+
+
Shares

निगम जहाजको इन्जिनमा १८ करोड अनियमितता : इजरायलले १३ करोड क्षतिपूर्ति दिने

९ लाख अमेरिकी डलर अर्थात् करिब १३ करोड रुपैयाँ क्षतिपूर्ति रकम निगमले तिर्नुपर्ने बिलमा समायोजन गर्ने गरी इजरायली कम्पनीसँग सहमति भएको निगम स्रोतले बतायो ।

जनार्दन बराल जनार्दन बराल
२०८२ पुष १४ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमले दुई वर्षदेखि इजरायलमा थन्किएको आफ्नो जहाजको इन्जिन फिर्ता ल्याउन इजरायली कम्पनीसँग करिब १३ करोड रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको छ।
  • इन्जिन मर्मत र भाडामा करिब ३ अर्ब रुपैयाँ अनियमितता भएको निगम स्रोतले दाबी गरेको छ र निगमले भाडाको इन्जिन प्रयोग गर्दा दैनिक पौने ८ लाख रुपैयाँ तिर्नुपरेको छ।
  • निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठले इन्जिन मर्मत र भाडाबापत करिब ३९ करोड रुपैयाँ तिर्नुपर्ने र क्षतिपूर्ति रकम घटाउन प्रयास भइरहेको बताएका छन्।

१४ पुस, काठमाडौं । जहाज ‘ग्राउन्डेड’ भएबापत करिब १३ करोड क्षतिपूर्ति दिन इजरायली कम्पनी तयार भएपछि नेपाल वायुसेवा निगमले दुई वर्षदेखि उतै थन्केको आफ्नो इन्जिन ल्याउने भएको छ ।

समयमा इन्जिन मर्मत नभएका कारण निगमको न्यारो बडी जहाज लामो समय ग्राउन्डेड हुनुपरेको भन्दै करिब १० महिनाको भाडाबापत रकम छुट दिन इजरायली कम्पनी ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज’ (आईएआई) तयार भएको निगम स्रोतले बतायो ।

९ लाख अमेरिकी डलर अर्थात् करिब १३ करोड रुपैयाँ क्षतिपूर्ति रकम निगमले तिर्नुपर्ने बिलमा समायोजन गर्ने गरी इजरायली कम्पनीसँग सहमति भएको निगम स्रोतले बतायो ।

त्यसो भएपछि भाडाको इन्जिन फिर्ता गर्न तथा आफ्नो इन्जिन ल्याउन निगमको ‘लुम्बिनी’ जहाज इजरायल पुगेको जानकारी निगमले दिएको छ ।

निगमको दर्ता नम्बर ‘९एन–एकेएक्स’ न्यारो बडी जहाज ‘लुम्बिनी’ जहाजका दुइटै इन्जिन मर्मतका लागि दुई वर्षअघि ३१ अगस्ट २०२३ मा आईएआईसँग सम्झौता भएको थियो ।

त्यससँगै इन्जिन मर्मत हुँदै गरेका बखत सोही कम्पनीले भाडामा अर्को इन्जिन उपलब्ध गराउने सम्झौता समेत भएको थियो ।

निगमका तत्कालीन अध्यक्ष तथा प्रबन्ध निर्देशक युवराज अधिकारीले ‘क्रोनिक’ बनाएको इन्जिन मर्मत र भाडाबापत ३ अर्बको बिल नै शंकास्पद देखिएको थियो । बनिसकेको इन्जिन ९ महिनासम्म फिर्ता नल्याएर अधिकारी लगायतले करिब १८ करोड रुपैयाँ अनियमिता गरेको निगम स्रोतको दाबी छ ।

इजरायली कम्पनीसँग भएको सम्झौता अनुसार एउटा जहाज ६७ दिनभित्र मर्मत गरिसक्नुपर्थ्यो । सोही कम्पनीले लगातार बिग्रेका दुई इन्जिन मर्मत गरेकाले त्यो काम साढे चार महिनामा सकिनुपर्ने हो ।

तर, निगमका निवर्तमान कार्यकारी अध्यक्ष अधिकारी, आसेपासे कर्मचारी एवं राजनीतिक नेतृत्वका कारण करिब २८ महिना (८ सय २४ दिन) सम्म पनि निगमको दुइटा इन्जिनमध्ये एउटा इन्जिन अहिले पनि इजरायलमै छ । इन्जिन मर्मत र भाडाका नाममा करिब ३ अर्बको काममा करोडौं रुपैयाँ अनियमितता भएको निगम स्रोतको दाबी छ ।

