+
+
Shares

बाल्टिमोरमा नेपालीपनको उत्सव : बानाको सडक महोत्सवमा झाँकीदेखि लोकसंगीतसम्म

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १९:५०

बाल्टिमोर (अमेरिका) । नेपाली कला, संस्कृति, परम्परा र मौलिकताको उत्सवका रूपमा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आठौँ वार्षिक नेपाल स्ट्रिट फेस्टिभल सम्पन्न भएको छ ।

नेपाली समुदायलाई आफ्नो भाषा, कला, संस्कृति र परम्परासँग जोड्नुका साथै अमेरिकी समुदायमाझ नेपालको सांस्कृतिक पहिचान प्रस्तुत गर्ने उद्देश्यले आयोजित महोत्सवमा विभिन्न नेपाली संघ-संस्था, स्थानीय समुदाय तथा अमेरिकी नागरिकको सहभागिता थियो ।

बाना अध्यक्ष जितेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अमेरिकाका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरण प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको सञ्चालन सलिन बस्नेतले गरेका थिए । महोत्सवको संयोजन ध्रुब वन्त र सहसंयोजन रीना केसीले गरेका थिए ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि नेपालमा बाढीका कारण ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा बाढीबाट प्रभावित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाको कुशलता र परिवारसँग उनीहरूको पुनर्मिलनको काम समेत गरिएको थियो ।

कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिले नेपाली समुदायले आयोजना गर्ने यस्ता सांस्कृतिक गतिविधिले नेपाली र अमेरिकी समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए । कार्यक्रममा मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारी, मेरिल्यान्ड हाउस अफ डेलिगेट्सका उम्मेदवार सतीश चापागाईं लगायत विभिन्न नेपाली सामाजिक संघ(संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

औपचारिक कार्यक्रमको अन्त्यमा बाना अध्यक्ष जितेन्द्र गुरुङले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेपाली समुदाय, स्थानीय सरकारका प्रतिनिधि, संघ–संस्था, स्वयंसेवक तथा प्रत्यक्ष(अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरे । समुदायको साथ र स्थानीय सरकारको सहयोगकै कारण महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको भन्दै उनले सबै सहयोगीप्रति धन्यवाद ज्ञापन गरे ।

महोत्सवमा विभिन्न नेपाली संघ-संस्थाले आफ्नो मौलिक संस्कृति र पहिचान झल्काउने झाँकी प्रस्तुत गरेका थिए । नेपाली भेषभूषा, कला, संस्कृति र परम्परासहित प्रस्तुत गरिएका झाँकीले बाल्टिमोरको सडकमा नेपालकै सांस्कृतिक वातावरणको झल्को दिएको थियो ।

महोत्सवस्थलमा नेपाली स्वादका विभिन्न मौलिक परिकारका स्टल पनि राखिएका थिए । नेपाली खानाका परिकार, कला तथा सांस्कृतिक सामग्रीका स्टलले सहभागीलाई अमेरिकामै नेपालीपनको अनुभूति गराएको थियो ।

त्यस्तै, नेपालबाट आएका तथा नेपाली संगीत क्षेत्रमा परिचित लोकगायकको सांगीतिक प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाएको थियो । नेपाली गीत–संगीतमा दर्शक रमाएका थिए ।

महोत्सवको अर्को आकर्षण अमेरिकामा जन्मे-हुर्केका नेपाली बालबालिकाले प्रस्तुत गरेका मौलिक नेपाली नृत्य तथा सांस्कृतिक प्रस्तुति थिए । नयाँ पुस्ताका बालबालिकालाई नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोड्ने उद्देश्यले प्रस्तुत गरिएका नृत्यले अभिभावक तथा दर्शकको ध्यान खिचेको थियो ।

प्रवासी नेपाली समुदायका लागि यस्ता महोत्सव मनोरञ्जनमा मात्र सीमित छैनन् । यसले विदेशमा रहेर पनि मातृभूमिको सम्झना, नेपाली संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा सांस्कृतिक हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमको काम गर्दै आएको छ ।

अमेरिकामा जन्मे–हुर्केका नेपाली बालबालिकालाई आफ्नो पुख्र्यौंली देशको कला, संस्कृति, भेषभूषा, परम्परा र मौलिकतासँग परिचित गराउँदै उनीहरूमा नेपालीपनको अनुभूति गराउन पनि यस्ता कार्यक्रम प्रभावकारी बन्दै आएका छन् ।

बानाले आयोजना गरेको आठौँ नेपाल स्ट्रिट फेस्टिभलले नेपाली समुदायको सांस्कृतिक विविधता र सामुदायिक एकतालाई प्रस्तुत गर्दै अमेरिकी भूमिमा नेपाली पहिचान र संस्कृति प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण अवसर प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?