Comments Add Comment

महामारीको मुखमा पुगेको जापानले कोरोनाविरुद्ध कसरी पायो सफलता ?

१० जेठ, काठमाडौं । एक महिनाअघिसम्म स्वास्थ्य विशेषज्ञहरूले जापान कोरोना भाइरस (कोभिड–१९) को ‘संकटग्रस्त क्षेत्र’ बन्नसक्ने जोखिम रहेको चेतावनी दिएका थिए ।

जापानको अवस्था पनि त्यस्तै थियो । संक्रमण फैलिँदो क्रममा थियो । अस्पतालहरूमा बिरामीको संख्या बढ्दो थियो । तर, परीक्षण निकै कम भइरहेको थियो ।

अझ भन्नुपर्दा जापान आफ्नो कोरोना भाइरस नियन्त्रणको योजनामा विफल हुँदै गइरहेको थियो । सुरुवातमा राम्रो कदम चालेको जापानले बीचमा बाटो बिराएको भन्दै विशेषज्ञहरूले त्यहाँ कोरोना भाइरसको संक्रमण फैलिन सक्ने आशंका गरेका थिए ।

तर, अहिले जापान कोरोना नियन्त्रणमा दक्षिण कोरिया, हङकङ र ताइवानजस्तै सफल मुलुक बन्ने दिशामा छ ।

विश्वमै सबैभन्दा धेरै जेष्ठ नागरिक भएको मुलुकमध्ये एक जापानको जनसंख्या १२ करोड ६० लाख छ । यो मुलुकमा अहिलेसम्म १६ हजार चार सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ७८४ मानिसले ज्यान गुमाएका छन् ।

टोकियो कोरोनाबाट सबैभन्दा प्रभावित राज्यमध्ये एक हो । एक करोड ४० लाख मानिस बसोबास गर्ने यो सहरमा अप्रिल १७ मा एकैदिन २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, पछिल्लो १५ दिनयता यहाँ नयाँ संक्रमितको संख्या ४० भन्दा कम छ । यस साता लगातार दुई दिनमा नयाँ संक्रमितको संख्या केवल पाँच थियो ।

एनएचके टेलिभिजनका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा टोकियोमा तीन नयाँ संक्रमित भेटिए ।

७ अप्रिलसम्म जापानमा नयाँ संक्रमितको संख्यामा यसरी कमी आउँछ भन्ने पत्याउन मुस्किल थियो । किनकि त्यतिबेला नयाँ संक्रमितको संख्या तीव्र गतिमा बढ्न सुरु गरेको थियो । त्यही दिन जापानी प्रधानमन्त्री सिन्जो आबेले टोकियो र अन्य प्रभावित केही राज्यमा आपतकाल घोषणा गरे । यो बिस्तारै सबै ४७ राज्यमा लागू भयो । यद्यपि लकडाउन विश्वका अन्य मुलुकहरूको तुलनामा खुकुलो थियो ।

जापानले मानिसहरूलाई अनावश्यक भ्रमणमा नजान, घरबाट काम गर्न र भौतिक दुरी कायम राख्न मानिसहरूलाई आग्रह गरेको थियो । सरकार प्रत्येक घरमा पुनः प्रयोग गर्न सकिने दुईवटा मास्क पठाउने गरेको थियो । तर, यसलाई धेरैले उपहासको विषय बनाए । सरकारले पठाएको दुई वटा मास्कको फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै यसलाई ‘आबेनोमास्क्स’को संज्ञा दिँदै व्यंग गरेका थिए । उनीहरूले जापानी प्रधानमन्त्रीको आर्थिक नीति ‘आबेनोमिक्स’लाई मास्कसँग जोडिरहेका थिए ।

महामारीमा जापानी प्रधानमन्त्रीको भूमिका भने असामान्य नै रहँदै आएको टेनोओ कन्सल्टेन्सीका टोबियास ह्यारिस बताउँछन् । उनका अनुसार आबे महामारी सुरु भएदेखि नै आउन सक्ने कुनै पनि घटनाभन्दा अगाडि नै कदम चाल्नका लागि संघर्ष गरिरहेका छन् । साथै उनले सञ्चार पनि प्रभावकारी ढंगले कायम राख्न सकेका छैनन् ।

कोरोना भाइरसको महामारीसँग लड्नका लागि कस्तो कदम चाल्ने भन्ने विषयमा जापान राजनीतिक हिसाबमा विभाजित देखिएको छ । तर, आमजनताले भने शान्त भएर सरकारले तोकेका नियमहरू माने । महामारीको चुनौतीपूर्ण अवस्थामा उनीहरू आफ्नो बानीमा महत्वपू्र्ण परिवर्तन ल्याउन सफल भए ।

जापानमा अरूबेला पनि रुघाखोकी र ज्वरो आउँदा मास्क लगाउनु सामान्य मानिन्छ । यस्तोमा उनीहरू सबैले मास्कको प्रयोग गरेका थिए भने हात मिलाउनुको सट्टामा टाढैबाट झुकेर अभिवादन गर्ने बानीको विकास गरे ।

व्यक्तिगत सफाइको मामलामा उनीहरू अगाडि देखिए । उनीहरूले घरभित्र प्रवेश गर्दा जुत्ता बाहिरै राखेर जाने बानीको पनि विकास गरे । यसरी हरेक मानिसले आफ्नो आनीबानीमा उल्लेख्य परिवर्तन गरेका कारण जापानमा कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य कमी आयो ।

केही विशेषज्ञहरूका अनुसार नागरिकको खानपान, जीवनशैली, स्वास्थ्य स्याहार प्रणालीले पनि कोरोना नियन्त्रणमा जापानलाई सहयोग पुगेको हो । टोकियो मेडिकल एण्ड डेन्टल युनिभर्सिटी हस्पिटलका सहायक निर्देशक रिउजी कोइके भन्छन्, ‘सरकारको नीतिकै कारण जापानमा कोरोना भाइरसको संक्रमणमा कमी आएको हो भन्ने मलाई लाग्दैन ।’

कोइकेका अनुसार जापानले निगरानी राख्न नसक्ने जापानका मानिसको व्यवहार र स्वाभावमा आएको उल्लेख्य परिवर्तनको कारण जापानमा कोरोना भाइरसको संक्रमणमा कमी आएको हो ।

जापानको कोरोना भाइरस नियन्त्रणको एकमात्र कारण मानिसहरूले आफ्नै बानीमा ल्याएको परिवर्तनलाई बताउने मानिस पनि छन् ।

अहिले जापानमा भिड हुने म्युजियम, थिएटर, पार्क र अन्य आकर्षणका केन्द्रहरू एक महिनाभन्दा लामो समयदेखि बन्द छन् । विद्यालयलगायतका क्षेत्रहरू पनि खुलेका छैनन् । तर, संक्रमण घट्दै आएसँगै जापानले मुलुकका धेरैजसो राज्यमा आपतकालीन अवस्था हटाइसकेको छ ।

केही राज्यमा आपतकालीन अवस्था हटाउन छलफल भइरहेको छ । तर, यस्तो अवस्थामा आगामी दिनमा जापानमा कोरोना भाइरसका बिरामीको संख्या पुनः थप हुनसक्ने केही विश्लेषकहरूले बताएका छन् । केहीले भने संक्रमितको संख्या अहिले देखिएकोभन्दा १० गुणा बढी हुनसक्ने र आपतकाल हटाउँदा भाइरस फैलिने जोखिम कायम रहने बताएका छन् ।

स्रोत  : द गार्जियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment