News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियाली ब्यान्ड बिटिएसले वार्षिक करिब ५ अर्ब अमेरिकी डलरको आर्थिक योगदान गर्दै विश्व संगीत बजारमा प्रभावशाली भूमिका खेलेको छ।
- भारतको चलचित्र, टेलिभिजन र ओटीटी उद्योगले वार्षिक करिब ६१.२ अर्ब अमेरिकी डलरको योगदान गर्दै २.६४ मिलियनले प्रत्यक्ष रोजगारी पाएको छ।
- नेपालको मनोरञ्जन उद्योग नीतिगत सहयोगको अभावमा संकटमा छ र कलाकारहरू विदेश पलायन भइरहेका छन्, जसले उद्योगको भविष्य जोखिममा पारेको छ।
दक्षिण कोरियाली ब्यान्ड बिटिएसले विश्व संगीत बजारलाई प्रभावशाली रूपमा हल्लाइरहेको छ । बिटिएस पप ब्यान्डको रूपमा मात्र होइन, आज कोरियाली अर्थतन्त्र, संस्कृति र सफ्ट पावरको बलियो प्रतीक बन्दै गएको छ ।
पछिल्ला तथ्यांकअनुसार बिटिएसले कोरियाली अर्थतन्त्रमा वार्षिक करिब ५ अर्ब अमेरिकी डलर बराबरको योगदान दिएको मानिन्छ । द डेली, सिएनए जस्ता मिडियामा प्रकाशित समाचारअनुसार संगीत बिक्री, डिजिटल स्ट्रिमिङ, कन्सर्ट टुर र पर्यटनमार्फत उनीहरूले कोरियामा ठूलो आर्थिक गतिविधि सिर्जना गरिरहेका छन् ।
विश्व संगीत बजारमा पनि यस ब्यान्डले आफ्नो छाप झन्–झन् गाढा बनाउँदैछ ।
सांस्कृतिक रूपमा पनि बिटिएसको प्रभाव गहिरो छ । उनीहरूका गीत र सन्देशले मानसिक स्वास्थ्य, आत्म–स्वीकृति र युवाको आवाज विश्वभर फैलाएका छन् । परिणामस्वरूप कोरियाली भाषा, फेसन, खाना र जीवनशैलीप्रति अन्तर्राष्ट्रिय चासो झन्–झन् बढ्दैछ ।
कोरियाबाट ४१ हजार किलोमिटर टाढा काठमाडौंमा पनि कोरियन गीत–संगीतले तरंग सिर्जना गर्छ । बिटिएसजस्तै दक्षिण कोरियाली फिल्म तथा म्युजिक उद्योगले पछिल्लो दशकमा त्यहाँको अर्थतन्त्र र सांस्कृतिक प्रभावमा ठूलो योगदान दिएका छन् ।
ब्ल्याकपिंक, सेभेन्टिन, स्टारशिप इन्टरटेनमेन्ट लगायत विभिन्न ब्यान्ड र प्रोडक्सन हाउसबाट उत्पादन हुने सामग्रीले संसारभर कोरियन कला र मनोरञ्जनमार्फत विश्व नक्सामा मजबुत रूपमा उभ्याउँदै लगेका छन् ।
अब कोरियन फिल्म र म्युजिक उद्योगले मनोरञ्जन मात्र होइन, देशको अर्थतन्त्र र संस्कृतिलाई पनि सँगसँगै अघि बढाइरहेका छन् ।
छिमेकी मुलुक भारत फिल्म र गीत–संगीतको माध्यमबाट विश्वभर आफ्नो कब्जा जमाउँदैछ । भारत सरकारले चलचित्रलाई महत्वपूर्ण उद्योगको रूपमा लिएर यसको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र आर्थिक प्रभावलाई मजबुत बनाएको मानिन्छ । \
अन्तर्राष्ट्रिय फिल्म बजारमा बलिउड फिल्मको सहज प्रदर्शनका लागि विशेष बजार, प्रोत्साहन, विदेशी फिल्मलाई देशमा कर छुट जस्ता स्किम, फिल्म उत्पादनमा ३०–४० प्रतिशत आर्थिक छुट लगायतले अन्तर्राष्ट्रिय प्रोजेक्टहरू भारतमा ल्याउन र नेटफ्लिक्स जस्ता विदेशी लगानीकर्तालाई बलिउड प्रोजेक्टमा लगानी गर्न उत्साहित बनाएको छ ।
द टाइम्स अफ इन्डियाका अनुसार भारतको चलचित्र, टेलिभिजन र ओटीटी/स्ट्रीमिङ उद्योगले वार्षिक करिब ६१.२ अर्ब अमेरिकी डलर (५.१४ लाख करोड भारतीय रुपैयाँ) बराबरको योगदान दिइरहेको छ । भारतीय मनोरञ्जन बजारमा २.६४ मिलियन (२६ लाखभन्दा बढी) ले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । अप्रत्यक्ष रोजगारीको संख्या अथाह छ ।
भारतीय गीत–संगीत र फिल्म विश्वभर लोकप्रिय छन्, जसले विदेशी बजारबाट विदेशी मुद्रा ल्याउँछ र देशको सफ्ट पावर, संस्कृति, कला, खानपान र जीवनशैलीलाई समेत मजबुत बनाउँछ। सोही कारण विदेशी कार्यक्रममा हिन्दी गीत बज्छन्, भारतीय गायक पुगेर प्रस्तुति दिन्छन् ।
संसारका यी दुई शक्तिशाली मुलुकहरूले हतियारको पावरमा मात्र होइन, मनोरञ्जन उद्योगको प्रभाव र पहुँचमार्फत पनि विश्वमा आफ्नो दबदबा झन् बढाउँदै लगेका छन् ।
तर, कला र संस्कृतिको हिसाबले संसारमै अग्रणी पहिचान बोकेको नेपाल आज यही क्षेत्रमा अत्यन्त कठिन र कमजोर अवस्थाबाट गुज्रिरहेको छ ।
निर्माता तथा कलेज सञ्चालक अविरल थापा भन्छन्, ‘नेपाली फिल्म उद्योग र गीत–संगीत आज सङ्क्रमणकालमै छ। सरकारले यस क्षेत्रलाई न नीतिगत रूपमा हेरेको छ, न त कर संरचनामार्फत सहयोग नै गरेको छ। वार्षिक २–३ अर्ब रुपैयाँ बराबरको फिल्म निर्माण भए पनि राज्यको ध्यान पुग्न सकेको छैन ।’
उनका अनुसार राजनीति र राज्य संयन्त्रले गर्न नसकेका धेरै काम सेलिब्रेटी र कलाकारहरूले गर्न सक्छन् ।
‘यो विषयमा गम्भीर र सार्थक छलफल आवश्यक भइसकेको छ। कम्तीमा एकपटक वृहत्त राउण्ड टेबल कार्यक्रम आयोजना गरेर सम्बन्धित सबै पक्षलाई एउटै टेबलमा बसाल्न जरुरी छ,’ उनी भन्छन्।
थापाको जोड स्पष्ट छ— अब कसैले पहल गर्नैपर्छ । कलाकार, निर्माता, लगानीकर्ता, नीति निर्माता र राज्यबीच खुला संवाद नगरी नेपाली कला–संस्कृतिको भविष्य सुरक्षित हुन सक्दैन ।
नेपाली मनोरञ्जन उद्योगलाई देशको नेतृत्व तहले पर्याप्त दृष्टिकोण नदिएको मात्र होइन, विदेशमा जस्तो कर्पोरेट हाउसबाट आवश्यक सहयोग समेत मिलेको देखिँदैन । यदि सबैतिरबाट यस्तै उदासीनता र हेपाइ जारी रह्यो भने, नेपाली मनोरञ्जन उद्योग झन् अलपत्र पर्न सक्ने खतरा देखिन्छ ।
समयमै नीति, लगानी र संरचनात्मक सहयोग मिल्यो भने यो उद्योग कोरिया र भारतजस्तै छलाङ मार्न सक्ने धेरैको बुझाइ छ ।
देशको वर्तमान अवस्था देखेरै नेपाली फिल्म, गीत–संगीतका थुप्रै अभिनेता, अभिनेत्री, गायक, गायिका र स्थापित टेक्निसियनहरू अमेरिका, युरोप, अष्ट्रेलिया जस्ता देशमा असाधारण क्षमता र विशिष्ट प्रतिभा प्रमाणित गर्दै पलायन भइरहेका छन् ।
ती देशहरूले नेपाली सेलिब्रेटी तथा टेक्निसियनहरूलाई निवास र अन्य सेवा सुविधा उपलब्ध गराउँछन्, र कला क्षेत्रका योगदानका लागि उनीहरूलाई योग्य ठान्छन् ।
किनभने विदेशले बुझ्छ— ‘कला राष्ट्रको शक्ति हो’। कला राष्ट्रको पहिचान, सांस्कृतिक प्रभाव र विश्वव्यापी प्रतिष्ठाको मुख्य आधार हो । तर, त्यही कलाकार स्वदेशमा हुँदा राज्यको नजरमा पर्दैनन् । न उनीहरूलाई विशेष नागरिकको सम्मान मिल्छ, न उनीहरूको कला र योगदानलाई राष्ट्रिय शक्ति मानिन्छ ।
हाल अमेरिकामा रहेका द्वन्द्व निर्देशक हिमाल केसी सरकारको असक्षमताकै कारण देशबाट धमाधम युवा पलायन भइरहेको बताउँछन् । ‘नेपाल सरकारमा रहेका अधिकांश मान्छे अयोग्य, गैरजिम्मेवार र अवसरवादी भएका कारण यस्तो अवस्थामा यो देशमा को बस्न चाहन्छ ?’— उनी प्रश्न गर्छन् ।
केसीका अनुसार सन्तानको भविष्यप्रतिको चिन्ता र आफ्नै जीवनको अस्थिरताले उनलाई विदेशिन बाध्य बनायो । ‘योग्यताअनुसार काम गर्ने कुनै वातावरण नै छैन। मैले नेपाली फिल्म उद्योगमा १४ वर्ष काम गरेँ, वर्षौँ संघर्ष गरेँ, तर त्यो लामो अवधिमा सरकारले कहिल्यै तालिम, प्रोत्साहन वा संस्थागत सहयोग दिएको अनुभूति भएन,’ उनी भन्छन् ।
उनको भनाइमा कला क्षेत्रमा निरन्तर एकनास संघर्ष मात्र सम्भव हुँदैन । ‘देशको समग्र अवस्था नै बस्न लायक छैन। अवसर छैन, सुरक्षाको प्रत्याभूति छैन, सम्मान छैन । त्यसैले अन्ततः म देश छोड्न बाध्य भएँ,’ केसी स्पष्ट पार्छन् ।
जबसम्म सरकारले कलाकार र प्राविधिकलाई देशका गहना र महत्वपूर्ण मानव पूँजीका रूपमा बुझ्दैन, तबसम्म यो पलायन झन् बढ्नेछ ।
एउटा कलाकारले देशका लागि के गर्न सक्छ ? यो प्रश्न हामीले कहिल्यै गम्भीर भएर सोचेका छैनौँ । एउटा कलाकारले फिल्म, गीत–संगीतमार्फत देशलाई नक्साभन्दा धेरै टाढासम्म चिनाउन सक्छ, जुन कोरिया र भारतीय मनोरञ्जन उद्योगबाट सहजै बुझ्न सकिन्छ ।
नेपाल संसारको कुनै पनि देशभन्दा कमजोर नरहेको तर नेपाल सरकारले जहिल्यै फिल्म र संगीतलाई राष्ट्र निर्माणको औजार नमानेको देशमा रहेका मनोरञ्जन उद्योग व्यवसायी बताउँछन् । सोही कारण आज नेपाली कलाका गहनाहरू देशमै बस्ने बाटो खोजिरहेका छैनन्, देश छोड्ने जुक्ति खोजिरहेका छन् ।
मनोरञ्जनका लागि रक्सीभन्दा पनि तल राखेर जसरी व्यवहार गरिन्छ, त्यसले नेपालको कला र संस्कृतिमा काम गरिरहेकाहरूको मनोबल झन् घटाइरहेको छ । अहिलेसम्म नेपालले यस विषयमा न त स्पष्ट नीति बनाएको छ, न त कलाकारलाई दीर्घकालीन सुरक्षा दिने योजना तयार गरेको छ ।
यस उद्योगमा काम गर्ने जो कोही बिरामी परे, काम नपाए वा बुढो भएपछि के हुन्छ ? यी प्रश्नहरूको जवाफ न सरकारसँग छ, न उद्योगसँग। त्यसैले नेपालमा कलाकार र यस उद्योगमा काम गर्नु पेशा होइन, जोखिम हो ।
विदेशले चिनेको प्रतिभा, आफ्नै देशले किन चिन्दैन ? यदि नेपाली कलाकार साँच्चै सामान्य हुन्थे भने, विदेशी देशहरूले किन उनीहरूलाई असाधारण क्षमता भन्दै ग्रिनकार्ड दिन्थे ? यदि उनीहरूको कला मूल्यहीन हुन्थ्यो भने, संसारले उनीहरूलाई सांस्कृतिक योगदानकर्ता भनेर स्वागत गर्थ्यो होला ?
धेरै कलाकार विदेश जानुको मुख्य कारण आफ्नो व्यक्तिगत चाहना होइन, परिवार र सन्तानको भविष्य हो । नेपालमा कलाकारले बस्न त सक्छन्, तर सुरक्षित अभिभावकको रूपमा बाँच्न सक्दैनन् ।
अमेरिकामा रहेका एक चर्चित अभिनेता भन्छन्, ‘देशको माया त धेरै छ । पलायनको चाहना थिएन । आत्मसम्मान बचाउने अन्तिम विकल्प स्वरूप देश छोडेको हुँ ।’
उनीजस्तै विदेशमा रहेका कलाकार भन्छन्, ‘विदेशले पहिले मानिसलाई मान्छ, पछि कलाकार। नेपालले चाहिँ प्रयोग मात्र गर्छ ।’
अस्ट्रेलियामा रहेका गायक इश्वर पोखरेल भन्छन्, ‘यो प्रश्न कलाकारलाई होइन, देश र शासनसत्तालाई सोध्न जरुरी छ। कलाकार दोषी होइनन्। फिल्म र संगीतलाई राष्ट्रिय शक्ति ठान्ने दृष्टिकोण नहुँदा धेरैले देश छोड्नु परेको हो ।’
त्यसो त मनोरञ्जन उद्योगकर्मीहरूको मनोबल बढाउन र क्षमता बढाउन भन्दै राज्यको तर्फबाट पुरस्कार र सम्मान कार्यक्रम भइरहेको देखिन्छ । तर, अधिकांश पदक र पुरस्कार विवादास्पद बन्ने गरेका छन् ।
चलचित्र विकास बोर्ड र सञ्चार मन्त्रालय अन्तर्गतका राष्ट्रिय चलचित्र पुरस्कारमा पारदर्शिता नभएको, पहुँच र राजनीतिक प्रभाव हावी भएको आरोप सुन्न पाइन्छ। महिला कलाकार, प्राविधिक र नयाँ प्रतिभा प्रायः उपेक्षित हुन्छन् ।
राष्ट्रपति पदक (प्रबल जनसेवा, उज्ज्वल कीर्तिमय, गौरव पदक) कला, संस्कृति, साहित्य, संगीतमा योगदानका आधारमा दिइनुपर्ने भए पनि, प्रायः सत्तासँग नजिक वा सम्बन्धित व्यक्तिहरूलाई प्राथमिकता दिइन्छ ।
प्रज्ञा–प्रतिष्ठानले दिने प्रज्ञा पुरस्कार पनि वरिष्ठता र योगदानभन्दा सम्बन्ध हेरिने आरोपले अलोकप्रिय बनेको छ ।
सरकारी नभए पनि मदन पुरस्कार जस्ता पुरस्कार राज्य संरचनासँग नजिक हुँदा विवादबाट मुक्त रहन सकेका छैनन् । विभिन्न क्षेत्रका व्यक्तित्वलाई दिइने राष्ट्रिय विभूषण तथा मानपदवी घोषणा भए पनि वितरणमा ढिलाइ हुने समस्याले सम्मानको गरिमा घटाएको छ ।
नेपालमा कलाकार सिर्फ कलाकार नभएर राष्ट्रिय पहिचानको संरक्षक हुन सक्छन्, तर राज्य र नीति निर्माताको दृष्टिकोण परिवर्तन नहुँदा यो सम्भावना कम हुँदै गएको छ ।
नेपाली मनोरञ्जन व्यवसायीलाई राज्यले त मतलब राख्दैन, उद्योग र कर्पोरेट क्षेत्रले पनि पर्याप्त रूपमा किन अपनाएको देखिँदैन ? नविल बैंकका सीईओ मनोज ज्ञवाली भन्छन्, ‘जो कसैले लगानी गरेपछि प्रतिफल कस्तो आउँछ ? त्यसैअनुसार लगानी गर्छन् । कर्पोरेट हाउसहरूले गर्ने निर्णय रिटर्न र रिस्कको आधारमा हुन्छ ।’
उनका अनुसार कर्पोरेटहरूको नजरमा फिल्म र कला क्षेत्रमा लगानी गर्न विशेष आकर्षण नभएको कारण प्रत्यक्ष फाइदा नदेखिनु हो ।
उनी थप्छन्, ‘हालै ‘परान’ नामक चलचित्रमा गोल्छा टिमले लगानी गरेको थियो । कमाई पनि राम्रो भयो । यस्तै सफलता देखिन थालेपछि लगानी गर्नेको संख्या स्वाभाविक रूपमा बढ्नेछ।’ सीएसआर अन्तर्गत सहयोग भइरहेको भए पनि, कला र संस्कृतिलाई दीर्घकालीन र प्रभावकारी दायित्वका रूपमा लिएर काम गर्न अझ धेरै आवश्यकता रहेको सीईओ ज्ञवाली स्वीकार्छन् ।
सारा कर्पोरेट हाउसको धारणा लगभग यही छ । फिल्म, संगीत र कला भनेपछि उनीहरूको आँखा घुम्छ। उनीहरूमा जोखिम र अस्थिरता देखिन्छ, तर सम्भावना देखिँदैन ।
नेपालमा हरेक ठूला कम्पनी सीएसआरको कुरा पटक–पटक गर्छ । तर, कला क्षेत्रमा उनीहरूको प्राथमिकता लगभग हुँदैन । रंग लगाउने, रुख रोप्ने, सरसफाइ कार्यक्रम, पानी वितरण—यी छोटो अवधिका काममा मात्र उनीहरूको ध्यान जान्छ ।
फिल्म, संगीत, कला र संस्कृति कहिल्यै सीएसआरको मुख्य प्राथमिकतामा परेको देखिँदैन । जबकि संसारभर कला र संस्कृति नै सबैभन्दा प्रभावशाली सीएसआर मानिन्छ, किनभने यसको प्रभाव एकदिनको कार्यक्रम होइन, पुस्तौँसम्म रहिरहन्छ ।
यदि नेपाली उद्योग, बैंक र कर्पोरेट क्षेत्रले नेपाली फिल्म, संगीत र कलालाई व्यवस्थित रूपमा समर्थन गरेको भए, यो उद्योग आर्थिक रूपमा अझ बलियो हुने नेपाली फिल्मका जानकारहरू बताउँछन् । एउटा राम्रो फिल्मले देश चिनाउँछ, पर्यटन बढाउँछ, भाषा र संस्कृतिलाई अन्तर्राष्ट्रिय बनाउँछ । एउटा गीतले देशको भावना संसारभर पु¥याउँछ । तर, यहाँ सहयोग माग्दा कलाकार इग्नोर हुन्छन्, जबकि लाखौं आर्थिक र सांस्कृतिक गतिविधि यससँग जोडिएको छ ।
नवगायक विजय अर्याल नेपाली कलाकारप्रति राज्य र समाजको दोहोरो व्यवहारप्रति गम्भीर प्रश्न उठाउँछन् ।
‘विदेशी कलाकारलाई नेपालमा ल्याएर कार्यक्रम गर्न करोडौँ रुपैयाँ खर्च भइरहेको हुन्छ, तर यही देशका कलाकारको प्रोत्साहन, विकास र सुरक्षामा कसैले ध्यान दिँदैन,’ उनी भन्छन् ।
उनका अनुसार यस्तो वातावरणमा नेपाली कलाकारले यही देशमा बसेर आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने विश्वास कसरी गर्न सक्छ ? ‘जब आफ्नै माटोले अपनत्व देखाउँदैन, तब कलाकार विदेशतिर आँखा लगाउनु स्वाभाविक हुन्छ,’ अर्यालको भनाइ छ।
गायक समिर आचार्य पनि देशको माहोल राम्रो भएमा देशमै रहेर धेरै काम गर्न सक्ने बताउँछन्। “बाहिर बसेर देश यस्तो देश उस्तो भनेर कम्प्लेन गर्नु हुँदैन, गीत–संगीतको माहोल यति उच्च होस् कि वर्षमा दुई–तीनपटक गीत–संगीतले नै नेपाल आउन सकियोस्,’ उनी भन्छन् । ‘देशमा राजनीतिक रूपमा स्थिर वातावरण मिल्यो भने सम्पूर्ण क्षेत्रलाई सहज हुन्थ्यो ।’
यदि कर्पोरेटहरूले मापदण्ड तय गरेर विशेष लोन प्रोडक्ट वा कला फन्ड बनाएका हुन्थे, यदि कलाकारलाई ब्रान्ड एम्बेस्डर होइन, कल्चरल पार्टनर मानेका हुन्थे, आज नेपाली कला आर्थिक रूपमा बलियो हुने धेरैको बुझाइ छ ।
चर्चित चार्टर्ड एकाउन्टेन्ट राजेश कुमार शाह भन्छन्, ‘यदि राज्यले कला र संस्कृतिमा लगानी र सहयोग गर्ने हो भने, यसबाट प्रत्यक्ष रूपमा देशलाई विभिन्न क्षेत्रमा लाभ लिन सकिन्छ ।’ धेरैले भन्छन्, ‘यो उद्योगबाट खास फाइदा हुँदैन, किन लगानी गर्ने ?’ तर शाह भन्छन्, ‘संसारभर आफ्नो देशको कला, संस्कृति र ब्रान्ड भ्यालु देखाउन फिल्म र गीत–संगीत प्रयोगमा ल्याउन सकिन्छ।
डिमान्ड नहुँदा पनि डिमान्ड सिर्जना गर्न सकिन्छ । अहिले राज्यको उपेक्षामा कला र संस्कृति चौपट भएका कारण, यस उद्योगमा काम गर्ने कलाकार र कर्मीहरू पलायनमा छन् ।’ उनको दृष्टिमा, राज्यको सक्रिय भूमिका र योजना भए, नेपाली कला–संगीत उद्योग देशको आर्थिक र सांस्कृतिक शक्ति बन्न सक्थ्यो ।
प्रतिक्रिया 4