News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजका युवा स्पीनर रन्जित कुमारले विराटनगर किंङ्सविरुद्धको खेलमा ५ विकेट लिएर टिमलाई दोस्रो जित दिलाए।
- इंग्ल्यान्डका ब्याटर रवि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाएर चितवनको ब्याटिङलाई मजबुत बनाए।
- विराटनगरको अपराजित यात्रामा चितवनले ब्रेक लगाएको छ र अंकतालिकामा दोस्रो र तेस्रो स्थानमा क्रमशः विराटनगर र चितवन छन्।
१० मंसिर, काठमाडौं । चितवन राइनोजका युवा स्पीनर रन्जित कुमारले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुरुवाती दुई खेल खेलेका थिएनन् । उनले बेन्चमै बसेर खेल हेरेका थिए ।
चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । तर तेस्रो खेलमा आएर रञ्जितले खेल्ने अवसर पाए ।
१९ वर्षीय बायाँ हाते स्पीनरले बुधबार भएको विराटनगर किंङ्सविरुद्धको खेलमा पाएको त्यो अवसरलाई खेर फालेनन्, मज्जैले सदुपयोग गरे ।
उनले खेलमा एक्लैले ५ विकेट लिएर चितवनलाई दोस्रो सिजनको दोस्रो जित दिलाए । रन्जितको त्यो सानदार बलिङमा यसअघि अपराजित रहेको विराटनगरको केही लागेन । रन्जितकै बलिङमा विराटनगरको ३ खेलको अपराजित यात्रामा ब्रेक समेत लागेको छ ।

यसअघि सुरुवाती तीन खेलमा लगातार जित हात पार्दै यस सिजन उत्कृष्ट सुरुवात गरेको विराटनगर चितवनमाथि हावी हुन सक्ने धेरै अनुमान थियो । तर मैदानमा भने फरक नतिजा आयो ।
ब्याटिङमा इंग्लिस खेलाडी रवि बोपाराको सानदार अर्धशतकपछि रन्जितले बलिङमा चितवनले विराटनगरमाथि ४८ रनको प्रभावशाली जित हात पारेको हो ।
शानदार बलिङ गरेका रञ्जित कुमार नै ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
रन्जितको सनसनीपूर्ण बलिङ
चितवनले दिएको १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन मैदान प्रवश गरेको विराटनगरका ओपनिङ ब्याटर लोकेश बम दोस्रो ओभरमै आउट भए ।
त्यसपछि विराटनगरका लागि पहिलो खेल खेल्दै गरेका अस्ट्रेलियन साम हिजलेट ब्याटिङमा आए । तेस्रो ओभरमा अर्का ओपनर जर्ज मन्से पनि आउट भएपछि विराटनगर दबाबमा आइसकेको थियो ।
अनि खेलको पाँचौं ओभर लिएर आए रञ्जित कुमार । त्यसपछि उनको धमाका सुरु भयो । त्यसपछि लगातार ५ विकेट उनकै नाममा रह्यो ।
दोस्रो बलमा हिजलेटले छक्का प्रहार गरेपनि लगत्तै अर्को बलमा एलबीडब्लु आउट गराए । त्यही ओभरको पाँचौं बलमा बसिर अहमदलाई पनि शून्यमै आउट गरे ।
पहिलो ओभरमै दुई ठुला सफलता हात पारिसकेका रञ्जितले आफ्नो दोस्रो एवं इनिङको सातौं ओभरको अन्तिम बलमा नरेन भट्टलाई पनि आउट गरे ।
त्यसपछि तेस्रो ओभरमा कुनै विकेट नलिएका रञ्जितले अन्तिम ओभरमा फेरि २ विकेट लिए र विराटनगरको सम्भावना समाप्त पारिदिए । उनले इनिङको ११औं ओभरमा नारायण जोशी र सूर्य तामाङलाई आउट गर्दै ५ विकेट पूरा गरे । ५ विकेट लिएपछि मैदानलाई ढोगे पनि ।

