Comments Add Comment

छाया पर्यटनमन्त्री कँडेलले पर्यटनमन्त्री भट्टराईलाई बुझाए बजेट सुझाव

२३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका पर्यटनमन्त्री देवेन्द्रराज कँडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समक्ष आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सुझाव बुझाएका छन् । मंगलबार नेपाली कांग्रेसबाट उनले बजेट सुझाव मन्त्री भट्टराईलाई बुझाएका हुन् ।

पछिल्लो केही दिनयता आगामी आर्थिक वर्षको बजेटले पर्यटन क्षेत्रमा समेट्नुपर्ने विषयका सन्दर्भमा पर्यटनमन्त्री भट्टराईले जनप्रतिनिधिसँगको छलफललाई तीव्र बनाएका छन् । सोही क्रममा कांग्रेससहित विपक्षी दलका सांसदसँग मन्त्री भट्टराईले मंगलबार सुझाव लिएका हुन्। यसअघि उनले सत्तारुढ दलका सांसदसँग प्रदेशगत रुपमा छलफल गरेका थिए ।

छाया सरकारका पर्यटनमन्त्री देवेन्द्रराज कँडेलको नेतृत्वमा आएको टोलीले पर्यटन क्षेत्रमा ल्याउनुपर्ने कार्यक्रम र यसमार्फत प्राप्त गर्न सकिने समद्धिका सम्बन्धमा पार्टीका तर्फबाट लिखित सुझावमन्त्री भट्टराईलाई बुझाएको हो ।

कांग्रेसले कोरोना भाइरसले यस क्षेत्रमा पारेको प्रभावपछिको पुर्नस्थापनाका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । योजना बनाउने बेला विपक्षी दलका सांसदलाई पनि बोलाएर मन्त्री भट्टराइले राजनीतिक संस्कारको सुरुवात गरेको समेत उनले उल्लेख गरे । मंगलबार नै नेमकिपाको तर्फबाट प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाको तर्फबाट दुर्गा पौडेल र राजपाको तर्फबाट अमृतादेवी अग्रहरिले पर्यटनसँग सम्बन्धित सुझाव प्रस्तुत गरेका छन् ।

उक्त अवसरमा मन्त्री भट्टराईले सांसदहरूबाट प्राप्त सुझावलाई सकेसम्म सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । यसपटक साना योजनाभन्दा ‘लगानीमा साझेदारी र प्रतिफलमा हिस्सेदारी’ को नीतिअनुसार ठूला पर्यटकीय आयोजना अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले जनाए ।

धेरैको माग नयाँ विमानस्थल निर्माणमा रहेको भन्दै मन्त्री भट्टराईले नयाँ विमानस्थल औचित्य, आवश्यकता र व्यवसायिकता आधारमा मात्र निर्माण हुने बताए । ‘अतिदुर्गम ठाउँमा सेवा दिने राज्यको कर्तव्य हो, दिनुपर्छ । त्यसबाहेक व्यावसायिकतालाई पनि हेर्नुपर्ने हुन्छ । लगानी गरिसकेपछि, लगानी डुब्नु हुँदैन भन्ने कुरामा पनि हेक्का राख्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment