News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले कलाकारहरूलाई लक्षित गर्दै भक्तपुरको ठिमीमा घोडचडी तालिम सुरु गरेको छ।
- बोर्डले घोडचडी तालिमको उद्देश्य 'सुरक्षित, अनुशासित र व्यावसायिक कलाकार बनाउने' बताएको छ।
- नेपाली चलचित्र उद्योगका गम्भीर समस्याबीच बोर्डको प्राथमिकतामा घोडचडी तालिम पर्नु विवादास्पद छ।
चलचित्रसँग सम्बन्धित थुप्रै यस्ता गम्भीर र तत्काल समाधान खोज्नुपर्ने विषय छन्, जहाँ चलचित्र विकास बोर्डको सक्रियता, दूरदृष्टि र जिम्मेवार हस्तक्षेप अनिवार्य हुन्छ । तर विडम्बना, चलचित्रको संर्द्धन र प्रवर्द्धनका लागि स्थापना गरिएको यो निकाय वर्षौँदेखि आफ्नो मूल उद्देश्यबाट च्युत हुँदै गएको आरोप लाग्ले गरेको छ । कतिपय अवस्थामा त चलचित्र विकास बोर्ड केवल राजनीतिक भर्ती केन्द्रमा सीमित भएको टिप्पणीसमेत धेरै सुनिन्छ । अझ केही दिग्गज चलचित्रकर्मीले यसको औचित्यमाथि नै प्रश्न उठाउने गरेका छन् ।
यस्ता प्रश्नहरू अनावश्यक होइनन् । किनभने बोर्डका गतिविधिहरू हेर्दा स्वयं बोर्ड नै दिशाहीन र काइते बन्दै गएको देखिन्छ । यसका उदाहरण धेरै छन्, तर पछिल्लो विषय हो– कलाकारहरूका लागि घोडचढी तालिम।
चलचित्र विकास बोर्डले भक्तपुरको ठिमी नजिकै कलाकारहरूलाई लक्षित गर्दै घोडचढी तालिम सुरु गरेको छ । तालिममा विजय बराल, नाजिर हुसेन, शिशिर वाङ्देल, कविता नेपाली, विशाल पहाडी, एवन उप्रेती, दिनेश खड्का, सरिता भारती, अरुणबहादुर स्याङ्तान, श्रीदेव भट्टराई, गोपाल ढकाल, स्तुती श्रेष्ठ, रमेशचन्द्र सोडारी, क्षितिज सुवेदीलगायत सहभागी छन् । नेपाली चलचित्रका चर्चित अनुहारहरू– प्रदीप खड्का, अनमोल केसी, पल शाहजस्ता कलाकार भने यस तालिममा देखिँदैनन् ।
तालिम लिनेको सूचीमा बोर्ड अध्यक्ष डिसी आफैंपनि सामेल छन् । यहाँ प्रश्न उठ्छ– फिल्मका कलाकारलाई घोडचढीको तालिम किन ?
के घोड चढ्ने तालिम नेपाली चलचित्र उद्योगको सबैभन्दा आवश्यकताको विषय हो ?
यस विषयमा बुझ्न खोज्दा बोर्ड अध्यक्ष दिनेश डिसीसँग सम्पर्क हुन सकेन । बोर्डकै एक कर्मचारीले “सुरक्षित, अनुशासित र व्यावसायिक कलाकार बनाउने उद्देश्यले तालिम दिइएको’ भन्ने जवाफ दिए । के यो तर्क आफैंमा बलियो र विश्वसनीय छ त ?
के घोडचढी तालिमले कलाकारलाई स्वतः सुरक्षित, अनुशासित र व्यावसायिक बनाउँछ ?
बोर्डको यो तर्क र उद्देश्य कति कमजोर छ भन्ने कुरा सामान्य बुद्धि भएको जोकोहीले सजिलै खुट्याउन सक्छ ।
वास्तविकता के हो भने, घोडचढी तालिम आवश्यक पर्न सक्छ– तर विशेष प्रकारका फिल्म, विशेष पात्र र विशेष आवश्यकताको अवस्थामा मात्र । ऐतिहासिक, पौराणिक वा युद्धप्रधान कथामा घोडा अनिवार्य हुन सक्छ । तर समग्र नेपाली फिल्म उद्योगका कलाकारलाई प्राथमिकताका साथ घोडचढी तालिम दिनु अहिलेको सन्दर्भमा न त व्यवहारिक देखिन्छ, न त तर्कसंगत ।
अहिले नेपाली चलचित्र उद्योग यति सहज अवस्थामा छैन ताकि बोर्ड यस्ता गौण विषयमा समय र स्रोत खर्च गर्न सकोस् । एकपछि अर्को फिल्म असफल भइरहेका छन्। निर्माताहरू ऋणमा डुबिरहेका छन् । कलाकार र प्राविधिकहरूले काम गरेबापतको पारिश्रमिक समयमै पाएका छैनन् । श्रम सम्झौता कार्यान्वयनमा छैन । वितरण प्रणाली अस्तव्यस्त छ । हलहरू बन्द हुने क्रम रोकिएको छैन । सरकारी नीति स्पष्ट छैन । कर्पोरेट हाउसलाई आकर्षित गर्ने ठोस योजना देखिँदैन ।
यस्ता दर्जनौँ गम्भीर समस्याबीच बोर्डको प्राथमिकतामा घोडचढी तालिम पर्नु आफैंमा आश्चर्यजनक छ । उद्योग ‘मर्नु न बाँच्नु’को अवस्थामा पुगेका बेला बोर्डले गर्नुपर्ने काम के हो ?
– फिल्म कसरी चलाउने?
– दर्शक कसरी फर्काउने ?
– निजी लगानी कसरी सुरक्षित बनाउने ?
– कलाकार र प्राविधिकको श्रम कसरी सुनिश्चित गर्ने ?
– डिजिटल युगमा नेपाली फिल्मलाई कसरी प्रतिस्पर्धी बनाउने ?
यी प्रश्नहरूमा बोर्डको ध्यान जानुपर्ने हो । तर बोर्ड भने ‘कामकुरो एकातिर, घोडचढी अर्कैतिर’ को अवस्थामा देखिन्छ ।
घोडचढी तालिम आफैंमा गलत होइन । तर प्राथमिकता गलत हो । अहिले नेपाली फिल्म उद्योगलाई चाहिएको घोडा होइन, दृष्टि हो । चाहिएको लगाम होइन, नीति हो । चाहिएको तालिम होइन, संरचना हो। जब उद्योगको आधार नै कमजोर छ, त्यसमाथि सजावट खोज्नु मूर्खता बाहेक केही होइन।
चलचित्र विकास बोर्डले अब तमासा बन्द गरेर आत्मसमीक्षा गर्नैपर्छ । अन्यथा, घोडचढी सिकिरहेका कलाकारहरू सुरक्षित हुन सक्लान तर नेपाली चलचित्र उद्योग भने अझै असुरक्षित, अव्यवस्थित र दिशाहीन नै रहनेछ ।
प्रतिक्रिया 4