अहिले ल्याउन लागिएको इन्जिन मर्मत सकिएर पनि ९ महिनादेखि इजरायलमा थन्किरहेको छ । त्यो इन्जिन फिर्ता नल्याएर हरेक दिन करिब पौने ८ लाख रुपैयाँ तिर्नुपर्ने गरी निगमले भाडाको इन्जिन लगाएर जहाज चलाइरहेको छ ।

आफ्नो बनिसकेको इन्जिन इजरायलबाट फिर्ता नल्याउने र भाडाको इन्जिन चलाएर अनियमितता गर्ने काम भइररहेको विषयमा प्रधानमन्त्रीले नै चासो राखेपछि निगमले त्यो इन्जिन फिर्ता ल्याउने प्रक्रिया थालेको थियो ।

निगम अध्यक्ष तथा प्रबन्ध निर्देशकबाट अधिकारीले अवकाश पाएपछि यो कामले प्राथमिकता पाएको थियो । यही काम सम्पन्न गर्न प्रधानमन्त्री सुशीला कार्कीले निगम सञ्चालक अमृतमान श्रेष्ठलाई कार्यकारी सञ्चालकमा नियुक्त गरेकी थिइन् ।

श्रेष्ठले निगमको जिम्मेवारी पाएपछि इजरायली कम्पनीलाई केही बक्यौता भुक्तान गरेपछि इन्जिन फिर्ता ल्याउने विषयमा दुई पक्षबीच संवाद सुरु भएको थियो ।

त्यही अनुसार इन्जिन फिर्ता ल्याउन निगम जहाज दुबई हुँदै सोमबार इजरायल पुगेको छ । तर, भिसा समयमा नआएका कारण निगमका इन्जिनियरहरू इजरायल जान नपाएको र उनीहरू पुगेपछि बनेको इन्जिनको जाँच गर्ने तथा इन्जिन राखेर ल्याउने काम हुने निगम स्रोतले बतायो ।

यसरी भयो इन्जिन मर्मत र भाडामा अनियमितता

१४ जुलाई २०२३ मा निगमको लुम्बिनी जहाजको बायाँ इन्जिन (सिरियल नम्बर भी१७६७२) मा नियमित बोरोस्कोप जाँच गर्दा मटेरियल लस्ट पाइएपछि त्यो इन्जिनलाई १० साइकलभित्रै मर्मतका लागि पठाउनुपर्ने सिफारिस प्रावधिकले गरेका थिए ।

त्यसपछि निगमले ३१ अगस्ट २०२३ मा इन्जिन लिज (भाडा) सहित मर्मतका लागि टेन्डर प्रक्रियाबाट आईएआईसँग सम्झौता गरेको थियो । त्यसको स्थानीय एजेन्ट मर्करी बिजनेस इन्टरनेसनल हो ।

त्यसपछि लुम्बिनी जहाजको भी१७६७२ नम्बरको इन्जिन मर्मत गर्न १७ सेप्टेम्बर २०२३ मा आईएआई पठाइएको थियो । निगमसँग भएको सम्झौता अनुसार बिग्रेको इन्जिन झिकी त्यसको ठाउँमा आईएआईले भाडामा उपलब्ध गराएको इन्जिन हालेर जहाज १० दिनपछि २७ सेप्टेम्बरमा नेपाल फर्किएको थियो ।

भाडाको इन्जिन राखेर नेपाल फर्किए लगत्तै सोही जहाजको दायाँ इन्जिन (सिरियल नम्बर भी१७६७९) मा पनि अघिल्लै इन्जिनमा जस्तै समस्या आयो । त्यसपछि निगमले इजरायली कम्पनीसँग अर्काे इन्जिन पनि भाडामा मागेकोमा उसले इन्जिन उपलब्ध गराउन नसकेपछि ३० नोभेम्बर २०२३ देखि २६ अप्रिल २०२४ सम्म १ सय ४१ दिन नेपाल र इजरायलमा जहाज ग्राउन्डेड भएको थियो ।

६७ दिनमा बनाउनुपर्ने पहिलो इन्जिन ६ महिनापछि मात्रै बन्यो । एउटा भाडाको र मर्मत सकिएको पहिलो इन्जिन जडान गरी उक्त जहाज २७ अप्रिल २०२४ मा काठमाडौं फर्केर व्यावसायिक उडान थालेको थियो ।

पहिलो इन्जिन मर्मत गर्न अनुमानित ४९ लाख ३ हजार अमेरिकी डलर अर्थात् हालको विनिमयदर अनुसार करिब ७० करोड ६० लाख रुपैयाँ लाग्ने जनाउँदै त्यही अनुसार एलसी खोलेको थियो ।

