+
+
Shares

रुवाउने फिल्मको जग हँसाउने कुरा

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८२ माघ २२ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म लेखक सामिप्य राज तिमल्सेनाले यो मार्केटिङ शैली बन्द गर्न आग्रह गर्दै यसले उद्योगको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव पार्ने बताएका छन्।

नेपाली फिल्म निर्माताहरू अनौठा र कहिलेकाहीँ हास्यास्पद देखिने मार्केटिङ शैलीतर्फ आकर्षित भइरहेका छन् ।  फिल्म हलभित्र दर्शक रोइरहेको दृश्य खिचेर फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा राख्ने र त्यसलाई बूस्ट गरेर जबर्जस्ती भाइरल बनाउने प्रवृत्ति अचानक ट्रेन्डजस्तै देखिन थालेको छ ।

निर्देशक तथा निर्माता चन्द्र पन्त पछिल्लो समय एकाएक चर्चामा आएको यही मार्केटिङ ट्रेन्डको केन्द्रमा तानिएका छन् । उनलाई लागेको मुख्य आरोप के हो भने चलचित्र ‘आ बाट आमा’ लाई हिट गराउन दर्शक रोएको दृश्यलाई सामाजिक सञ्जालमा साझा गर्ने र त्यसलाई प्रचारको माध्यम बनाइएको छ ।

यहाँसम्म कि देश तथा विदेशमा प्रदर्शन भइरहेका शोहरूमा दर्शक रोएको दाबी गर्दै उनको कम्पनीले सार्वजनिक रूपमा एक विज्ञप्ति नै जारी गर्‍यो । आर्या इन्टरटेनमेन्टको ब्यानरमा हिजो सार्वजनिक भएको उक्त विज्ञप्तिमा भनिएको छ- ‘आ बाट आमा’ हेर्ने सम्पूर्ण दर्शकहरूप्रति हामी माफी चाहन्छौं । हाम्रो फिल्म हेरेर तपाईंहरू रुनुभयो, भक्कानिनुभयो र पुराना पीडाहरू सम्झँदा मन दुख्यो भन्ने खबर हामीसम्म आइपुगेको छ । कतिपय दर्शकहरू फिल्म हेर्दै बेहोस भए, कोही बिरामी परे र धेरैलाई मानसिक रूपमा गाह्रो परेको जानकारी पाएका छौं । हाम्रो उद्देश्य कसैलाई रुवाउने वा चोट पुर्‍याउने होइन । जब फिल्मको कथा आफ्नै जीवनसँग मेल खान्छ, त्यतिबेला भावनालाई थाम्न गाह्रो हुने रहेछ । फिल्म हेर्नुहुने सबैलाई धन्यवाद, र तपाईंको मन दुखेकोमा हामी क्षमाप्रार्थी छौं ।’

यस विज्ञप्तिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपय दर्शकहरूले यसलाई मजाकको रूपमा लिएका छन् भने केहीले यसलाई अनावश्यक भावनात्मक प्रचारको संज्ञा दिएका छन् । हाम्रो उद्देश्य यहाँ फिल्म नराम्रो छ भन्ने निष्कर्ष निकाल्नु होइन, तर कतै न कतै ‘आ बाट आमा’ टिमले दर्शकको भावनात्मक प्रतिक्रियालाई मार्केटिङ टुलको रूपमा प्रयोग गरेको जस्तो देखिन्छ ।

यद्यपि, फिल्मका निर्देशक चन्द्र पन्त भने यी आरोपलाई अस्वीकार गर्छन् । उनका अनुसार दर्शक रोएको घटना सत्य हो र विज्ञप्ति निकाल्नु बाध्य भएर गरेको कदम थियो। उनले भने- ‘दर्शक रोएका भिडियोहरू फेक होइनन्। हामीले तिनलाई प्रचारको साधन बनाउन खोजेका छैनौं । नेपालसँगै अमेरिकाको टेक्सास, युएईलगायतका स्थानमा फिल्म हेर्दै दर्शक ढलेको घटनासमेत भएका छन् । हाम्रो उद्देश्य केवल फिल्म हेर्ने सबै दर्शकप्रति धन्यवाद व्यक्त गर्नु मात्र हो ।’

निर्देशक पन्तका अनुसार अहिलेसम्म चलचित्रले करिब ३ करोड रुपैयाँ बराबरको व्यापार गरिसकेको छ । देशभरका हलहरूमा शोहरू हाउसफुल भइरहेकाले आगामी दिनमा अझ बढी कमाइ गर्ने सम्भावना रहेको उनको दाबी छ ।

नेपालको फिल्म व्यापारमा रेकर्ड ब्रेक गर्न सफल चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलले त्यतिबेला दर्शक रोएका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक हुनु मार्केटिङको रूपमा प्रभावकारी भएको स्वीकार गरेका छन्। उनका अनुसार सुरुमा स्वतःस्फूर्त रूपमा आएको दर्शकको भावनात्मक प्रतिक्रिया पछि गएर प्रचारमा सहयोगी बनेको थियो । तर, त्यसपछि अन्य फिल्मका निर्माताहरूले पनि त्यही शैलीको सिको गर्न थालेको उनी बताउँछन् । निर्देशक पौडेल भन्छन्- ‘हामीले सुरुका तीन दिनसम्म दर्शक तान्न नसकेको सत्य हो । तर त्यसपछि हलमा दर्शक धमाधम आउन थाले । त्यसमा कतै न कतै दर्शक रोएको दृश्य र ती भिडियोहरू सामाजिक सञ्जालमा आउनुले ठूलो भूमिका खेलेको त हो। तर अहिले आएर हरेक फिल्मले त्यही प्रकृतिलाई मार्केटिङ टुल बनाउने प्रयास गरिरहेको देखिन्छ, जसले दर्शकलाई अझ बढी कन्फ्युज बनाइरहेको छ ।’

उनका अनुसार, एउटै प्रकारको भावनात्मक प्रचार निरन्तर दोहोरिँदा दर्शकमा विश्वासभन्दा बढी शंका पैदा हुन थालेको छ । यही कारणले निर्देशक पौडेल आगामी फिल्म ‘सिन्दुरे जात्रा’मा ‘रोनाधोना’ केन्द्रित विषय छोडेर बिल्कुलै फरक विषयवस्तुमा काम गर्न लागेको जानकारी दिएका छन् ।

सुपरहिट चलचित्र ‘परान’ ले केही दिनअघि मात्रै १०० दिन प्रदर्शन पूरा गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ । यो फिल्म सर्वाधिक व्यापार गर्ने चौथो नेपाली फिल्मको रेकर्डसमेत राख्न सफल भएको छ । भावनात्मक रूपमा दर्शकलाई रुवाउने कथावस्तु भए पनि ‘परान’ को कथा दर्शकका लागि हेर्न लायक र अर्थपूर्ण थियो ।

फिल्मको प्रिमियरका दिन निर्देशक दीपक आचार्यले भावुक हुँदै रोएर रुने पछिल्लो परम्पराको उद्घाटन गरे । तर, प्रिमियरपछिको भोलिपल्टदेखि फिल्म अपेक्षित रूपमा चलेन । लगातार दुई दिनको वर्षाका कारण दर्शक हलसम्म पुग्न सकेनन् । त्यसबेला निर्देशक आचार्यले सामाजिक सञ्जालमा ‘अहिलेलाई यस्तै भयो’ भन्ने संकेत दिने स्टाटस लेख्दै फिल्म नचलेको भान दर्शाएका थिए। तर, समयसँगै अवस्था फेरियो । दर्शक फेरि फिल्म हेर्न आउन थाले, र हलभित्र भावुक भएर रोएका दृश्यहरू सामाजिक सञ्जालमा देखिन थाले। बिस्तारै फिल्मप्रति चासो बढ्दै गयो र दर्शकको ओइरो लाग्न थाल्यो । मिडियाहरूले पनि क्यामेरामा दर्शक रुँदै गरेका भिडियो खिच्दै सार्वजनिक गरिरहे, त्यसलाई निर्माण टिमले धमाधम शेयर गरेको देखियो ।

यद्यपि, निर्देशक आचार्य दर्शक रोएपछि मात्रै फिल्म चल्छ भन्ने भ्रम नफैलाउन आग्रह गर्छन् । उनी भन्छन् – ‘यो फिल्मले समाजको कथा बोलेको हो । रोएका क्लिप्सकै कारण फिल्म चलेको भने होइन । फिल्म चल्नका लागि राम्रो हुनुपर्छ। हाम्रो केसमा माउथ पब्लिसिटीले काम गरेको हो ।’

उनले थपे, यदि रुँदै-कराउँदै भिडियोहरूलाई जबर्जस्ती सामाजिक सञ्जालमा फैलाएर फिल्म चलाउने ‘टुल’ का रूपमा प्रयोग गर्न थालियो भने, विस्तारै दर्शकले त्यस्ता प्रचार शैलीमाथि विश्वास गर्न छोड्ने खतरा रहेको छ ।

अभिनेता सरोज खनाल पनि पछिल्लो समय चलेको यो किसिमको मार्केटिङ ट्रेन्डले आफूलाई कन्फ्युज पारेको बताउँछन् । उनका अनुसार ‘पूर्ण बहादुरको सारंगी’ बाट सुरु भएको यो चलनलाई जब ‘फण्डा’ को रूपमा प्रयोग गर्न थालियो, तब यसले गम्भीर प्रश्न उठाउन थालेको छ । उनी भन्छन्- ‘यो ट्रेन्डलाई फर्मुलाजस्तै चलाउँदा केही समय त कुनै–कुनै फिल्म चल्लान् । तर दीर्घकालीन रूपमा हेर्दा दर्शक झुक्किएर हलमा आउनै छाड्लान् कि भन्ने डर लाग्छ ।’

फिल्म राम्रो छ भने माउथ पब्लिसिटीले चलिहाल्छ । तर अहिले आएको यो ट्रेन्ड त मजाककै विषय बनिरहेको छ ।

अभिनेता खनाल नेपाली सिनेमाको भविष्य खासै राम्रो नदेखेको बताउँछन् । आजकाल आफैं टिकट किन्ने, आफैं दर्शक रुवाउने र त्यो भिडियो सामाजिक सञ्जालमा राख्ने काम भइरहेको छ, उनी भन्छन्- ‘दर्शकले अब यो ‘फण्डा’ हो भनेर बुझिसकेका छन् । बेलैमा ध्यान नदिए गुम्दै गएका दर्शक फेरि फर्काउन निकै मुस्किल पर्न सक्छ ।’

विचार गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा के पनि हो भने फिल्म हेर्दा जो–कोही भावुक हुन्छन् र कहिलेकाहीँ रुन्छन् । तर सामान्यतः मानिस आफ्नो रोदन अरूले नदेखून् भनेर आँखा छोप्छन्, हातले अनुहार ढाक्छन्, पछ्यौरी वा गलवन्दीले आँसु पुछेर लुकाउँछन् । इमोशनल फिल्म हेरेपछि भावुक हुनु स्वाभाविक हो । तर आजकाल किन दर्शक दिनदहाडै क्यामेराअगाडि भक्कानिएर रुन थालेका छन् ? यही प्रश्नले धेरैलाई अचम्ममा पारेको छ। स्वयम् दर्शकहरू नै यस प्रवृत्तिलाई हास्यास्पद भन्दै मजाक बनाइरहेका छन् ।

यसै सन्दर्भमा फिल्म लेखक तथा समीक्षक सामिप्य राज तिमल्सेनाले पछिल्लो समय चलिरहेको यो ट्रेन्ड तत्काल बन्द गर्न आग्रह गरेका छन् । उनी भन्छन्- ‘यसरी मार्केटिङ गर्दा केही हदसम्म दर्शक हलमा आउँछन्, दर्शक हलमा आउँदा फिल्म निर्माता खुशी हुनु स्वाभाविक हो । यस्ता भिडियोहरूले अलिकति दर्शक तानेका पनि छन् । तर पारिवारिक र इमोशनल भनिएका फिल्मका निर्माता–निर्देशकहरूले एकैखालको शैली अपनाउँदा यो अब मजाकको विषय बन्दै गएको छ ।’

त्यसो त पछिल्लो समय धेरैले यो शैलीलाई ‘पेड आँसुको व्यापार’ भनेर व्यङ्ग्य गर्न थालेका छन् ।

लेखक तिमल्सेनाका अनुसार समीक्षकको दृष्टिकोणबाट हेर्दा यो सही अभ्यास होइन । यसले दर्शकलाई भ्रमित बनाउँछ । फिल्म रुवाउने भएकै कारण राम्रो हुन्छ भन्ने न्यारेटिभ बन्दै जानु दीर्घकालीन रूपमा घातक हुन सक्छ। ‘कुनै एक निर्माताले कमाइ गर्न सक्छ, तर यसले समग्र उद्योगको विकास गर्दैन,’ उनी थप्छन्, ‘अहिले जुनसुकै फिल्म रिलिज हुँदा पनि क्यामेरा तेर्स्याउने, दर्शक रुवाउने दृश्य कैद गर्ने र त्यो सामाजिक सञ्जाल तथा मिडियामा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै जानु नेपाली फिल्म उद्योगका लागि चिन्ताजनक संकेत हो ।’

लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?