Comments Add Comment

अन्तर्राष्ट्रिय विद्यार्थी हाम्रै समुदायका सदस्य हुन् : अस्ट्रेलिया

अस्ट्रेलियाका शिक्षामन्त्री डन तेहान

२७ चैत, काठमाडौं । अस्ट्रेलियाका शिक्षामन्त्री डन तेहानले अस्ट्रेलियामा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थी आफ्नै समुदायको सदस्य भएको बताएका छन् । बुधबार मन्त्रालयमार्फत एक विज्ञप्ति जारी गर्दै उनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई साथी, सहपाठी, सहयात्री र हाम्रो समुदायको एक सदस्य रहेको उल्लेख गरेका हुन् ।

तेहानले दिएको सन्देशमा कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरु प्रभावित बनेको उल्लेख छ । त्यसका लागि सरकारले १२ महिनाभन्दा लामो समयदेखि अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरुको ‘सुपरएन्युएसन’ कोष प्रयोग गर्न पाउने घोषणा गरिसकेको तेहानले बताएका छन् । यो अवकाशपछि मात्र पाउने गरी अनिवार्य रुपमा विद्यार्थीको आम्दानीबाट केही प्रतिशत कटौती गरी जम्मा गरिएको कोष हो ।

अस्ट्रेलियाले यसअघि नै एकवर्ष पनि नभएका विद्यार्थीलाई सकेसम्म आफ्नै मुलुक फर्किन सुझाव दिएको थियो । अहिले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४० घण्टासम्म काम गर्न पाउँछन् । तर, यो अवधिमा भने वृद्ध मानिसहरूको स्याहार तथा स्वास्थ्य सेवामा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि भने काम गर्न पाउने समय बढाइएको छ ।

यसले उनीहरूलाई संकटको समयमा केही सहयोग पुग्नसक्ने सरकारको अपेक्षा छ । प्रधानमन्त्री स्कट मौरिसनले पनि उनीहरुका लागि यो काम गर्ने अवसर रहेको बताएका थिए ।

तेहानका अनुसार सरकारले कोभिड–१९ को असर कम गर्न विश्वविद्यालयहरु र अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रसँग सहकार्य गरिरहेको छ । साथै अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्ने सिर्जनात्मक उपायको पनि खोजी भइरहेको छ । उनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो शिक्षा प्रदायकले प्रदान गरेको मानसिक स्वास्थ्य सहयोगको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment