स्थान दिएका हुन्। नेपालको लागि टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी समेत हुन् उनी ।

सुवासको रुपमा नेपालले एउटा राम्रो विकेटकिपर र ओपनर ब्याट्सम्यान पाएको थियो । तर, पछिल्लो वर्षहरुमा नियमित चोटपछि सुवासको लय उस्तै रहेन । उनी राष्ट्रिय टिममा छुट्न थाले ।

सुवासले पछिल्लोपटक फेब्रुअरीमा नेपालले घरेलु मैदानमै खेलेको विश्वकप लिगअन्तर्गत् ओमान र अमेरिका सम्मिलित ट्राई सिरिज खेलेका थिए ।

पारस खड्का, ब्याटिङ अलराउण्डर

पारस खड्का नाम नै काफी छ । नेपालको राष्ट्रिय टिममा डेढ दशकभन्दा लामो समयदेखि खेलिरहेका उनी नेपालका सर्वाधिक लोकप्रिय क्रिकेटर हुन् । नेपाल क्रिकेट संघ क्यान आइसीसीको निलम्बनमा रहँदा कप्तानदेखि छनोटकर्तासम्मको भूमिका खेले उनले ।

पारसले एक दशक नेपालको लागि कप्तानी गर्दा नेपालले डिभिजन ५ देखि वल्र्ड कपसम्म खेलेको थियो । नेपाललाई पहिलो पटक ओडीआई मान्यता दिलाउँदा पारस नै कप्तान थिए । नेपालको लागि ओडिआई र टी–२०आईमा पहिलो शतक प्रहार गर्ने कीर्तिमान उनको नाममा छ ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध खेलेको पहिलो ओडीआई सिरिजको दोस्रो खेलमा रोमाञ्चक एक रनको जित दिलाउँदा पारसले अन्तिम ओभर बलिङ गरेका थिए ।

शरद भेषावकर, ब्याट्सम्यान

फिनिसरको रुपमा चिनिएका शरद भेषावकरले पनि नेपालको लागि डेढ दशक खेलिसकेका छन् । नेपाललाई पहिलो पटक टी–२० विश्वकप पुर्‍याउने क्रममा शरदले केन्याविरुद्ध गरेको ब्याटिङ सायदै कसैले भुल्न सक्ला ।

उनले अन्तिम ओभरमा नेपाललाई जितका लागि २३ रन चाहिएको अवस्थामा विष्फोटक ब्याटिङ गर्दै जित दिलाएका थिए।

ज्ञानेन्द्रले तेस्रो र पारसले चौथो नम्बरमा ब्याटिङ गर्दा शरदले पाँचौ वा छैटौं नम्बरमा ब्याटिङ गरेका थिए । तर, ज्ञानेन्द्र र पारसले अझै माथि खेल्न थालेपछि शरदले पनि अझै अघि ब्याटिङ गर्न थालेका छन् । उनले तेस्रो नम्बरमा पनि ब्याटिङ धेरै गरेका थिए ।

घरेलु क्रिकेटमा शरद सर्वाधिक सफल कप्तान हुन् । उनले कप्तानी गरेको टिमले ६ पटक फाइनल खेलेको छ भने चारपटक उपाधि नै जितेको छ ।

राजु खड्का, अलराउण्डर

राजु खड्का नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाको टिममा थिए । पछिगएर उनी कप्तान नै बने । राजुको नाममा नेपालको लागि पहिलो शतक हान्ने कीर्तिमान छ । उनले सन् २००३ को इमर्जिङ कपमा भुटानविरुद्ध शतक प्रहार गरेका थिए ।

नेपाली क्रिकेटको पुराना कीर्तिमान खासै भेटिँदैन । तर, राजु खड्का ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट थिए । उनैले सुरुवाती प्रशिक्षण सिकाएका सन्दीप लामिछाने अहिले नेपालको स्टार भइसकेका छन् । राजु ठूला सटहरु हान्न माहिर थिए ।

एलबी क्षेत्री, अलराउण्डर

नेपाली महिला क्रिकेटको जन्मदाताको रुपमा एलबीलाई धेरै चिनिन्छ । आफ्नो समयमा क्षेत्री आफैँ पनि उत्कृष्ट क्रिकेटर थिए । पछिल्लो समय उनको पुस्तक पनि बजारमा आएको छ ।

नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा उत्तम कर्माचार्यको सहायक रहेका क्षेत्री त्यसपछि कप्तान नै बने । यस ड्रिम टिममा क्षेत्री एक्ला बायाँ हाते खेलाडी हुन् । उनी लेफ्ट आर्म अर्थोडक्स बलिङ गर्थे ।

करण केसी, बलिङ अलराउण्डर

करण केसीले खेलेको एउटा इनिङ सायदै बसेले बिर्सेका होलान् । सन् २०१८ फेब्रुअरी १४ का दिन नामिबियामा भएको डिभिजन टु अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाल हारको संघारमा पुगेका बेला केसीले उद्दार गरेका थिए ।

त्यही एउटा इनिङ्सले करण र नेपाली क्रिकेटको भाग्य नै परिवर्तन गर्‍यो ।

विश्वकप छनोटमा पुग्न सो म्याच नेपाललाई जित अत्यावश्यक थियो । हार नजिक पुगिसकेको अवस्थामा करणले १० नम्बरमा आएर अविश्वसनीय पारी खेल्दै नेपाललाई १ विकेटको जित दिलाए । उनले अविजित ४२ रन बनाउँदा ३१ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

सायद उक्त खेल नेपालले हारेको भए अहिले नेपाली क्रिकेट कहाँ हुन्थ्यो होला भन्न सकिँदैन । करणको त्यो इनिङले नेपाललाई ओडीआईको बाटोसम्म पुर्‍यायो । उमेर समूहमा नखेली करण सिधै राष्ट्रिय टिममा परेका थिए ।

विनोद दास, बलिङ अलराउण्डर

नेपालको लागि उमेर समूह हुँदै राष्ट्रिय टिमको कप्तानी गरेका विनोद दास हाल प्रशिक्षकको रुपमा सक्रिय छन् । विनोदले झण्डै पाँच वर्ष नेपालको कप्तानी गरे । त्यसअघि उनले अन्डर १९ टिमको कप्तानी गर्दा नेपाललाई विश्वकपको प्लेट च्याम्पियनसीपमा उपविजेता बनाएका थिए ।

हाल यू–१९ पुरुष राष्ट्रिय टिमको प्रशिक्षक रहेका विनोदले महिला राष्ट्रिय टिमको प्रशिक्षण समेत सम्हालिसकेका छन् । यस्तै, उनी राष्ट्रिय टिमको बलिङ प्रशिक्षक समेत बनेका थिए ।

विनोद एक फास्ट बलर हुन् । उनी र महबुब आलम एकसाथ टिममा रहँदा नेपालको फास्ट बलिङ निकै बलियो थियो । आवश्यक पर्दा विनोदले ब्याटबाट पनि योगदान दिनसक्थे ।

सोमपाल कामी, बलिङ/अलराउन्डर

सोमपाल कामी अहिले नेपालको मुख्य फास्ट बलर मानिन्छन् । तर, चोटका कारण उनले नेपालले खेलेको पछिल्लो दुई प्रतियोगिता गुमाए । घरमै भएको ओडीआई सिरिज समेत सोमपालले दर्शक बनेर हेरे ।

सोमपालको ब्याटिङ पनि राम्रो छ । नेपालले पहिलो ओडीआई सिरिज खेल्दा सोमपालले नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । नेपालले दोस्रो ओडिआई सिरिज युएईसँग खेल्दा सोमपालले एकै खेलमा ५ विकेट लिएका थिए ।

नेपाल पहिलोपटक टी–२० विश्वकपमा छनोट भएपछि सोमपालको आगमन राष्ट्रिय टिममा भएको थियो । करण जस्तै सोमपाल पनि उमेर समूह नखेली सिधै राष्ट्रिय टिममा परेका थिए ।

सन्दीप लामिछाने, स्पिनर

अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक चर्चित नेपाली खेलाडी हुन् सन्दीप लामिछाने । पछिल्लो समय नेपाललाई विश्वभर चिनाउन उनको महत्वपूर्ण भूमिका छ । विश्वका उत्कृष्ट र हस्ती क्रिकेटरसँग पनि सन्दीपले ड्रेसिङ रुम सेयर गर्ने र खेल्ने अवसर पाइसकेका छन् ।

भारतको आइपीएलदेखि अष्ट्रेलियाको बीबीएल सम्म खेलेका सन्दीप टी२० क्रिकेटमा एक सय विकेट लिने पहिलो नेपाली खेलाडी समेत हुन् । १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यु गरेका उनले छोटो समयमै छलाङ मार्न सफल भए ।

उनले गत फेब्रुअरीमा घरेलु मैदानमा भएको ट्राई सिरिजमा अमेरिकाविरुद्ध एकै खेलमा ६ विकेट लिएका थिए । यो नेपाली खेलाडीले ओडीआईमा एकै खेलमा लिएको सर्वाधिक विकेट संख्या हो ।

वसन्त रेग्मी, बलर

नेपाली क्रिकेटका क्राइसिस म्यान अर्थात् संकटमोचक । जब जब नेपाललाई संकट आइपर्छ त्यतिबेला वसन्त रेग्मीले उद्धार गरेका छन् । सुरुमा अलराउण्डर भूमिकामा खेल्ने वसन्त पछिल्लो समय पूर्णकालीन स्पिनर बने ।

यी बायाँ हाते स्पिनरले आइसीसी वल्र्ड क्रिकेट लिग संरचनामा एक सय विकेट लिने उपलब्धि हासिल गरेका छन् । नेपालका लागि करिब डेढ दशक खेलिसकेका वसन्तले बलिङमा मात्र नभएर ब्याटिङमा समेत योगदान दिएका छन् ।

नेपालले यू–१९ विश्वकपको प्लेट च्याम्पियनसीप जित्दा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

वैकल्पिक खेलाडी

गणेश बहादुर शाही, विकेटकिपर ब्याट्सम्यान

गणेशबहादुर शाही पनि नेपालको पहिलो अन्तर्राष्ट्रिय टिमका सदस्य हुन् । क्षेत्री र शाहीले राष्ट्रिय टिमबाट सँगै खेले । क्षेत्रीकै शब्द सापट लिने हो भने उनी आफ्नो जमानाका उत्कृष्ट खेलाडी थिए । विकेटकिपिङ समेत उनको राम्रो थियो ।

पवन अग्रवाल, ब्याट्सम्यान

नेपालको राष्ट्रिय टिमका अर्का पूर्व कप्तान हुन्, पवन अग्रवाल । नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक उनैले प्रहार गरेका थिए ।

पहिलो अन्तर्राष्ट्रिय टिमका सदस्य रहेका पवन त्यसपछि राष्ट्रिय टिमका कप्तानसम्म बने । नेपाल क्रिकेट संघ क्यानमा समेत सदस्य रहिसकेका उनी हाल बैङ्किङ क्षेत्रमा जागिरे छन् ।

दीपेन्द्र सिंह ऐरी, ब्याटिङ अलराउण्डर

वर्तमान राष्ट्रिय टिमका उपकप्तान हुन्, दीपेन्द्र सिंह ऐरी । सन् २०१७ मा उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यो बेला अनौंठो संयोग थियो ।

तत्कालीन कप्तान पारस खड्का पूर्ण रुपमा फिट नभएपछि दीपेन्द्रले विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्ध घरेलु मैदानमा सबै पोजिसनमा ब्याटिङ गरेका थिए ।

उनले केन्याविरुद्ध उत्कृष्ट ब्याटिङ समेत गरे । त्यसपछि प्रशिक्षक जगत टमाटाले उनलाई मिडल अर्डरका नयाँ खम्बाको रुपमा विश्लेषण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment