News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशिला कार्कीले अभिनेता सुनिल थापाको असामयिक निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
- कार्कीले थापाको चार दशक लामो साधना र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने बताउनुभएको छ।
- थापाको निधन शनिबार बिहान काठमाडौंस्थित नर्भिक अस्पतालमा स्वास्थ्य समस्या पछि भएको थियो।
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले अभिनेता सुनिल थापाको निधनमा दुःख व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले विज्ञप्तिमार्फत थापाको असामयिक निधनले आफू मर्माहत भएको बताएकी छन् ।
उनको निधनसँगै नेपाली र भारतीय चलचित्र उद्योगले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको विज्ञप्तिमा उल्लेख छ ।
‘चिनो’ को राते काइँलादेखि ‘मेरी कोम’ का प्रशिक्षकसम्म थापाले निर्वाह गरेका खलनायक र सहनायकका उम्दा भूमिकाले करोडौंको मन जित्न सफल भएको बताउँदै कार्कीले यी चरित्र दर्शकको स्मृतिमा सदैव जीवित रहने उल्लेख गरेकी छन् ।
४ दशकदेखि अभिनेता थापाको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोतको रुपमा रहने प्रधानमन्त्रीले उल्लेख गरेकी छन् । ‘ यस दुःखद् घडीमा म दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्दछु’ उनले लेखेकी छन् ।
स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान थापाको काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
प्रतिक्रिया 4