News Summary
Generated by OK AI. Editorially reviewed.- कोरियन ड्रामा ह्वेन लाइफ गिभ्स यु ट्यान्जराइन्सले जेजु टापुकी आमाहरूको संघर्ष र सामाजिक पिडालाई कवितात्मक शैलीमा प्रस्तुत गरेको छ।
निधार चुम्न झरेका हिउँदका पारिला घाम उसले हत्केलाले छेकि । र, एउटा आँखा चिम्स्याउँदै फर्किइ, ‘कोरियन सी फुड खा’छौं’ अपर्झट उसको प्रश्न तेर्सियो । हामी दायाँपट्टि रहेको ‘के-पप-कोरियन फुड एण्ड रेस्ट्रो’ अगाडि उभिएका थियौं । मसिना धागोका रेसा जस्ता बौद्धको गल्ली । मध्यान्नको समय । कोलाहल भीड । मुस्कान खिच्न व्यस्त मोबाइल । स्तुपाको शिर नियाल्दै चलमलाइरहेका रिम्पोछे ।
अनि, ‘कोरियन ड्रामा नि !’, ऊ फेरि एकाएक चिच्याइ !
होइन, कस्ता प्रश्न हुन् ? म तर्सिएँ । हामी त ‘रिल्दोक’ खान आइपुगेका थियौं । बरू, सोलुखुम्बुको ठाउँ सोध्नु । ‘रिल्दोक’ बनाउन प्रयोग हुने आलु फल्ने गाउँ सोध्नु ‘कोरियन फुड ? अनि, कोरियन ड्रामा ?’ मैले मुण्टो झट्कार्दै ‘नहेरेको’ जनाउ दिएँ । मेरो कुरा सकिन नपाउँदै ऊ खित्का छाडेर हाँसी । ‘के सिनेमा हेर्छु भनेर फुँइ लाउछौं’, गफै बढी केटोको । कोरियन ड्रामा । झन् त्यसमाथि सिनेमा ।
व्यागबाट मोबाइल फुत्त झिकी । गुगलमा सर्च गर्दै उसले फटाफट कोरियन ‘सिनेमा/ड्रामा’ को बारेमा कक्षा लिन लागी । म त कठ्याङ्रिएँ पो ! हँ ! हँ ! धेरथोर सिनेमा म पनि हेर्थें । के हेर्ने/नहेर्ने बेलाबखत म सिफारिस गर्थें । कहिलेकाहीं उत्पातै जाँगर चल्दा लेख पनि लेख्थें । अनि, सिनेमासम्बन्धी धेरथोर गफ पनि दिन्थें तर आज…!
०००
त्यसपछि, ‘रिल्दोक’को झोल र ‘नुनचिया’ पिउँदापिउँदै समय सिनेमाको ‘रिल’ झैं फटाफट दौडियो । साँझ पर्यो । घर आइपुगें । मलाई ‘माथेमा’ सरलाई झैं झनक झोंक चलेको थियो । ल्यापटप खोले । नेटफ्लिक्समा कोरियन ड्रामा/सेरिज खोज्न थालें ।
म ‘कोरियन’ ड्रामा/सेरिजको फूलबारीमा भौतारिँदै थिएँ एकाएक आँखा टक्क अडियो— ‘ह्वेन लाइफ गिभ्स यु ट्यान्जराइन्स’ मा । यसको शीर्षकले नै मन हर्यो । मैले ‘रिभ्युसँग’ कुनै मोह राखिन । ढिला नगरी सेरिजको दुनियाँमा छिरिहालें र हराएँ केही रात कोरियन ‘जेजु टापु’को रंगिन कोलाजमा…!!
०००
कुनै कवि भन्नुहुन्थ्यो । कविता ‘फारू विधा’ हो । समय लगाएर लेख्नुपर्छ । समय लगाएरै पढ्नुपर्छ । तब न अर्थहरू सुस्तरी खुल्दै जान्छन् । यो सेरिजको हकमा पनि यही कुरा लागू हुन्छ । समय लगाएर सुस्तरी चाख्नुपर्छ ।
जब मैले ‘ह्वेन लाइफ गिभ्स यु ट्यान्जराइन्स’ का सुरुको दृश्यमा पाठ गरिएका हरफहरू सुनें । म भित्र एक किसिमको छुट्टै ‘न्यायोपन’ को आभास उत्पन्न भयो । छुट्टै तरङ्ग । भनौं, कविताको शक्ति ।
कविताले धेरैथोक भन्दो’रैछ- मान्छेको मन । मनसँग टाँसिएको वेदना । वेदनाको आँखामा छटपटाएका सपना । सपनाभित्र गुम्सिएको संघर्ष । संघर्षले जन्माएको चेतना । के भन्दैन कविताले ? मान्छेको तमाम् मानवीय संवेदना । र त एउटा बुढो पात्रले त्यहाँ बाचन गरेको कविताले मलाई निकै दिन हिर्कायो ।
जिन्दगीभर खाना पकाएर दिनुभएको आमा सम्झायो । मेरा स-साना हर्कतलाई दिनहुँ झेल्ने श्रीमती सम्झायो । ओहो ! मैले निकै माया गर्ने आफ्नै छोरी सम्झायो । उनीहरूको भावना/वेदना/संघर्ष र सिमलको भुवाजस्तै कमलो मनमुटु सम्झायो । सम्झायो उनीहरूको आँखाको डिलबाट खस्ने तर नजरअन्दाज गरिने नदी ।
कुनै बच्चालाई खाना दिनुहोस्
त्यसैगरी आमालाई पनि खाना दिनुहोस् ‘
मलाई पनि त खाना दिनुहोस्
र, म एक आमा हूँ
मैले जीन्दगीभर सबैका लागि खाना नै बनाएँ
भो ! अब केहीक्षण मसँग खाना नमाग्नुस् !
ती गुञ्जिएका हरफले पुरूष ‘अहम’ लाई हिर्काएपछि म निकैबेर चुपचाप भएँ । त्यो दृश्य हेर्दैगर्दा सन्नाटाको गहिरो दहमा निकैबेर डुबिरहें । शायद डुबे म ‘ए-सन’ को अभिनयका आँखामा । एउटी आमाको ‘दुख’ प्रतिबिम्बित गर्ने त्यो अनुहारमा । हुनसक्छ यो पृथ्वीमा संघर्ष गरिरहेका तिनै आमाहरूको पीडा जसले पुकार गरिरहेको छ…
लुला छन् खुट्टा
सक्दिनँ ठम्याउन ‘यी दृश्य’
जीर्ण शरीर आफैसँग निउ खोज्छ
मेरा नानीबाबुहरू
मेरो मृत्युअगावै तिमीहरू एकपटक भेट्न आउँदैनौं ?
०००
कोरियाको सबैभन्दा ठूलो टापु- जेजु टापु, जुन वुसान शहरबाट झण्डै ३०० किलोमिटर टाढा छ । स-साना वस्ती । निकै कम आवादी । खेती कम/समुद्रमा डुबान बढी । गाउँमा पुरूषभन्दा महिलाहरू सक्रिय छन् । दु:खले बनाएको गोरेटोमा आफ्ना बचेरा उडाउने सपना बुनिरहेका छन् आमाहरू। उनीहरू समुद्रमा डुब्छन् । सिपिया खोज्छन् । र केटाकेटीहरूको पालनपोषणमा ध्यान दिन्छन् । यो इतिहासदेखि पुस्तान्तरण हुँदै आएको उनीहरूको परम्परागत जिम्मेवारी पनि हो । भनौं न एक अर्थमा आँटिला आमाहरू ।
बेलबखत वस्तीको दु:खलाई समुद्रको छालले छुन आउँछ । समुद्रको पिँधमा छ ‘सिपिया’ । त्यो ‘सिपिया’ टिप्न डुबुल्की मार्नु जेजु टापुका महिलाहरूको दैनिक कर्म हो । उनीहरूलाई ‘अक्षर’ को सट्टा ‘बच्चै’ देखि गोताखोर सिकाइन्छ । उनै ‘ए-सन’ पात्रको दुख उप्काउँदै सेरिजको कथा सुरु हुन्छ ।
खैर, उनको जीवन वयर झाडीमा अल्झेको पछ्यौरी जस्तो छ । पहिलो लोग्नेको मृत्यु भइसकेको हुन्छ । आर्थिक रूपमा सम्पन्न तर रोगी पुरुषसँग उनको विवाह भएको हुन्छ । पति मृत्युपछि उल्टै समाजले उनलाई ‘लोग्ने’ टोकुवाको आरोप बोकाउँछ । अवहेलना सहनुपर्छ । झन् सन्तानको रूपमा छोरीको जन्म ।
यो नै सेरिजको मुख्य चरित्र जुन ओह ए-सन ले निभाएकी छिन् । उनी यो सेरिजको प्रमुख महिला पात्र पनि हुन् । उनी पढाइमा अब्बल छिन् । भविष्यमा कवि हुन चाहन्छिन् । उनका कविताहरू निकै उम्दा छन् । उनको सपना लेख्नु हो । पोखिनु हो आफैं । आमाले गरेको दु:ख बिसाउने चौतारीझैं अक्षरको निर्माण गर्नु हो । कथा सुनाउनु हो । मिसाउनु हो समुद्रसँग पीडा । एकालाप गर्नु हो समुद्रका छालसँग गुम्सिएका गुनासो । र वाल्यकालमा दुई परिवारको चेपमा गुमाएको स्वर्णिम समयका दर्दनाक क्षणलाई ओकल्नु हो कवितामार्फत । त्यहाँ आमाको दु:ख छ । आफैंले भोगेको कष्ट ।
‘ए-सन ले दिनहुँ झेल्नुपर्ने दुःखको पहाड छ । गरिबीको चपेटामा चार बच्चाको लालनपालन गर्नुछ । ठूली छोरी ओह ए-सन को पढाइ तथा व्यवहारमा अब्बल भए पनि उनले निकै सकस भोग्नुपर्छ । हरेक छाक जुटाउन समस्या अनि स्कुलमा आफ्ना छोराछोरीले भोग्नुपर्ने विभेद, यसले ए-सनका पीडा वर्णन गरिनसक्नु देखिन्छन् ।
झन् त्यसमाथि दोस्रो लोग्नेको निकम्मापनले उनी थप पीडित छिन् । ‘पैसा’ भन्ने जिनिसको कब्जामा छ समय । आधारभुत आवश्यकता, रहर, सपना क्रेमोक्रेसी अर्थात् पैसावादको फन्दामा परेको बन्दी जीवन ।
कस्तो जटिल, रोमाञ्चकता र विविधताको मिश्रणबाट बुनिएको कथा । ए-सन को दु:ख देख्दा आफ्नै बा-आमाले भोगेका दु:खका झझल्को मिसिएर आउने । ए-सनले जस्तै बा-आमाले अक्षर चिन्न पाएनन् । जिन्दगीभर वनपाखा पढे । दु:ख/संघर्ष पढे । सपना त ए-सन जस्तै सन्तानलाई पढाउनु नै हो र सँगै आफूले भोगेको कष्ट सन्तानले भोग्नु नपरोस् भन्ने नै हो । यहि त हो बा-आमाको आशीर्वाद । तर, जिन्दगी नामको जिनिससँग सुखदु:खको दुवै पहाड छ ।
कथाको उठान दुःखबाट सुरू भएपनि शायद अन्त्य भने रसिलो/मिठोमा पुगेर टुंगिन्छ ।
०००
ट्यान्जराइन्सलाई कोरियामा ‘ग्युल’ भनिँदो रहेछ । जेजु टापुमा पाइने सानो प्राजातिको सुन्तला । यो सुन्तालाको प्रजाति निकै प्रसिद्ध छ । तर, ‘ह्वेन लाइफ गिभ्स यु ट्यान्जराइन्स’ले कवितात्मक शैली र बिम्बबाट एउटा मान्छेले जिन्दगीमा जति नै संघर्षका पहाड छिचल्नुपरेता पनि अन्ततः जिन्दगीले जिउनुको एउटा छुट्टै रसिलो स्वाद चखाएर जान्छ ।
त्यसैले त मान्छे हुनु नै संसारको सबैभन्दा उत्तम उपहार हो नि ! यो उपहारमा कहिलेकाहीँ ‘अप्स एण्ड डाउन’ त भइनै रहन्छ भन्ने कथाले देखाउँछ । मान्छे अर्थात् सुखदु:खको संयोजन । त्यो भोग्नै पर्छ । दु:खका पहाडअगाडि उभिन्छ, छिचल्नुपर्छ । सुखका नदीहरू आउन्छन्, पोखिनुपर्छ/मिसिनुपर्छ । आफ्ना भनिएकाहरू आफ्ना नहुनसक्छ ।
छेउमै रहेको बच्चा हराउन सक्छ । हराउन सक्छन् जन्मदिने आमा, सुखदु:खको पाठशाला बनेका बा । हराउन सक्छन् अति मिल्ने दौँतरी । नहुनसक्छ प्रशस्त उभिने आफ्नै जमिन । र कथाले उनै ‘ए-सन का लागि ‘भाग्यरेखा’ कोरिदिएको छैन । उनी दु:खको अगाडि निरीह छिन् ।
सामाजिक र साँस्कृतिक परम्पराका नाममा पिल्सिएका महिलाको विश्वव्यापी व्यथा, कुप्रथा, त्यसभित्र मौलाएको रुढिवादी परम्परा, अनि त्यसको भूमरीमा छचल्किएका आमाका दु:ख, यस्तै गाउँठाउँका नमिठा अतीत सम्झाउँछ जेजु टापुले ।
वास्तवमा आमाहरूसँग के छ ? के छैन ? त्यही दु:खका बाझा जमिन । कि एक छाक टार्न गर्नुपर्ने संघर्षको पहाड । भोका छोराछोरी । कि सदैव दु:ख दिने लोग्ने वा विभेद र अपहेलनाको दलदलमा अल्झाउने परम्परा । उनै ‘ए-सनको जस्तै कसैले दावी नगर्ने समुद्र किनकी त्यहाँ जोखिम छ । मृत्यु छ । तैपनि ‘सिपिया’ टिप्न दिनहुँ डुब्नु छ ।
अनि किनारामा आएर नयाँ जिन्दगी पाएकोमा एक थोपा खुसीको आँसु झार्दै समुद्रलाई धन्यवाद चढाउनुछ । जसरी हाम्रोमा महिला भएर जन्मनु नै घरभन्दा र भान्से हुनु भन्ने हुन्छ, त्यसरी नै जेजु टापुमा महिला भएर जन्मनु भनेको गोताखोर बन्नु हो भन्ने परम्परागत अभ्यास रहेको देखिन्छ ।
यो कथाको बनोट यति भयंङ्कर छ कि प्रस्तुतिका आलापले हृदय छिया-छिया पार्दिन्छ । झन् विभिन्न कोणबाट खिचिएको ‘सिन’ त्यसमाथि कोरियन उच्च प्रविधिको संयोजन । ‘कलर’ टेक्चर ।
वाफ ! रे ! कोरियन ड्रामाप्रति क्रेज बढ्नुको कारण बल्ल पो ! थाहा पाउँदैछु । विश्वसिनेजगतमा सम्भवत निकै ठूलो स्थान खोस्नेछ समयको अन्तरालमा ।
०००
ह्वेन लाइफ गिभ्स यू ट्यान्जराइन्सले सन् १९६० को दशकमा जेजु टापुमा युवावस्थाबाट शुरू भएको ओह ए-सन र ग्वान-सिक को बालापनदेखिको यात्रालाई बडो सुन्दर तरिकाले पछ्याउँछ ।
प्रेम, कठिनाइ र समयसँगै आउने उतारचढावसँगै उनीहरूको टिकिरहने गहिरो सम्बन्धलाई समेत बडो जतनले प्रस्तुत गरेको छ । ‘स्लाइस अफ लाइफ’ अर्थात् जिन्दगीले भोग्नुपर्ने यथार्थ झलक वा भनौं दैनिक जीवनमा भोग्नुपर्ने अनेक दु:खसुखका चित्रण मसिनो तहबाट प्रस्तुत गरिएको छ ।
एउटा मान्छेले जिन्दगीमा प्रेम, त्याग, समर्पण र आफ्नो ऐतिहासिक मौलिक परम्परा (गोताखोर सँस्कृति), सामाजिक तथा पारिवारिक संघर्ष र महिलाहरूको अदम्य शक्तिको चित्रण सोह्र एपिसोडमा प्रस्तुत छ ।
यसको भावनात्मक गहिराइ, शक्तिशाली अभिनय र जेजु टापुको सुन्दर चित्रणले सबैलाई मोहित पार्छ नै ! झन् प्रसिद्ध स्क्रिन राइटर लिम साङ–चुनद्वारा लिखित यो सेरिजले पटकथा र उत्कृष्ट नाटकको विधामा बेक्साङ आर्ट्स अवार्डजस्तो प्रतिष्ठित सम्मान हात पार्नुले सेरिजको गहनतालई झन सार्थक तुल्याएको छ ।
मूल कथा, कथासँग जोडिएका उपकथा र कथा भन्ने शैली लोभलाग्दो छ । सम्भवतः मेरा लागि नयाँ स्वाद भएर पनि हुनसक्छ । हरेक सिनको नयाँ टेक्चर । मानौं, जिब्रोमा ‘सी फुड’ नपरेकोलाई मनपर्ने ‘सी फुड’ पहिलोपटक जिब्रोले चाक्दैछ । र त्यो स्वाद जिब्रोले अझै चाख्न चाहान्छ र त म लगत्तै क्र्यास ल्याण्डिङ्ग अन यू मा ठोक्किन पुगेँ । यो झन् भव्य ‘ल्याण्डस्केप’ मा बनेको पाएँ ।
०००
र, अन्त्यमा, एउटा पात्रले भन्छ, ‘समुद्रले गोताखोरको ज्यान लिदैन, लालच/लोभले ज्यान लिन्छ’
ओह् ए-सन आफ्नी आमाले धेरै समय मार्ने डुबुल्की/धेरै सिपिया टिप्न गर्ने संघर्ष जुन उसको आँखामा आमाको लालच नाचिरहेको देखिन्छ । त्यसले उसलाई अत्याउँछ । निकै पिरोल्छ । उसलाई भित्रभित्रै खियाउँदै लग्छ कि एकदिन मेरी आमा मर्न सक्छे । हराउनसक्छे समुद्रको विशाल कोलाजमा । एक सानो बच्चाको मनसपटलमा घुम्ने त्यो दृश्य/त्यो बुझाइ कस्तो पीडादायी हुँदो हो ।
अनि, त्यसलाई त्यसरी नै देखाउन सक्ने प्रविधि र क्यामेरा पर्सनको अद्भुत पर्सोना । वाह ! अनि, महान् ती आमाहरू जसले सन्तानका लागि ज्यान जोखिममा राखेर दिनहुँ गर्ने संघर्ष । र त्यो संघर्षमार्फत ओह ए-सन को कविताले समुद्रसँग गर्ने गुनासो…
जब म कन्सेप्सिया, कन्सेप्सिया देख्छु
आँधी आँधी आओस् वा आँधी आओस्,
आमा छोरीहरू चाहन्नन्।
उनी पानीमा तल जान्छिन्, गुनगुनाउँदै,
उनी पानीभन्दा माथि आउँदिनन्।
के समुद्रको खोजीले उनलाई रोक्यो ?
के जीवनले उनलाई धोका दिएको छ ?
त्यो शैतानले कन्सेप्सियालाई हरेक दिन सताउँछ ।
उसले छोरीलाई आमाको बोझ बनाएको छ।
जब म कन्सेप्सिया, कन्सेप्सिया देख्छु
आँधी आओस् वा आँधी आओस्,
आमा छोरीहरू चाहँदैनन् ।
प्रतिक्रिया 4