+
+
Shares

अनुदानको मल वितरण व्यवस्थित गर्न सातै प्रदेशमा सम्पर्क व्यक्ति तोक्न निर्देशन

कृषि मन्त्रालयले एक परिपत्र जारी गर्दै सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले रासायनिक मल वितरणको अनियमितता र किसानका गुनासो सम्बोधन गर्न सातै प्रदेशका कृषि मन्त्रालयमा सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।
  • कृषि, वन तथा वातावरण मन्त्रालयले ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२’ अनुसार सचिवस्तरीय निर्णय गर्दै सो निर्देशन दिएको हो ।
  • तोकिएका सम्पर्क व्यक्तिको विवरण सम्बन्धित प्रदेश मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरी सोको जानकारी संघीय मन्त्रालयलाई समेत गराउनुपर्ने व्यवस्था गरिएको छ ।

२२ जेठ, काठमाडौं । सरकारले अनुदानको रासायनिक मल वितरणमा हुने अनियमितता र किसानका गुनासो तत्काल सम्बोधन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा ‘सम्पर्क व्यक्ति’ (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ ।

कृषि, वन तथा वातावरण मन्त्रालयले एक परिपत्र जारी गर्दै सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको हो ।

सरकारको किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने नीति तथा कार्यक्रम थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभरि मल वितरक कम्पनी मार्फत स्रोत उपलब्धताका आधारमा मल आपूर्ति र बिक्री वितरण भइरहेको छ ।

तर, वितरण प्रक्रियामा देखिने प्राविधिक तथा व्यवस्थापकीय समस्या र किसानका गुनासो स्थानीय तहमै छिटो समाधान गर्न प्रादेशिक तहमा जिम्मेवार व्यक्तिको आवश्यकता महसुस गरिएको जनाइएको छ ।

‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२’ अनुसार प्रदेशभित्र अनुदानको रासायनिक मल व्यवस्थापन र वितरण अनुगमन गर्ने मुख्य भूमिका प्रदेशस्थित मन्त्रालयहरूको हुन्छ ।

सोही कार्यविधि टेकेर संघीय मन्त्रालयले सचिव स्तरीय निर्णय मार्फत प्रदेशस्थित मन्त्रालयलाई आ–आफ्नो निकायमा एक जना सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयलाई सम्बोधन गरिएको छ ।

तोकिएका सम्पर्क व्यक्तिको विवरण सम्बन्धित प्रदेश मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने र त्यसको जानकारी संघीय कृषि, वन तथा वातावरण मन्त्रालयलाई समेत गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले किसानहरूले मल प्राप्तिमा भोग्नुपरेका समस्यारू सिधै सरकारी निकायसम्म पुर्‍याउन र तिनको समयमै समाधान खोज्न सहज हुने मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?