Comments Add Comment

कोरोना टेष्टको संख्यामा ‘उल्लेख्य’ सुधार, सम्भावित संक्रमितको रिपोर्ट नेगेटिभ

२६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए/नभएको पत्ता लगाउने गरी ल्याब टेष्ट संख्यामा वृद्धि भएको छ । यसलाई जनस्वास्थ्य विज्ञहरुले उत्साहजनक सुधार भनेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाअनुसार बुधबार मात्र सबै ल्याबमा गरेर २५६ जनाको परीक्षण गरिएको छ । र, सबैको रिजल्ट नेगेटिभ आएको छ । यस्तै १७९ वटा नमुना परीक्षणको नतिजा आउन बाँकी नै छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र १६९ टेष्ट भएको छ, जसमा सबै रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको १८ टेष्टको नतिजा नेगेटिभ आएको छ भने ४० वटाको नजिता आउन बाँकी छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ टेष्ट भएको छ भने ८२ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ ।

यसअघि सबै स्थानमा गरेर दिनमा सयभन्दा कम संख्यामा परीक्षण हुने गरेको थियो । र, सुस्त गतिमा टेष्ट गरेको भन्दै विज्ञहरुले आलोचना गरेका थिए ।

अहिले कोरोना संक्रमण टेष्टको संख्यामा भएको वृद्धिलाई जनस्वास्थ्य विज्ञ उत्साहजनक सुधार मान्छन् । उनले आलाइनखबरसँग भने, ‘एकैदिनमा यति धेरै टेष्ट हुनु उत्साहजनक सुधार हो । तर पर्याप्त होइन किनभने हामीले अझै एक्टिभ केस पत्ता लगाउनुपर्छ । र, त्यसका लागि समुदायमा जानुपर्छ ।’

नमुना संकलन पनि बढ्यो

पछिल्लो दुई दिनमा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनले पनि गति पाएको छ । मन्त्रालयकाअनुसार अछाम, जुम्ला र सुर्खेतबाट ८०२ वटा नमुना संकलन गरिएको छ । यस्तै डोटीबाट ३३० नमुना संकलन गरिएको छ भने कैलाली र कञ्चनपुरबाट १९६ वटा नमुना संकलन भएको छ ।

अहिले स्थानीय तहहरुले बनाएका क्वारेन्टाइनमा बसेकाहरुको नमुना संकलन गरिएको हो ।

सम्भावित संक्रमितको रिपोर्ट नेगेटिभ

यसैबीच इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अहिलेसम्म कोरोना संक्रमण देखिएका नौ जनाको कन्ट्याक ट्रेसिङको काम सकिएको बताएको छ । महाशाखाका निर्देशक वासुदेव पाण्डेले भने, ‘कन्ट्याक ट्रेसिङसँग संकलन गरिएका नमुनाहरुको परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण भेटिएन ।’

पाण्डेकाअनुसार भारतको मुम्बइबाट आएका दुई संक्रमित र धनगढीको स्थानीय महिलाको प्रत्यक्ष सम्पर्कमा आएका गरेर ३२ जनाको कन्ट्याक ट्रेसिङ गरिएको थियो । भारतबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष सीधै क्वारेन्टाइनमा गएका कारण धेरै मानिससँग सम्पर्क नभएको देखिएको छ ।

तर दोस्रो संक्रमितसँगै यात्रा गरेर आएका दुई जना अझै सम्पर्कमा आएका छैनन् । निर्देशक पाण्डेले भने, ‘दोस्रो संक्रमितसँगै यात्रा गरेर आएका दुई जना सम्पर्कमा आएका छैनन् । तर उहाँहरु आएको दुई साताभन्दा बढी भएकाले स्वस्थ नै हुनुहुन्छ होला ।’

संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका अरुमा भने संक्रमण नदेखिएको भन्दै उनले भने, ‘आज संकलन गरिएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आयो भने जोखिम कम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment