Comments Add Comment

लकडाउनमा अनियमितता र भ्रष्टाचार बढ्यो, प्रेसले खबरदारी गर्नुपर्‍यो : देउवा

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा देखिएको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लकडाउनमा समाजका गतिविधि बन्द हुँदा बेथिती र भ्रष्टाचारसँगै अलोकतान्त्रिक गतिविधि बढ्दै जाने देखिएकाले सञ्चार माध्यमले खबरदारीको भूमिका बढाउन जरुरी रहेको बताए ।

कोरोना महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै देउवाले सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्न छोड्न नहुने बताए । ‘लकडाउन भएको दुई महिना पूरा भयो, पर्याप्त परीक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ सोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ’ उनले भने ।

सञ्चार माध्यमले भ्रष्टाचारमाथि प्रश्न उठाउँदा सरकारले अस्थिरता फैलाएको आरोप लगाएको पनि देउवाले बताए । भ्रष्टाचार र अनियमितताको समाचार लेख्दा प्रधानमन्त्रीले सञ्चार माध्यमलाई धन्यवाद दिनुपर्नेमा उल्टै अस्थिरता फैलाएको आरोप लगाएको उनले टिप्पणी गरे । ‘म उहाँलाई प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । सञ्चार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ’ उनले भने ।

देउवाले कोरोना महामारीको जोखिमका बेला पत्रकारिताको काम सजिलो नभएको भन्दै देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताए । वीरगंज, उदयपुरलगायतका ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको भन्दै देउवाले देशभरका पत्रकारको कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न आग्रह गरेका छन् ।

कोरोना महामारीका कारण सञ्चार माध्यम र पत्रकारहरु समस्यामा रहेको भन्दै देउवाले पत्रकारिता क्षेत्रले भोगेको चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment