Comments Add Comment
प्रधानमन्त्रीको सन्देश :

‘कोरोना अझै फैलिन सक्छ, लकडाउनको मोडल फेरिन्छ’

आर्थिक क्रियाकलाप र विदेशमा रहेका नेपालीको उद्धारमा सरकार लचिलो

Photo Credit : फाइल फोटो

१२ जेठ, काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को महामारी अझै फैलिन सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओली विदेशमा समस्यामा परेकाहरुको उद्धारमा भने लचिलो देखिएका छन् । साथै लाकडाउनको मोडल परिवर्तन हुने प्रधानमन्त्रीले संकेत गरेका छन् ।

सोमबार साँझ टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गरेका थिए । उनले नेपालमा कोरोना भाइरस नियन्त्रणको स्थिति प्रभावकारी रहेको तर यो ढुक्क भएर बस्ने स्थिति नभएको विश्लेषण गरे ।

समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडान बन्द गर्ने निर्णयलगायतका कदमले महामारीबाट हुन सक्ने डरलाग्दो क्षतिलाई जोगाएको प्रधानमन्त्रीले बताए । उनले अगाडि भने, ‘यसबीचमा २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिनुपर्छ ।’

औषधि र स्वास्थ्य उपकरणको खरीदमा देखिएको समस्या हल भएको र २० वटाभन्दा बढी प्रयोगशाला सञ्चालनमा आएको भन्दै उनले विज्ञहरुको सल्लाहबमोजिम जनसंख्याको कम्तिमा २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने लक्ष्य सुनाए ।

त्यसैगरी क्वारेन्टाइनस्थल बढाउनुका साथै स्तरमा व्यापक सुधार ल्याइने र आवश्यकताअनुसार होटल एवं सार्वजनिक संरचनालाई समेत क्वारेन्टाइनस्थला रुपमा प्रयोगमा ल्याइने प्रधानमन्त्री बताएका छन् ।

संक्रमण फैलिनुमा भारतको ‘योगदान’

प्रधानमन्त्री ओलीले नेपालमा कोरोनाको महामारी अहिले फैलिँदो अवस्थामा रहेको जानकारी दिए । महामारीका रुपमा फैलिनुमा भारतबाट फर्किनेहरुको योगदान रहेको उनले बताए ।

चुनौतीको सामान गर्ने, लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र हो । हाम्रो आनीबानी र खानपिन ठीक हुँदा हामी जोगिन्छौं र कोरोनालाई पराजित गर्न सक्छौं

विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने भए पनि भारतबाट फर्किनेहरुको परीक्षण नभएको र नियमको पालना पनि नभएको बताउँदै उनले भनेका छन्, ‘परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।’

भारतबाट आएकाहरुलाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन आग्रह गरेका छन् ।

केही तत्व जनतामा भ्रम फिँजाएर आफ्ना स्वार्थ र उद्देश्यहरु पूरा गर्न सक्रिय हुन सक्ने भन्दै प्रधानमन्त्री ओलीले उनीहरुको बहकावबाट सतर्क रहन समेत आह्वान गरेका छन् ।

विदेशबाट उद्धार गर्न लचिलो

विदेशमा अप्ठ्यारामा परेकाहरुको उद्दारका लागि प्रधानमन्त्री ओली लचिलो देखिएका छन् । यसअघि स्वयंम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकै नेताहरुले समेत उद्दारको माग गर्दै प्रधानमन्त्री ओली सहमत देखिएका थिएनन् ।

यो पनि पढ्नुहोस ‘संक्रमण बोकेर स्वदेश फर्कने कसैको रहर हुँदैन’

सोमबार देशबासीलाई सम्बोधन गर्ने क्रमामा भने उनले अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने बताए । उनले भने, ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना’ सहितको आदेश तत्काल जारी गरिनेछ ।’

विदेशमा फर्किएका तथा नेपालमै रोजगारविहीन रहेकाहरुलाई रोजगारी दिइने समेत उनले बताएका छन् । ‘यसका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालीमको व्यवस्था सरकारले गर्छ’ टेलिभजन सम्बोधनमा उनले भने, ‘जनसहभागिता र प्रविधि सहितको श्रममूलक विकास निर्माणका कार्यहरु स्थानीय तहमा सञ्चालन गरिने छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा अघि बढाई सूचीकृत श्रमिकलाई उपलब्ध रोजगारीमा परिचालन गरिनेछ ।’

स्वदेश फर्किई बेरोजगार रहेका र स्वदेशमै रही रोजगारीको अवसर नपाएकाहरुलाई रोजगार सेवा केन्द्रमा दर्ता हुन स्थानीय तहले सहजीकरण गर्ने उनले बताए ।

लकडाउनको मोडल फेरिने संकेत

सरकारले घोषणा गरेको लकडाउन जेठ २० सम्म छ । प्रधानमन्त्री ओलीले त्यसअघि मोडल परिर्वतन हुने संकेत गरेका छन् । महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलापलाई सुचारु गर्ने उनले बताएका छन् ।

सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाउनुका साथै नियन्त्रणको सीमाभित्र रहन सक्ने थप उद्योग सञ्चालनको अनुमति दिइने उनले बताए । ‘काममा आउने श्रमिकलाई समुदायमा छ्यासमिस नहुने प्रबन्ध गर्ने सर्तमा जुन/जुन जिल्लाका श्रमिक हुन्, तिनीहरुलाई पहिले कोरोना परीक्षण गरी प्रशासनको निगरानीमा उद्योग/व्यवसाय सञ्चालन हुने स्थानमा ल्याउने प्रबन्ध मिलाइनेछ’ उनले सम्बोधनमा भनेका छन् ।

तर, समुदायमा कोरोना संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्ने गरी प्रशासनिक कडाईलाई भने कायमै राखिने भएको छ ।

समुदायमा संक्रमण थप विस्तार हुन नदिन आवश्यक सावधानीका साथ नयाँ कदमहरु चालिने बताए । महामारीसँग जुध्न सबै सरकारी निकायहरु चुस्त र प्रभावकारी हुनुपर्ने भन्दै उनले एकीकृत ‘कमाण्ड’ एवं केन्द्रीय योजनालाई थप प्रभावकारी बनाइने बताएका छन् ।

संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सम्वाद र समन्वयका लागि सम्पर्क व्यक्ति वा निकाय तोक्ने र कोरोनाविरुद्धको लडाईँमा संलग्न पक्षहरुलाई समेटेर परामर्शदातृ संयन्त्र घोषणा गर्ने बताए ।

निजी क्षेत्रलाई सहुलियत

बजेट भाषणको पूर्वसन्ध्यामा देशबासीलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट प्रभावित औद्योगिक–व्यावसायिक क्षेत्रलाई दिइने राहतको संकेत गरेका छन् । ‘कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्नेछन्’ उनले भनेका छन् ।

साथै अर्थव्यवस्थालाई दुरुस्त गर्न आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्ने बताए ।

प्रधानमन्त्रीको नेतत्वमा रहेको प्राकृतिक विपत्ति न्यूनीकरण तथा समस्या समाधान कोष र गृहमन्त्री नेतृत्वको प्राकृतिक विपत्ति राहत कोषसमेतमा रहेका कोषहरूको महत्वपूर्ण हिस्सा कोरोना उपचार कोषलाई हस्तान्तरण गर्ने उनले बताए ।

जनतालाई पाँच टिप्स

विज्ञहरुका अनुसार नयाँ खोप पत्ता नलागेसम्म कोरोना नियन्त्रण गर्ने उपाय भनेकै आनीबानी र आहार–विहारमा सतर्कता अपनाउनु भएको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक दूरी र प्रतिरोधी क्षमता बृद्धिमा जोड दिएका छन् ।

नेपाली भान्सामा प्रयोग हुने केही (बेसार, लसुन आदि)मा औषधीय तत्व हुने र यसले रोगको प्रतिरोध क्षमता बढाउन बल पुर्‍याइरहेको उनले बताए । उनले कोरोना भाइरससँग लड्न ५ हेल्थ टिप्स दिए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्ने हो भने मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भएको समेत बताएका छन् ।

औषधि र अस्पताल नभएको बेलामा समेत अनेकन महामारी सामना गरेर मानव जाति यहाँसम्म आएको भन्दै उनले भनेका छन्, ‘चुनौतीको सामान गर्ने, लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र हो । हाम्रो आनीबानी र खानपिन ठीक हुँदा हामी जोगिन्छौं र कोरोनालाई पराजित गर्न सक्छौं । त्यसैले, सकारात्मक सोच राखौं ।’

नेपालीहरूको मनोबल उच्च भएको र प्रतिरोध क्षमता पनि असाधारण रहेको भन्दै उनले यसकै बलमा कारोनालाई पराजित गर्न सक्ने विश्वास व्यक्त गरे ।

यो पनि पढ्नुहोस एसईई दिन नपाएका विद्यार्थीको शैक्षिक वर्ष खेर जाँदैन : प्रधानमन्त्री यो पनि पढ्नुहोस प्रधानमन्त्रीको सम्बोधनकाे पूर्णपाठ : श्रम गर्नै नसक्नेलाई राहत, बाँकीलाई काम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment