+
+
Shares
चलचित्र विकास बोर्डको बेथिति :

एक करोड बढीको कार्यक्रम, घोडचढीदेखि पौडीसम्म

घोडा चढ्ने, पौडी जस्ता भूमिका कुन कलाकारले कहिले पाउँछ थाहा हुँदैन । तालिम लिनेमध्येका कसैले जीवनभर त्यो खालको भूमिका नपाउन पनि सक्छन् ।

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८२ फागुन १ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले कलाकारलाई घोडचढी र पौडी खेल्ने तालिमसहित दर्जनौं तालिम सञ्चालन गर्दैछ र यसका लागि एक करोडभन्दा बढी बजेट छुट्याएको छ।

चलचित्र विकास बोर्डले के गर्छ ? उसका कार्यक्रम र तौरतरिका थाहा पाउनुभयो भने तपाईं खित्का छाडेर हाँस्नुहुनेछ । जस्तो, पछिल्लो समय त्यहाँ घोडचढी तालिम हुँदैछ । आवेदनमार्फत छानिएका एकाध ‘कलाकार’ ले घोडा चढ्न सिकेपछि पौडी खेल्ने तालिम पनि सुरु हुनेछ । यस्ता अरू कति ‘तालिम’ को सूची होलान् ? सोधीखोजी हुने नै छ ।

बोर्डको यावत् तमासा देखेर हाँसो उठ्नु स्वाभाविक हो । तर यो हाँस्ने विषय होइन, जहाँ तपाईं–हामी जस्ता असंख्यको गाँस काटेर पठाइएको राज्यको ढुकुटी दोहन भइरहेको छ । बोर्डले यस्ता कार्यक्रमका लागि यस वर्ष मात्र एक करोडभन्दा बढी खर्च छुट्याएको स्रोतको भनाइ छ ।

अहिले विकास बोर्ड त्यही बजेट सक्काउने हतारोमा रहेको उनी बताउँछन् । भन्छन्, ‘कुनै ठोस र प्रभावकारी काम गर्न छाडेर झिनामसिनो तालिम र कार्यशालामा खर्च गरिरहेको छ ।’

घोडचढी र पौडीका लागि चाहिँ कति बजेट छुट्याइएको छ ? विकास बोर्डका कुनै पनि अधिकारी यसको स्पष्ट जवाफ दिन चाहँदैनन् । हामीले अध्यक्ष दिनेश डिसीसँग पटक–पटक फोनमार्फत कुराकानी गर्न खोज्दा उनी ‘मिटिङमा रहेको’ भन्दै पन्छिए । अन्य कर्मचारीले पनि यसको घुमाउरो जवाफ दिए, सोझै खुलाएनन् । भनिहालौँ, अध्यक्ष डिसी स्वयं घोडचढी तालिम लिनेहरूमध्ये एक हुन् ।

बोर्डले ‘चलचित्रकर्मीको दक्षता अभिवृद्धि’ अन्तर्गत आगामी असारसम्म यस्ता दर्जन हाराहारी तालिमको सूची बनाएको छ । यसमा मेकअपदेखि ड्रोन उडाउनेसम्म समेटिएको छ । स्रोत भन्छ, ‘हरेक कार्यक्रममा कति खर्च गर्ने भनेर शीर्षकअनुसार छुट्याइएको छैन । समग्रमा एक करोडभन्दा माथिको बजेट राखिएको छ ।’

एकाधलाई छाडेर बाँकी तालिम तथा कार्यशाला फिल्मसँग सम्बन्धित नै छन् । ‘तर यस्तो पटके तालिम लिएर कसले, कति क्षमता विकास गर्न सक्छ ? के तालिम लिनेहरू यसबाट वास्तवमै लाभान्वित होलान् ?’ एक चलचित्रकर्मी प्रश्न गर्छन् । ‘कुनै ठोस नतिजा र प्रभावकारी क्षमता विकासभन्दा पनि कर्मकाण्ड पूरा गर्ने प्रयास मात्र देखिएको छ ।’

भर्खरै घोडचढी तालिम लिएर फर्किएका अभिनेता नाजिर हुसेनलाई हामीले सोधेका थियौँ, ‘यो तालिम किन महत्त्वपूर्ण ठान्नुभयो ? यसले तपाईंमा कस्तो क्षमता विकास भयो ?’

उनको जवाफ थियो, ‘कलाकारले सबै कुरा सिक्नु नितान्त आवश्यक छ । हामीले विभिन्न चरित्रमा बाँच्नुपर्छ, त्यसका लागि यस्ता कुरा सिक्नुपर्ने हुन्छ ।’

यद्यपि, एकाध कलाकारलाई सामान्य अनुभव दिलाउन राज्यले यति ठूलो खर्च किन व्यहोर्ने ? यसको जवाफ उनीसँग थिएन । ‘घोडा चढ्नु, पौडी खेल्नुजस्ता तालिम कलाकारलाई सधैँ आवश्यक हुँदैन । कुनै त्यस्तै भूमिका आयो भने पनि फिल्ममेकरले त्यसको व्यवस्था गर्छ’ बोर्डका एक कर्मचारी भन्छन्, ‘अहिले घोडचढी सिकेर पछि कुनै फिल्ममा काम लाग्ने पनि होइन । यो फजुल खर्च बढाउने मेलो हो ।’

कलाकर्मीलाई पौडी, घोडचढीजस्ता असान्दर्भिक तालिम दिने भएपछि धेरैले यसरी बोर्डको बजेट नसकिने सुझाएका थिए । एक फिल्मकर्मी भन्छन्, ‘त्यो हाम्रो करबाट चल्ने संस्था हो । त्यसले रचनात्मक काम गरेको छ वा छैन भनेर टिप्पणी गर्ने अधिकार हाम्रो हो । आफ्नो गोजीको पैसा जसरी जथाभावी खर्च गर्न दिनु भनेको भ्रष्टाचारलाई छुट दिनु हो ।’

अझ उदेकलाग्दो कुरा त के भने, कलाकर्मीको क्षमतावृद्धि भन्दै दिइने यस्ता तालिममा चिन्दै नचिनिएका मानिसहरू पनि सहभागी गराइएको छ । ‘अनुत्पादक व्यक्तिलाई तालिम दिने नाममा राज्यको स्रोत र सम्पत्ति दुरुपयोग गर्न पाइँदैन’ फिल्म लेखक तथा समीक्षक सामीप्यराज तिमल्सिना भन्छन्, ‘सही र रचनात्मक काम गर्नुपर्छ, जसले ठोस उपलब्धि हासिल होस् ।’

एक पूर्व कर्मचारीका अनुसार बोर्डमा समग्र चलचित्र क्षेत्रको उत्थान र विकासभन्दा पनि झिनामसिनो काम गरेर बजेट सिध्याउने कार्यक्रम बढी हुने गरेका छन् । ‘चलचित्र क्षेत्रमा सुल्झाउनुपर्ने, सुधार्नुपर्ने थुप्रै समस्या छन्’ उनी भन्छन्, ‘तर त्यस्ता ठोस काममा बोर्डको जागरुकता देखिँदैन । यस्तै फन्डा गरेर पैसा सिध्याउने ध्याउन्नमा बोर्ड लागेको देखिन्छ ।’

नेपालको बजेट बनाउन विदेशीसँग ऋण लिनुपर्छ । यसरी विदशी ऋण लिएर बिनियोजन गरिएको बजेट बेकामे योजनामा खर्च गर्नु कति सान्दर्भिक होला ? विकास बोर्डका अधिकारीले प्रश्नमाथि सोचविचार गर्दैपर्छ ।

लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?