+
+
Shares

चलचित्र विकास बोर्डमा ४० लाखभन्दा बढी मनलाग्दी खर्च

महालेखाले जतिसक्यो चाँडो हिसाब मिलाउने गरी प्रमाण तयार गर्न बोर्डलाई तारन्तार फोन गरिरहेको छ ।

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८२ चैत १६ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालेखा परीक्षक कार्यालयले चलचित्र विकास बोर्डले ४० लाख ३१ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ।
  • बोर्डले आर्थिक वर्ष २०८१/२०८२ को हिसाब किताब ६ महिनाभित्र कम्पनी रजिस्टारको कार्यालयमा बुझाउन सकेको छैन।

चलचित्र विकास बोर्डले राज्यको ढुकुटी दोहन गर्दै आर्थिक अनियमितता गरेको देखिएको महालेखा परीक्षक कार्यालयको अध्ययनले देखाएको छ । कार्यालयले लेखापरीक्षण गर्ने क्रममा तत्काल ४० लाख ३१ हजार रुपैयाँ असुल गर्नपर्ने रकम देखिएको महालेखा परीक्षकको कार्यालय स्रोतले जानकारी दिएको छ ।

बोर्डले विभिन्न व्यक्तिका नाममा भत्ता दिएको तथा बिल तथा भर्पाई केही पनि नराखी खर्च गरेकाे, कर्मचारी तथा श्रमिकलाई तोकिएकोभन्दा बढी पारिश्रमिक दिएको, विभिन्न काममा सम्झौताभन्दा बढी दिनको भुक्तानी गरिएको भन्दै महालेखाले त्यसरी भएको खर्च अशुल उपर गर्नुपर्ने देखाएको हो ।  ‘कतिपय ठाउँमा करकट्टी नगरेको पनि देखिन्छ ,’ स्रोतले भन्यो ।

महालेखाले गत आव २०८१-८२ को लेखा परीक्षण गरिरहेकोमा बोर्डले गरेको अनियमित खर्चको प्रमाण पेश गर्न भनेको स्रोतले बतायो । कार्यालयले चैत ६ गते ३५ दिनभित्र बिल भर्पाई र अन्य प्रमाण भए पेश गर्न बोर्डलाई निर्देशन दिएको स्रोतले बतायो । त्यसअनुसार बोर्डले वैशाख ११ गतेसम्ममा बोर्डले त्यस्ता दस्तावेज पेश गरिसक्नुपर्छ । त्यसो नभए अन्तिम प्रतिवेदनमा  अशुल उपर गर्नुपर्ने बेरुजुका रुपमा सो रकम सार्वजनिक गरिने बताइएको छ ।

‘गत आर्थिक वर्षको हिसाबमा केही व्यक्तिलाई दिइएको भत्तामा बढी भुक्तानी भएको पाइएकाले त्यसलाई असुल उपर गर्न निर्देशन दिइएको छ,’ महालेखा स्रोतले बतायाे ।

महालेखाको निर्देशनपछि बोर्डका कर्मचारी भने ‘बिल मिलाउन’ दौडधूप गरिरहेको स्रोत बताउँछ ।

 

दरबन्दी नै स्वीकृत नगरी कर्मचारी भर्ना

बोर्डले दरबन्दी नै स्वीकृत नगराई केही कर्मचारी भर्ना गरेको तथा तिनलाई तलबभत्ता दिइरहेको पनि स्रोतले बतायो । ‘दरबन्दी स्वीकृत गर्नुपर्‍यो या त हटाउनुपर्‍यो’ स्रोत भन्छ,  ‘सरकारी निकायहरूमा यो किसिमको भद्रगोल हुनु ठिक होइन ।’

महालेखाले अनावश्यक कर्मचारी कटौती गर्न र संरचना सुधार गर्न निर्देशन समेत दिएको छ ।

बोर्डमा लोकसेवाबाट आएका कर्मचारी नगन्य छन् । त्यहाँ कार्यरत कर्मचारीहरूका अनुसार धेरै करारका कर्मचारी छन् । विभिन्न समयमा शक्ति केन्द्रहरूको पहुँचका आधारमा नियुक्त भएका कर्मचारीहरूको संख्या उलेख्य छ ।

त्यसमध्ये कतिपय वर्षौंदेखि अनावश्यक रूपमा बसिरहेका छन्, जो सेवाग्राहीप्रति उत्तरदायी नहुने र जागिर मात्र खाने फिल्मकर्मीहरूको गुनासो छ । ‘जागिर मात्र खान बसेका छन् । कुनैपनि काम राम्ररी गर्दैनन्, ढिलासुस्ती गर्ने, अल्झाउने, बहानाबाजी गर्ने’ एक निर्देशक भन्छन्, ‘कर्मचारीले हैरान बनाउँछन् ।’

प्राय बोर्ड अध्यक्षहरूले आफ्नो कार्यकाल सकिन लागेपछि आफ्नो मान्छेलाई बोर्डको कर्मचारी बनाउन लागिपर्ने प्रवृत्ति रहेको फिल्मकर्मीहरू बताउँछन् ।

बोर्डका कर्मचारी झिँगा धपाउने, बाहिरकाले पैसा उडाउने

कतिपय व्यक्तिहरू बोर्डका नियमित कर्मचारी नभए पनि यहाँबाट नियमित कर्मचारीसरह प्रभाव र आम्दानी लिने गरेका छन् । पुरस्कार वितरणदेखि अन्य कामसम्म ‘कमिसन उठाउने’ र ‘बार्गेनिङ गर्ने’ बोर्डको अभ्यास फिल्म उधोगभित्र फैलिरहेको फिल्मकर्मीहरू बताउँछन् ।

बोर्डभित्र करिब तीन दर्जन कर्मचारी हुँदाहुँदै पनि सामान्य फोटोसपका कामदेखि आइटीसम्मका काम बाहिरका व्यक्तिलाई दिइने गरिएको छ । बोर्डले पछिल्लो समय विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ । तर, यी कार्यक्रमहरूको संयोजनको जिम्मा बाहिरका व्यक्तिहरूलाई दिने गरिएको छ ।

यस विषयमा प्रश्न गर्दा बोर्डका प्रवक्ता सन्तोष लोहनी उनी भन्छन्, ‘बोर्डभित्र सम्बन्धित कार्यक्रमको विज्ञ नभएकाले बाहिरी व्यक्तिलाई यसरी संयोजनको जिम्मा दिइएको हो ।’

बोर्डमा पहिले पैसा खर्च गर्ने अनि पुराना मितिका सम्झौता र बिल भर्पाई बनाउने विकृति व्यापक रहेको एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

कहिले पौडी खेलाउने, कहिले घोडचडी

बोर्डले ‘कलाकार’का लागि प्रशिक्षण दिने भन्दै घोडचडी तालिम दियो । त्यस्तै दोस्रो चरणमा एकदिने पौडी प्रशिक्षण गरायो । यस्ता कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसी स्वयम पनि ‘प्रशिक्षार्थी’ बने । बाँकी एकाध कलाकारबाहेक खासै नचिनिएका व्यक्तिलाई घोडचढी र पौडी सिकाइयो । 

यसले कलाकर्मीको क्षमता विकास नहुने र पैसा मात्र खर्च हुने भन्दै कतिपयले टिप्पणी भएको थियो । तर बोर्डले विभिन्न शीर्षकमा पटके तालिम दिएको थियो ।  ‘एक दिने तालिम दिएर न कुनै दक्षता हासिल हुन्छ, न सिकाइ प्रभावकारी नै’ एक समीक्षक भन्छन्, ‘त्यो सबै खर्च गर्ने मेलो जस्तो मात्र देखियो ।’

बोर्डले अहिले चलचित्र उद्योगसँग सम्बन्धित एक दर्जन हाराहारी कार्यक्रम सञ्चालन गरिरहेको छ । घोडचडी कार्यक्रमदेखि ड्रोन चलाउने प्रशिक्षणसम्म गरी एक दर्जन कार्यक्रम अहिले भइरहेका छन् । कतिपय कार्यक्रम सकिए, कतिपय जारी छन् । तर, केही कार्यक्रम आवश्यक भए पनि कतिपय औपचारिकताका लागि मात्रै गरिएको भन्दै बोर्ड विवादमा परेको छ ।

दीर्घकालीन र प्रभावकारी कार्यक्रम बनाउने भन्दा पनि पटके कार्यक्रम बनाएर बोर्डले समय र पैसा बर्बाद गरेको उनको तर्क थियो ।

बोर्डले दिइरहेका विभिन्न कार्यक्रमहरूमध्ये पछिल्लो समय ड्रोन तालिम जारी छ । यस तालिममा सहभागी एक प्राविधिक भन्छन्, ‘ड्रोन तालिम थियो । तर खासै सिकाइ भएन । प्रमाण पत्र पाइन्छ कि भनेर गएको हुँ ।’ यसले कार्यक्रमको प्रभावकारितामाथि नै प्रश्न उठाएको उनी बताउँछन् ।

के भन्छन् नवनियुक्त मन्त्री ?

चलचित्र विकास बोर्ड सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय अन्तर्गत पर्छ । नवनियुक्त मन्त्री डा. विक्रम तिमल्सिनाले आफू मातहतका निकायमा अनियमितता भए त्यसलाई रोक्ने बताए ।

‘हामी आफू मातहातका कुनैपनि संस्था वा क्षेत्रमा सुशासन चाहन्छौं’ तिमल्सेनाले भने, ‘सबै हिसाबकिताब पारदर्शी चाहन्छौं । किनभने हाम्रो नीति नै शुन्य भ्रष्टचार हो ।’

कुनैपनि क्षेत्रमा आर्थिक अनियमिता भएमा त्यसप्रति कडा रुपमा प्रस्तुत हुने उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?