Comments Add Comment

९ जनाले ठड्याउँदैछन् धरहरा !

धरहरा पुनर्निर्माणमा कोरोनाको असर

२६ चैत, काठमाडौं । गत माघसम्म सरकारको दाबी थियो ‍- ऐतिहासिक धरहराको पुनर्निर्माण आगामी कात्तिकमा सकिनेछ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणका अधिकारीहरुले पनि धरहरा तयार हुन अब एक वर्ष पनि नलाग्ने दाबी गरेका थिए ।

लकडाउनका बेला धरहरा पुनर्निर्माणको अवस्थाबारे बुझ्न हामी बुधबार सुन्धारातर्फ लाग्यौँ । सहिद गेटबाट अगाडि लाग्नेबित्तिकै स्काभेटरको आवाज आयो । सडक सुनासान थियो, स्काभेटरको आवाजले स्पष्ट बनाइहाल्यो, धरहराको काम जारी रहेछ ।

टुँडिखेलतर्फको द्वार खुल्लै थियो । टलक्क टल्किने ज्याकेट र टाउकोमा हेलमेट लगाएका मजदुरहरु कार्यस्थलमा भेटिए । गेटमा दुई जना सुरक्षागार्ड तैनाथ थिए ।

धरहराको पुननिर्माणको अवस्थाबारे रिपोर्टिङ गर्न पुगेको अनलाइनखबरको टोलीलाई माथिबाट अनुमति नलिई फोटो खिच्न नदिने सुरक्षा गार्डले बताए । त्यहीँबाट हामीले धरहरा पुनर्निर्माणमा खटिएका प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुनर्निर्माण विज्ञ राजुमान श्रेष्ठलाई फोन गर्‍याैँ । उनीहरु दुबैको अनुमतिपछि बल्ल थर्मल गनबाट ज्वरो नापेर हामीले भित्र प्रवेश गर्‍याैँ ।

भित्र धमाधम काम भइरहेको थियो । एउटा स्काभेटरले काम गरिरहेको थियो । एउटा टोली फलामको काम गरिरहेको थियो । कोही सामान ओसारपसार गर्दै थिए त कोही धुलोमा पानीले छ्याप्दै थिए ।

‘लकडाउनपछि काम रोकिएको थियो, अस्तिदेखि बल्ल सुरु भएको’ एक मजदुरले भने, ‘तर काम गर्ने सबै गाउँ गइसके,यहाँ हामी मात्र छौँ ।’
लकडाउन सुरु हुनुभन्दा अगाडि त्यहाँ एक सय ५० भन्दा बढी मजदुर कार्यरत थिए । लकडाउन सुरु भएसँगै सबै आ-आफ्नो बाटो लागे । काठमाडौंमै परिवार हुनेहरु परिवारसँगै बसेका छन् ।

‘कामभन्दा स्वास्थ्य ठूलो भन्दै सबैजना हिँडे। धेरैजसो त गाउँ पुगिसकेका छन्’ त्यहाँ कार्यरत मजदुरले अनलाइनखबरसँग भने, ‘कोही यतै छन्, सम्पर्क हुन्छ ।’

‘अनि किन तपाईंहरु गाउँ जानुभएन त ?’ हाम्रो प्रश्नले ती मजदुरलाई केही भावुक बनायो ।

‘अरु बाठा थिए, गाडी भेटेछन्, मैले जान मन भएर पनि गाडी पाउनुपर्‍यो नि’ उनले भने, ‘म त यहीँ टुँडिखेलमै बस्छु, अरु साथीहरु पनि हुनुहुन्छ ।’

त्यहाँ भेटिएका केही मजदुर टुँडिखेलमै बस्ने रहेछन् । केही भने साँझ कोठामा जाने गरेका छन् । ‘बाहिर हिँडडुल गर्न पाइँदैन, यहीँ बस्यो, यहीँ खायो’ अर्का मजदुरले भने, ‘अस्ति नै काम नहुँदा त अब पैसा पाइँदैन भन्ने चिन्ता थियो, अब काम सुरु भयो, पैसा पाइन्छ भन्नेमा ढुक्क छौँ, काम त गर्नैपर्‍याे नि ।’

प्राधिकरण भन्छ– लकडाउनलगत्तै काम रफ्तारमा

प्राधिकरणका पुनर्निर्माण विज्ञ राजुमान मानन्धर लकडाउनले कामहरु अवरुद्ध भएको बताउँछन् । उनका अनुसार धरहरा पुनर्निर्माणमा सप्तरी तथा कैलालीका धेरै मजदुर खटिएका थिए । पूर्वदेखि पश्चिम नेपालसम्मका मजदुरहरु कोरोनाको त्रासपछि गाउँ गएका कारण काम अवरुद्ध भएको हो । लकडाउन खुलेपछि उनीहरु आउने मानन्धरको विश्वास छ ।

‘अहिले यहाँ भएका सबै मजदुरहरु टुँखिखेलमा बसेका छन्। तर, जनशक्ति एकदमै कम छ’ उनले भने, ‘अहिले भएकाबाट धेरै काम हुन सक्दैन, लकडाउन खुलेपछि फुलफेजमा काम हुनेछ ।’

अहिले त्यहाँ रहेका मजदुरहरुले सामान्य काममात्रै गरेको मानन्धरले बताए । अब चाँडै लकडाउन खुले पनि निर्धारित समयमा भने काम सम्पन्न नहुने उनले बताए ।

यद्यपि, लकडाउन खुलेसँगै सबै मजदुरहरुलाई बोलाएर तीब्र गतिमा काम अघि बढाउने मानन्धर बताउँछन् ।
०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइन। तर, भित्र सुविधासम्पन्न हुने गरी बनाउन लागेको छ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैँचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ ।

वि.सं. १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो । भूकम्पले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो ।

अब धरहरामा भर्‍याङ चढेर मात्र होइन, लिफ्टबाट पनि उक्लिन सकिनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछन् । प्राधिकरणकाअनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ ।

बेसमेन्टमा तलमाथि गर्न लिफ्ट हालिने छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ ।

म्युजियम जाने बाटोमा ५० फिट अग्लो वाटर फाउन्टेन हुनेछ । नयाँ बन्ने धरहरा अपाङ्गमैत्रीसमेत हुने प्राधिकरणले जनाएको छ ।

तस्वीर र भिडियाे : शंकर गिरी /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment