+
+
Shares
सम्झनामा सुनिल थापा :

‘बलियो भिलेन बिना शक्तिशाली हिरो अधुरो हुन्छ’

कफीप्रेमी सुनिल थापा काठमाडौंको फ्ल्याटमा बस्थे

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८२ माघ २४ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली चलचित्रका प्रसिद्ध अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ।
  • थापाले नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउने सपना राख्दै नेपाली फिल्ममा निरन्तर काम गरिरहेका थिए।
  • उनको निधनले नेपाली र भारतीय चलचित्र क्षेत्रमा ठूलो क्षति पुगेको छ र महानायक राजेश हमालले उनको सम्मानमा भावुक स्टाटस लेखेका छन्।

चलचित्रको प्रिमियर होस् वा फिल्म घोषणा, सुटिङ सेट होस् वा कुनै पनि अनौपचारिक कार्यक्रम, जहाँ–जहाँ सुनिल थापा पुग्थे, त्यहाँ क्षणभरमै सम्मान, आदर र आत्मीय स्वागत मिल्थ्यो । अभिनेता थापाको उपस्थितिले त्यहाँको माहोल एकाएक मर्यादित बन्थ्यो, एकाएक रोमान्टिक बन्थ्यो । किनभने भेट्रान कलाकार हुँदाहुँदै पनि उनी सम्मान खोज्दै जाँदैनथे। चिनेजानेका व्यक्तिहरूलाई आफैं बोलाउँथे र सोध्थे, ‘हाउ आर यू ? ह्वेन क्यान आइ गेट योर टाइम ?’

नेपाली कलाकार संसारभर चिनिने भाषामा बोल्नुपर्छ, अंग्रेजी बोल्न सिकिएन भने पछि पर्छ भन्ने विश्वासका कारण उनले आफ्ना चेलाहरूलाई सधैं अंग्रेजीमा आफूलाई निखार्न सिकाउँथे । त्यसैले जान्दाजान्दै पनि उनी अधिकांश समय अंग्रेजीमै बोल्थे ।

सबैले खोज्ने, सोध्ने अभिनेता थापा भने मन पराउनेहरूलाई आफैं खोज्थे, बोलाउँथे । त्यसैले होला, यी अभिनेताको व्यवहारले धेरैलाई लोभ्याउँथ्यो ।

सायद यही कारणले हो, ‘महानायक’ राजेश हमालले पनि उनको निधनपछि भावुक शब्दमा स्टाटस लेख्दै भने, ‘मेरो फिल्म यात्रा तपाईंलाई समर्पित गर्छु ।’ हमालको फिल्मी यात्रामा सम्भवतः पहिलोपटक कसैलाई दिएको सबैभन्दा ठूलो सम्मान सुनिल थापालाई नै थियो । महानायक हमालले दिएको यो सम्मानलाई धेरैले एक युगले अर्को युगलाई दिएको सम्मानका रूपमा अर्थ्याएका छन् ।

नेपाली चलचित्रमा एक युग बिताएका थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, नेपाली कलाकारदेखि विदेशी कलाकार र मिडियासम्मले थापाको विदाइलाई नेपाली सिने इतिहासको एउटा अध्याय बन्द भएको रूपमा विश्लेषण गरेका छन् ।

सबैले राते काइँलालाई एक डरलाग्दो भिलेनका रूपमा चिने । समयसँगै नेपाली फिल्मका कथाहरू परिवर्तनको धारमा बग्न थालेपछि उनी पर्दामा डरलाग्दा बाबु र मुखियाका भूमिकामा देखिन थाले । क्रमशः उनका क्यारेक्टरहरू समाजलाई दबाउने, समाज चुसेर खाने, दोहोरी साँझ र नाइट क्लबमा पैसा फ्याँकेर युवतीहरूको अस्तित्व शोषण गर्ने समाजका भिलेनहरूका रूपमा देखिए। एकदमै वास्तविक र कडा सामाजिक यथार्थ बोकेका पात्रहरूमा देखिने अभिनेता थापा वास्तविक जीवनमा भने बिल्कुलै फरक थिए—असाध्यै इमानदार, सरल र आत्मीय ।

फिल्म उद्योगदेखि आफ्नै कलेज ‘एभरेस्ट फिल्म एकेडेमी’का विद्यार्थीहरूलाई उनले सन्तानसरह माया र संरक्षण दिन्थे । यही कारणले विद्यार्थीहरूले उनलाई ‘सुनिल सर’ भन्दा पनि ‘ड्याडी’ भनेर सम्बोधन गर्थे, र सुनिल थापा पनि सबैलाई आत्मीयतासाथ ‘बेटा’ भनेर बोलाउँथे। पर्दामा जति कठोर देखिए, वास्तविक जीवनमा उनी त्यत्तिकै कोमल र अभिभावकजस्तै व्यक्तित्व थिए ।

सम्भवतः आफ्नो लागि फिल्म खोज्नुभन्दा आफ्ना चेलाहरूको लागि फिल्ममा सिफारिस गर्नेमा थापाको ध्यान बढी जान्थ्यो । फिल्मको स्टोरी बोकेर थापाको कलेज वा घरमा पुग्नेहरूलाई उनी भन्थे, ‘मसँग असाध्यै क्षमतावान् र इमानदार एउटा बाबु छ, उसको रोल केही छ कि ?’ थापाको सिफारिस र संरक्षणमा आज धेरै कलाकार बनेका छन् ।

सोही कारण थापालाई कलाकारभन्दा पनि पछिल्लो फिल्म पुस्ताले—जसले उनलाई नजिकबाट चिन्यो र व्यवहार गर्‍यो–एउटा संस्था र नेपाली चलचित्रको आत्माका रूपमा मान्थ्यो ।

बलियो भिलेन बिना शक्तिशाली हिरो अधुरो हुन्छ भन्ने मान्यतालाई उनले आफ्नै अभिनयबाट सार्थक बनाए। चोटिला संवाद, गर्जिने बोल्ड आवाज र अभिनय शैलीले उनी नयाँ–पुराना सबै पुस्ताका लागि सदैव प्रभावशाली बने।

६८ वर्षको उमेरमा उनको निधनले नेपाली मात्र होइन, भारतीय चलचित्र र श्रृंखला जगतले पनि ठूलो क्षति बेहोरेको छ। भारतीय मिडियाहरूले पनि यसलाई उल्लेख गरेका छन् । मुम्बईबाट सुरु भएको थापाको यात्रा बलिउड हुँदै नेपाली सिनेमासम्म फर्किएको थियो । बलिउडबाट निकै अफर आउँथ्यो। ‘मेरी कोम’ लगायत केही हिन्दी सिनेमापछि फाट्टफुट्ट काम गरे पनि उनी नेपाली फिल्ममा बढी केन्द्रित थिए।

केही समयअघिको एक अनौपचारिक भेटमा कलेजको प्रिन्सिपल कुर्सीमा बसेका उनलाई एक विदेशी गेस्टले सोधे, ‘एउटा कलाकारका लागि बलिउड ड्रिम हो। तर बलिउडमा हैसियत बनाइसकेको र निरन्तर कामको अफर आउँदा पनि तपाईं मुम्बई छोड्नुभयो । बलिउडभन्दा नेपाली सिनेमामा झन्–झन् काम गर्दै हुनुहुन्छ। न विश्व बजार छ, न बलिउडजस्तो दाम। किन ?’

थापाले अंग्रेजीमा भनेका थिए, ‘आइ ह्याभ अ ड्रिम टु टेक नेपाली फिल्म टु द ओस्कार ।’ उनले थपे, ‘म अहिले नेपाली फिल्ममा झन् – झन् काम गर्नुको पछाडि आर्थिक पाटो जोडिएको छैन । यो मेरो नेपाली हुनुको एउटा ठूलो जिम्मेवारी हो ।’

उनले भनेजस्तै, नेपाली फिल्मको काम पुग्दा उनी सामान्य भर्खरै सिक्दै गरेका निर्देशकदेखि चर्चितसम्म सबैलाई समान व्यवहार गर्थे। आफूले सकिनसकी पनि उनले सबै फिल्मकर्मीको मन राख्न काम गर्थे । पारिश्रमिक बाँकी रहेकालाई केही पटक सम्झाउँथे, त्यसपछि भने कहिल्यै पारिश्रमिकको विषयमा कल वा म्यासेज गर्दैनथे । उनले भन्थे, ‘ठिक छ, हुँदा पक्कै दिनुहुन्छ होला ।’

कफीका अम्मली सुनिल थापा सिगरेट प्रेमी पनि थिए । सम्भवतः सबैभन्दा प्रिय मानेकै कारण उनको जन्मदिन वा गुरु पूर्णिमाका दिन विद्यार्थीहरूले राम्रो गिफ्ट बक्समा चुरोट राखेर दिन्थे । जति आफू चुरोट प्रेमी भए पनि स्टुडेन्टहरूलाई भने यो लतबाट टाढा रहन सुझाव दिन्थे ।

खेलाडी, फोटोपत्रकार, मोडल हुँदै अभिनेता बनेका थापा काठमाडौंमा बस्थे । परिवारका अधिकांश सदस्य मुम्बईमा थिए । अनुशासन, प्रतिबद्धता र पेशागत इमान्दारिताका कारण उनी काठमाडौंको फ्ल्याटमा बस्थे । निजी जीवनका ठूला खुसीहरूलाई पनि सेटको जिम्मेवारीभन्दा माथि नराख्ने उनको बानीले उनी कति गम्भीर कलाकार थिए भन्ने देखाउँछ ।

आज थापा फिल्म खेल्दा(खेल्दै यो संसारबाट विदा भएका छन्। हिजो रातिसम्म ‘राम नाम सत्य’ को सेटमा रहेका थापाले भोलि बिहानै सेटको कल टाइममा पुग्ने गरी नजिकका साथीभाइलाई छिटो उठाइदिन आग्रह गरेर सुतेका थिए। तर, क्लाइमेक्सको यो सिन नसक्दै उनी यो संसारबाट विदा भए।

लेखक
रामजी ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?