आईएआईले इन्जिन मर्मतपछि ७७ लाख ७८ हजार ३ सय ३७ डलरको अन्तिम बिल पठाएको थियो । त्यसमध्ये ७० लाख डलर निगमले भुक्तानी गरिसकेको छ ।

साथै, इन्जिन भाडामा लिँदै भाडा प्रतिदिन २ हजार डलर तथा उडान भएको बखत प्रतिघण्टा थप २ सय ४० डलर एवं प्रतिसाइकल थप २ सय ४० डलरका हिसाबले अपरेसन आवर र साइकलको भाडा दिनुपर्ने गरी सम्झौता गरिएको थियो ।

भाडामा लिएको इन्जिन प्रयोग गर्दा दैनिक कम्तीमा पनि ५ हजार ३ सय ६० डलर अर्थात् करिब पौने ८ लाख रुपैयाँ जहाज मर्मत कम्पनीलाई तिर्नुपर्ने गरी सम्झौता भएको थियो ।

मे २०२४ देखि इन्जिनको भाडा नबुझाएको र भाडाबापत मात्रै ३६ लाख डलर अर्थात् करिब ५१ करोड ८४ लाख रुपैयाँ बक्यौता रहेको आईएआईले दाबी गरेको थियो ।

तर, निगमका तत्कालीन अध्यक्ष अधिकारीले लामो समय भुक्तानी रोकेर जहाज मर्मत तथा भाडामा लगाउँदा कमिसनको बार्गेनिङ गरेको निगम स्रोत बताउँछ । तर, आफूले भनेजति कमिसन नआउने भएपछि उनले एक छानबिन उपसमिति गठन गरेका थिए ।

अर्कातिर, जहाजको पहिलो मर्मत गर्दा सुरुमा ४९ लाख डलर खर्च लाग्ने अनुमान गरिएकोमा अन्तिम बिल ७८ लाख डलरको आएको थियो । अधिकारीले गठन गरेको उपसमितिले मर्मतका कागजात प्रमाणीकरण गरी जम्मा २१ लाख डलर मात्रै थप खर्च भएको प्रतिवेदन २६ सेप्टेम्बर २०२५ मा दिएको थियो ।

त्यही अनुसार अधिकारीले भुक्तानी स्वीकृति दिएका थिए । तर, इजरायली कम्पनीले भने थप ३ लाख डलर पाउनुपर्ने दाबी गर्दै आएको छ ।

पहिलो इन्जिन मर्मतको अन्तिम बिल कसरी करिब ६० प्रतिशत बढेर ७७ लाख ७८ हजार डलर आयो, निगमले के आधारमा त्यो बिल सच्याएर ७० लाख डलरको बनायो भन्ने कुरा नै शंकास्पद रहेको स्रोतले बतायो ।

जहाजको दोस्रो इन्जिन मर्मतमा लागेको समय र यसबीचमा दैनिक पौने ८ लाख रुपैयाँ भाडा तिर्ने गरी प्रयोग भइरहेको इजरायली इन्जिनलाई तिर्नुपर्ने रकमको हिसाब हेर्ने हो भने त्यो डरलाग्दो देखिन्छ ।

भाडाको इन्जिन ल्याएदेखि नै अर्थात् मे २०२४ देखि नै निगमले भाडा रकम भुक्तानी गरेको छैन । त्यसबेलादेखिको कुल भाडा नै ३६ लाख डलर अर्थात् करिब ५२ करोड पुगिसकेको छ ।

अर्कातिर, दोस्रो इन्जिन मर्मत गर्न ८० लाख डलर लाग्ने लागत अनुमान इजरायली कम्पनीले गरेको थियो । त्यो इन्जिन मर्मतका लागि ११ जनवरी २०२४ मै जहाज इजरायल पुगेको थियो । यो इन्जिन पनि ६७ दिनमा बनाउनुपर्ने सम्झौता छ ।

त्यसअनुसार ६७ लाख डलरको एलसी पनि निगमले खोलेको थियो । १६ महिनापछि मात्रै मे २०२५ मा मर्मत सकिएको जानकारी निगमलाई गराएको थियो । इजरायली कम्पनीले यो इन्जिन मर्मत गर्दा ९१ लाख डलर लागेको अन्तिम बिल दिएको निगम स्रोतले बतायो ।

मर्मत गरिएको आफ्नो इन्जिन इजरायलमै छाडेर भाडाबापत मात्रै करिब साढे १८ करोड रुपैयाँ अनावश्यक रूपमा इजरायली कम्पनीलाई तिर्नुपर्ने स्थितिमा तत्कालीन कार्यकारी अध्यक्ष अधिकारीले निगमलाई पु‍र्‍याएको देखिन्छ ।

‘खरिदमा अपारदर्शी रूपमा तय गरिएको मूल्य तथा बिल संशोधनका नाममा भएका चलखेल त छँदै छन्, बनेको इन्जिन नल्याएर उसको इन्जिन प्रयोगमा तिर्नुपर्ने साढे १८ करोड त सिधै भ्रष्टाचार हो,’ निगम स्रोतले भन्यो ।

यसरी भयो क्षतिपूर्ति बापत ९ लाख डलर दिने सहमति

जहाज समयमा मर्मत नगरेको तथा ग्राउन्डेड भएको भन्दै अध्यक्ष अधिकारीले ४ अप्रिल २०२५ मा २ करोड ३० लाख ३४ हजार डलर अर्थात् ३ अर्ब ३३ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको निगम स्रोतले बतायो ।

जहाज ग्राउन्डेड हुँदा मानसिक तनाव भएको, निगमको गुडविलमा असर परेको जस्ता शीर्षक राखेर क्षतिपूर्ति दाबी गरिएको निगम स्रोतले बतायो ।

‘यस्ता शीर्षकमा क्षतिपूर्ति आउने सम्भावना नै देखिन्न, इजरायली कम्पनीसँग बार्गेनिङका लागि मात्रै यस्तो दाबी गरेको देखिन्छ,’ स्रोतले भन्यो ।

इजरायली कम्पनीले निगमलाई एक पत्र पठाई निगमको क्षतिपूर्ति  दाबी अस्वीकार गरेको थियो । तर ‘जेस्चर अफ गुडविल’ का रूपमा निगमको जहाज इजरायल लगे इन्जिन फेरबदल नि:शुल्क गर्ने र जहाज ग्राउन्डेड हुँदाको इन्जिन भाडा शुल्क मिनाहा गरिदिने, निगमले तिर्नुपर्ने ब्याज मिनाहा गर्ने लगायत प्रस्ताव गरेको निगम स्रोतले बतायो ।

इजरायली कम्पनीले जम्मा ४ लाख ३ हजार डलर मात्रै क्षतिपूर्ति दिने बताएको थियो ।

तर, निगममा कार्यकारी सञ्चालकको जिम्मा श्रेष्ठले पाएपछि दुइटै इन्जिन मर्मतको पूरा भुक्तानी गरिदिने तर जहाज ग्राउन्डेड भएको अवधिको क्षतिपूर्ति कम्पनीले दिनुपर्ने भन्दै ऊसँग वार्ता गरेका थिए ।

इन्जिन भाडाबापत ३६ लाख डलरको अन्तिम बिल आएकोमा क्षतिपूर्ति बापत ९ लाख डलर दिन इजरायली कम्पनी तयार भएपछि त्यसैमा सहमति गरिएको निगम स्रोतले बतायो ।

अब इन्जिन मर्मत बापत निगमले २७ लाख डलर अर्थात् करिब ३९ करोड रुपैयाँ तिर्नुपर्ने निगम स्रोत बताउँछ ।

आफूले यो रकम पनि अझै घटाउन प्रयास गरिरहेको निगमका कार्यकारी सञ्चालक श्रेष्ठले बताए ।

‘इजरायली कम्पनीले पनि समयमा भुक्तानी नदिएको, बनेको इन्जिन समयमा नल्याएको भनेर क्षतिपूर्ति दाबी गरेको छ तर त्यो हामीले तिर्न सक्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘यस्तो अवस्थामा आपसी विश्वासमा काम गरौं, हामीलाई अप्ठ्यारो नहुने गरी क्षतिपूर्ति टुंग्याऔं भन्ने प्रस्ताव गरेका छौं, उनीहरूले पनि पेनाल्टी नलिने बताएका छन् ।’

त्यस्तै, दोस्रो इन्जिनको ६७ लाख डलरको एलसीको म्याद सकिएकाले त्यो नवीकरण गर्नुपर्ने सर्त इजरायली कम्पनीले राखेकोमा त्यो पनि नवीकरण गरिदिएको कार्यकारी सञ्चालक श्रेष्ठले जानकारी दिए ।

‘हामीले हालै २१ लाख डलर भुक्तानी गरेका छौं, दोस्रो इन्जिन मर्मतको बिल भेरिफाई गर्न केही समय लाग्ने भएकाले त्यो भुक्तानी केही समयपछि गर्छौं भनेका छौं,’ उनले भने, ‘तर, भाडाबापत केही रकम नदिई इन्जिन फिर्ता आउने सम्भावना देखिन्न ।’

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?