Comments Add Comment

एकचोटि प्रधानमन्त्रीजीसँग भेट्नैपर्‍यो भन्ने दबाव आयो : डा. सुरेन्द्र यादव

'नयाँ पार्टी बनाउन सजिलो छैन, थ्रेसहोल्ड पनि छ'

११ बैशाख, काठमाडौं । पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले जनकपुरबाट रातारात काठमाडौं ल्याएका सांसद डा. सुरेन्द्र यादवले राजपा र समाजवादी पार्टी एक भएकोमा खुशी व्यक्त गरेका छन् ।

मधेसका जनताको मुद्दा उठाउँदै आएका पार्टीहरु एक हुनुपर्छ भन्ने आफ्नो सपना पूरा भएको भन्दै यादवले खुशी प्रकट गरेका हुन् ।

पार्टी एकीकरण भई निर्वाचन आयोगमा दर्ता भइसकेपछि सांसद यादवले भने, ‘मेरो सपना थियो, त्यो साकार भएको छ, आजको दिनमा तीनवटा पार्टीहरु एक हुनु योभन्दा राम्रो मेरा लागि अरु के होला र ।’

प्रधानमन्त्री केपी ओलीले भेट्न खोज्नुभएको छ भन्दै झुक्याएर गलत मनसायले जनकपुरबाट राति ३ बजे काठमाडौं ल्याइएका सांसदले नेकपाको कब्जाबाट फुत्केपछि हिमालय टिभीलाई दिएको राजनीतिक प्रतिक्रिया यस्तो छ-

यो जुन अध्यादेश ल्याइएको छ, हाम्रो प्रधानमन्त्रीको पनि पार्टीभित्रै स्पष्टीकरण दिनुपर्ने अवस्था भइसकेको छ । यो किन ल्याउनु भो ? समाजवादी फुटाउन । तर, समाजवादी फुट्ने अवस्था देखिएन । यसमा मलाई पक्कै पनि टार्गेट गरिएको हो । त्यसअनुसार दुईजना नेकपाका माननीय महेश र किसनजी खबर नदिइकन पुग्नुभयो । आइजीपी साहेब (सर्वेन्द्र खनाल) सँग मेरो पहिल्यै देखिको चिनाजानी हो । एमपीसाबहरुसँग पुरानै चिनाजानी । उहाँहरुले खासै कुनै नराम्रो व्यवहार मसँग गर्नुभएको छैन । तर, एकचोटि प्रधानमन्त्रीजीसँग भेट्नैपर्‍यो भन्ने किसिमको दबाव आयो ।

लकडाउनका बेलामा मेरो काठमाडौं आउने विचार थिएन । आउँदा आउँदै ढीला भयो । राति तीन बजिहाल्यो । उहाँहरुको मनसाय बुझेपछि बिहान मर्निङवाक गर्दै बाहिर निस्किएँ । मर्निङवाक गर्दै अध्यक्षजीकहाँ पुगिहालें ।

मेरो सपना थियो, त्यो आज साकार भएको छ । तीनवटा एउटै विचारधारका पार्टीहरु थिए । मैले नयाँ शक्तिबाट सुरु गरें । अर्को त्यस्तै विचारधाराको संघीय समाजवादी पार्टी थियो । त्यस्तै मधेसको प्रतिनिधित्व गर्ने बलियो पार्टी राजपा थियो । नयाँ शक्ति र संघीय समाजवादीको मिलन हुँदा दुबै पार्टीमा म आफैं बसेको हुँ । अहिले म जसरी सांसद भएको छु, राजपा र फोरमको एकताले भएको हुँ ।

यस्तो अवस्थामा सधैंका लागि हेर्ने हो भने जति पनि पिछडिएको समुदाय र संविधान संवोधन नभएका कुराहरु आजको दिनमा उठाउने हो भने अहिले दुबै पार्टीहरु एक हुनु योभन्दा राम्रो मेरा लागि अरु के होला र ।

मेरो ग्रुपमा कोही पनि थिएन । यस्तो कुरा हो भन्ने थाहा पाएको भए म काठमाडौं आउने नै थिइनँ । मैले पार्टीमा विद्रोह गर्ने कुरै थिएन । मैले त जे चाहेको थिएँ, त्यो अहिले पूरा भएको छ । मैले असन्तुष्ट हुनुपर्ने कुनै कारणै छैन । राज्यमन्त्री बनेँ, सांसदको टिकट पाएँ । मैले असन्तुष्ट हुनुपर्ने कुनै ठाउँ नै छैन ।

मेरातर्फबाट यस्तो काम जिन्दगीमा हुँदैन । किनभने, म अहिले पनि पेशाले डाक्टर मान्छे हुँ । खासगरिकन मधेसको मुद्दाबाट म उठेको हुँ । मेरो पृष्ठभूमि तपाईहरु राम्रोसँग हेर्न सक्नुहुन्छ । म पार्टीमा पहिले पनि थिएँ, अहिले पनि उहाँहरुसँगै छु ।

‘नयाँ पार्टी बनाउन सजिलो छैन’

मिडियाबाट कुराहरु आएपछि मैले रेणु यादवसँग पनि कुरा गरें । उहाँले असन्तुष्टि मात्रै पोख्नुभयो । तर, उहाँको पनि धेरै मेहनत छ यो पार्टीमा । त्यसैले मलाई त विश्वास छैन कि उहाँले यस्तो (विद्रोह) गर्नुहुन्छ होला ।

उहाँ संघीय समाजवादीमा उपेन्द्र यादवपछिको सिनियर महिलामा पहिलो लिडर हुनुहुन्छ । उहाँ बोल्ड महिलाका रुपमा हुनुहुन्छ । पार्टीमा उहाँको स्थान पनि धेरै राम्रो र सुरक्षित हो । उहाँले धेरै उतार- चढावहरु पनि देख्नुभएको छ । नयाँ पार्टी खोल्नु भनेको त्यो धेरै नै विकटै कुरा हो । पार्टी खोल्न, आर्थिक-भौतिकरुपले धेरै नै समस्या हुन्छ । थ्रेसहोल्डका कुराहरु पनि छन् ।

कहीँ न कहीँबाट पार्टीभित्र यस्ता असन्तुष्टिका कुराहरु आएको पक्कै पनि हो । नआएको होइन । तर, हामी अलग्गै जाँदैछौं भनेर मलाई कसैले एप्रोच गरेको छैन ।

मेरो प्रमुख सचेतक उमाशंकर अरगरियाजीसँग पनि कुराकानी भयो । उहाँ पनि अलिकति असन्तुष्ट पक्कै पनि हुनुहुन्छ । तर, यो पार्टी तोड्न लागेको मैले खासै देखिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment