
९ जेठ, काठमाडौं । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेसनले नेपाल चिकित्सक संघ र ललितपुर महानगरपालिकालगायतलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोरोना भाइरसको महामारीविरुद्ध लड्न दुई संस्थाले मास्क, पीपीई, किटलगायतका स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
फाउण्डेसनकी अध्यक्षसमेत रहेकी गायिका आनी छोइङ डोल्माले कोरोना भाइरसको माहामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिइन् । डोल्माका अनुसार, चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघलाई बिहीबार ५ सय थान एन–९५ मास्क उपलब्ध गराइएको छ ।
त्यसैगरी, प्रारम्भ र फाउन्डेसनले बिहीबार नै ललितपुर महानगरपालिकाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । पीपीई किट सेट २० थान र फर्स्ट एड किट २० थान महानगरपालिकालाई उपलब्ध गराइएको हो ।
गोदावरी नगरपालिकालाई पनि दुई संस्थाले सहयोग गरेका छन् । बिहीबार गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई २०/२० थान पीपीई, एन–९५ मास्क र प्राथमिक स्वास्थ्य सामग्री उपलब्ध गराइएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले बताए ।
पाटन अस्पताल र गणेशमान सिंह अस्पतालका लागि पनि यी दुई संस्थाले पीपीई तथा प्राथमिक स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
प्रतिक्रिया 4