त्यसबेला विराटनगर ११ ओभरमा ५४-७ को दयनीय अवस्थामा पुगिसकेको थियो । त्यसपछि मर्चेन्ट डे लाङ र प्रतिश जीसीले केही ठूला शटहरू खेलेपनि ढिला भइसकेको थियो ।
खेलपछि कुरा गर्दै रञ्जितले आजको खेलमा राम्रो गर्छु भन्ने सोचेर मैदान प्रवेश गरेको बताए । ‘मेरो प्लान क्लियर थियो, तिमी ढुक्क भएर बलिङ गर भन्नुभयो दाईहरूले पनि’ उनले भने, ‘टिमले धेरै सपोर्ट गर्नुभएको थियो, त्यसका लागि पनि धन्यवाद दिन चाहन्छु।’
‘आज विहानैदेखि मेरो दिन हो भन्ने भाइब्स आइरहेको थियो, त्यही अनुसार प्रदर्शन पनि भयो’ उनले थपे ।
रञ्जितले टिममा भएका अनुभवी विदेशी खेलाडीले पनि सपोर्ट गर्ने गरेको र केही मिस्टेकहरू हुँदा सम्झाउने गरेका कारण धेरै साथ मिलेको उल्लेख गरे ।
ब्याटिङमा बोपाराको ‘कन्सिस्टेन्सी’
इंग्ल्यान्डका अनुभवी मिडल अर्डर ब्याटर रवि बोपाराले आफ्नो कन्सिस्टेन्ट ब्याटिङ प्रदर्शन आजको खेलमा पनि देखाए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनका लागि उनले अर्धशतक प्रहार गर्दै राम्रो योगफलमा पुर्याएका थिए ।
सुरुमै जीवनदान पाएका उनले त्यसको भरपुर फाइदा उठाए । ४ रनमा खेलिरहँदा प्रतिश जीसीले डिप मिडविकेटमा उनको क्याच छाडेका थिए । त्यसपछि उनले थप ६१ रन जोडे । उक्त क्याच ‘ड्रप’ विराटनगरका लागि महँगो साबित भयो ।

बोपाराले यस सिजनको तेस्रो खेल खेल्दा लगातार तीन अर्धशतक बनाएका हुन् । समग्रमा उनको यो चौथो अर्धशतक समेत हो । गत संस्करणको प्लेअफमा कर्णाली याक्ससँग पराजित हुँदा पनि उनले अर्धशतक बनाएका थिए । त्यसपछि उनले यस संस्करणको सबै खेलमा अर्धशतक बनाएका छन् । यसले उनको कन्सिस्टेन्सी अनि टिमका लागि उनी कति महत्वपूर्ण छन् भन्ने देखाउँछ ।
१०औं ओभरमा उनको क्याच ड्रप हुँदा चितवन ७३-३ को अवस्थामा थियो र त्यो स्कोर ७३-४ बन्न सक्थ्यो । त्यसले खेलको मोमेन्टम परिवर्तन गरेर विराटनगरको पक्षमा ल्याउन सक्थ्यो ।
विराटनगरको अपराजित यात्रामा ‘ब्रेक’
विराटनगरले यस खेल खेल्नुअघि लगातार तीन खेल जितेर आएको थियो । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको विराटनगरले त्यसपछि काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सलाई हराएको थियो।
तर चौथो खेलमा आएर विराटनगर चितवन राइनोजविरुद्ध ‘आउटप्लेड’ भएको छ । अपराजित यात्रामा पनि ‘ब्रेक’ लागेको छ, त्यो मोमेन्टम चितवनले तोडिदिएको छ । त्यसको मुख्य दुई नायक रञ्जित कुमार र बोपारा नै रहे ।

विराटनगरका मुख्य प्रशिक्षक धम्मिकाले ब्याटिङ राम्रो नहुँदा हार बेहोरेको बताए । ‘आज हाम्रो दिन थिएन, सुरुवातदेखि नै ब्याटिङ राम्रो भएन, सबैले त्यसको जिम्मेवारी लिनुपर्छ’ उनले भने ।
धम्मिकाले एक नराम्रो खेलले मात्र केही नबिग्रिएको र केही कुराहरूमा सुधार गरेर अर्को खेलमा ‘बाउन्स ब्याक’ गर्ने बताए ।
अंकतालिकामा ४ खेलमा ६ अंक भएको विराटनगर दोस्रो स्थानमा यथावत् छ भने चितवन राइनोज ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया 4