Comments Add Comment

जापान र चीन उड्दै नेपाल एयरलाइन्स   

२८ चैत, काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइड बडी ए-३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दैछन् । निगमका यी दुवै जहाजको व्यावसायिक उडान नभइ चार्टर्ड र कार्गो उडान मात्रै हुन् ।

जापानले निगमको वाइडबडी जहाज चार्टर्ड गरी नेपालमा रोकिएका दुई सयभन्दा बढी नागरिक स्वदेश लैजान लागेको छ भने निगमको अर्को वाइडबडी जहाज मेडिकल सामग्री लिन ग्वाङ्जाओ उड्ने तयारीमा रहेको हो ।

शुक्रबार राति ८ बजे निगमको जहाज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने कार्यतालिका रहेको अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

यो जहाज जापानी नागरिकलाई गन्तव्यमा पुर्‍याएर शनिबार नेपाल फर्कने जनाइएको छ । निगमको जहाज जापानी नागरिकलाई लिएर शुक्रबार राति त्यसतर्फ जान लागेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार शुक्रबार नै निगमको अर्को वाइड बडी जहाज पनि औषधिजन्य सामग्री लिन ग्वाङ्जाओ उड्दैछ ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा सुरु गरेको थियो । कोभिड–१९ को संक्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगित गरिएको छ । निगमले जापानसहित नौ गन्तव्यमा आफ्ना दुई वाइड बडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमको अर्को वाइडबडी जहाज आज साँझ ६ बजे चीनको ग्वाङ्जाओ उड्नेछ ।

आजै चार अन्तर्राष्ट्रिय उडान    

चैत ११ देखि बैशाख ३ गतेसम्म देशभर लकडाउन घोषणा गरिएको छ । यो अवधिमा चैत १० देखि बैशाख १५ सम्म चरणवद्ध रूपमा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ ।

तर, अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चार्टर्ड तथा केही कार्गो उडान भइरहेका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई विभिन्न देशले जहाज चार्टर्ड गरी स्वदेश फर्काइरहेका छन् । शुक्रबारमात्रै चार अन्तर्राष्ट्रिय उडान हुँदैछन् ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले लकडाउनको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त रहेको र शुक्रबार मात्रै चार उडान हुने बताए । शुक्रबार नै बेलायतको टीटान एयरवेजले दुई सय ४२ ब्रिटिस नागरिक लिएर गन्तव्यतर्फ उडेको छ । बेलायतले नेपाल स्थित दूतावासको समन्वयमा जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको हो ।

त्यसैगरी कोरियन एयरले पनि शुक्रबार आफ्ना नागरिक लैजाने सबै बन्दोबस्त गरिसकेको छ । बेलायतले यसअघि चैत २६ गते पनि सोही जहाजमार्फत आफ्ना करिब दुई सय ५० नागरिक स्वदेश फिर्ता लगेको थियो । कोरियन एयरको उडानमार्फत उनीहरुलाई घर फर्काउन लागिएको हो । लकडाउनको अवधिमा कोरियन एयरको यो दोस्रो उडान हो ।

लकडाउनको अवधिमा दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् । चैत १० देखि आजसम्म जम्मा २४ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ । यी उडानमार्फत तीन हजार पाँच सयभन्दा बढी विदेशी घर फर्किएका छन् । सबैभन्दा बढी उडान गर्नेमा कतार एयरवेजको नौ, नेपाल एयरलाइन्सको छ वटा उडान भएका छन् ।

त्यस्तै, कोरियन एयरको दुई, टीटान एयरको दुई तथा मलेसिया, मालिन्दो, इत्तिहाद र चेक रिपब्लिकनको समान एक–एक उडान भएका छन् ।

यसैबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्युजिल्याण्डलगायतका तथा मलेसिया, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौ‌ं ल्याएर स्वदेश फिर्ताका लागि सहजीकरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment