News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमको न्यारो बडी जहाजको दुई इन्जिन इजरायलमा मर्मत भएर पनि ८ महिनादेखि फिर्ता नल्याइएपछि दैनिक पौने ८ लाख रुपैयाँ भाडा तिर्नुपरेको छ।
- निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारी र उच्चपदस्थहरूले इन्जिन मर्मत र भाडामा करोडौं रुपैयाँ अनियमितता गरेको स्रोतले दाबी गरेको छ।
- नयाँ कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठले इन्जिन फिर्ता ल्याउने प्रक्रिया सुरु गरी २१ लाख डलर भुक्तानी गरेको र क्षतिपूर्ति विषयमा वार्ता भइरहेको जानकारी दिएका छन्।
२५ मंसिर, काठमाडौं । एउटा सार्वजनिक संस्थानलाई त्यसैका प्रमुख र उच्चपदस्थहरूले कसरी दोहन गर्छन् भन्ने एउटा कुरूप उदाहरण हो– राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमको न्यारो बडी जहाजका दुई इन्जिन इजरायलमा मर्मत गर्दा भएको अनियमितता ।
निगमको दर्ता नम्बर ‘९एन–एकेएक्स’ न्यारो बडी जहाज ‘लुम्बिनी’ जहाजको एउटा इन्जिन मर्मत सकिएर ८ महिनादेखि इजरायलमा थन्किरहेको छ । त्यो इन्जिन फिर्ता नल्याएर हरेक दिन करिब पौने ८ लाख रुपैयाँ तिर्नुपर्ने गरी निगमले भाडाको इन्जिन लगाएर जहाज चलाइरहेको छ ।
इजरायली कम्पनीसँग भएको सम्झौता अनुसार एउटा इन्जिन ६७ दिनमा मर्मत गरिसक्नुपर्ने हो । त्यो कम्पनीले सोही जहाजका दुइटा इन्जिन मर्मत गरेकाले त्यो काम बढीमा साढे चार महिनामा सकिनुपर्ने हो ।

तर, निगमका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारी, उनका आसेपासे कर्मचारी एवं राजनीतिक नेतृत्वका कारण ८ सय १० दिनभन्दा बढी (२७ महिना) निगमका इन्जिन मर्मत भएर पनि नेपाल ल्याइएको छैन । इन्जिन मर्मत र भाडाका नाममा करिब ३ अर्बको काममा करोडौं रुपैयाँ अनियमितता भएको निगम स्रोतको दाबी छ ।
यसरी भयो इन्जिन मर्मत र भाडामा अनियमितता
१४ जुलाई २०२३ मा निगमको लुम्बिनी जहाजको बायाँ इन्जिन (सिरियल नम्बर भी१७६७२०) मा नियमित बोरोस्कोप जाँच गर्दा मेटरियल लस्ट पाइएपछि त्यो इन्जिनलाई १० साइकलभित्रै मर्मतका लागि पठाउनुपर्ने सिफारिस प्रावधिकले गरे ।
त्यसपछि निगमले ३१ अगस्ट २०२३ मा इन्जिन लिज (भाडा) सहित मर्मतका लागि टेन्डर प्रक्रियाबाट इजरायल एरोस्पेस इन्ड्रस्ट्रिज (आईएआई) सँग सम्झौता गरेको थियो । त्यसको स्थानीय एजेन्ट मर्करी बिजनेस इन्टरनेसनल हो ।
त्यसपछि लुम्बिनी जहाजको भी१७६७२ नम्बरको इन्जिन मर्मत गर्न १७ सेप्टेम्बर २०२३ मा आईएआई इजरायल पठाइएको थियो । निगमसँग भएको सम्झौता अनुसार बिग्रेको इन्जिन झिकी त्यसको ठाउँमा आईएआईले भाडामा उपलब्ध गराएको इन्जिन हालेर जहाज १० दिनपछि २७ सेप्टेम्बरमा नेपाल फर्कियो ।
भाडाको इन्जिन राखेर नेपाल फर्किए लगत्तै सोही जहाजको दायाँ इन्जिन (सिरियल नम्बर भी१७६७९) मा पनि अघिल्लै इन्जिनमा जस्तै समस्या आयो । त्यसपछि निगमले इजरायली कम्पनीसँग अर्को इन्जिन पनि भाडामा मागेकोमा उसले इन्जिन उपलब्ध गराउन नसकेपछि ३० नोभेम्बर २०२३ देखि २६ अप्रिल २०२४ सम्म १ सय ४९ दिन नेपाल र इजरायलमा जहाज ग्राउन्डेड भएको थियो ।
पहिलो इन्जिन मर्मत नसिकएको अवस्थामा दोस्रो इन्जिन पनि बिग्रिएपछि लामो समयसम्म निगमको लुम्बिनी जहाज ग्राउन्डेड हुँदा समस्या जटिल भएको थियो ।
नेपालबाट लगेको इन्जिन बनाउन सुरु गरेलगत्तै इजरायल–गाजा युद्ध सुरु भएको तथा निर्माता कम्पनीले फ्यान ब्लेड ढिला गरी उपलब्ध गराएकाले पहिलो जहाज मर्मतमा ढिलाइ भएको आईएआईको दाबी छ ।
६७ दिनमा बनाउनुपर्ने पहिलो इन्जिन ६ महिनापछि मात्रै बन्यो । एउटा भाडाको र मर्मत सकिएको पहिलो इन्जिन जडान गरी उक्त जहाज २७ अप्रिल २०२४ मा काठमाडौं फर्की व्यावसायिक उडान थालेको थियो ।
पहिलो इन्जिन मर्मत गर्न अनुमानित ४९ लाख ३ हजार अमेरिकी डलर अर्थात् हालको विनिमयदर अनुसार करिब ७० करोड ६० लाख रुपैयाँ लाग्ने जनाउँदै त्यही अनुसार एलसी खोलेको थियो ।
साथै, इन्जिन भाडामा लिँदै भाडा प्रतिदिन २ हजार डलर तथा उडान भएको बखत प्रतिघन्टा थप २ सय ४० डलर एवं प्रतिसाइकल थप २ सय ४० डलरका हिसाबले अपरेसन आवर र साइकलको भाडा दिनुपर्ने गरी सम्झौता गरिएको थियो ।

निगमको न्यारोबडी जहाज दैनिक औसत १० घण्टा उड्ने गर्छ । त्यस हिसाबले अपरेसन आवर बापत दैनिक २ हजार ४ सय डलर तिर्नुपर्छ ।
इन्जिनको प्रतिसाइकल उडान (कुनै एक गन्तव्यबाट अर्को गन्तव्यमा पुग्दासम्मको उडानलाई साइकल भनिन्छ) को थप २ सय ४० डलर तिर्नुपर्ने हुन्छ । उदाहरणका लागि काठमाडौंबाट नयाँदिल्ली गएर जहाज पुनः काठमाडौं फर्कंदा २ साइकल हुन्छ ।

निगमको न्यारोबडी जहाज समान्यतया दिनको चार साइकल उड्छ । त्यसबापत प्रतिदिन औसत ९ सय ६० डलर तिर्नुपर्छ । यसरी भाडामा लिएको इन्जिन प्रयोग गर्दा दैनिक कम्तीमा पनि ५ हजार ३ सय ६० अमेरिकी डलर अर्थात् करिब पौने ८ लाख रुपैयाँ जहाज मर्मत कम्पनीलाई तिर्नुपर्ने गरी सम्झौता भएको थियो ।
मे २०२४ देखि इन्जिनको भाडा नबुझाएको र त्यो ३५ लाख अमेरिकी डलर अर्थात् करिब ५० करोड ४० लाख रुपैयाँ बक्यौता रहेको आईएआईले दाबी गरेको छ ।
निगमको पहिलो इन्जिनको अनुमानित मर्मत खर्च सुरुमा ४९ लाख डलर हुने भनेर सोही अनुसार एलसी खोलिए पनि आईएआईले इन्जिन मर्मतपछि ७७ लाख ७८ हजार ३ सय ३७ डलरको अन्तिम बिल पठाएको थियो ।
त्यसो भएपछि निगमका तत्कालीन अध्यक्ष अधिकारीले लामो समय भुक्तानी रोकेर कमिसनको बार्गेनिङ गरेको निगम स्रोत बताउँछ । तर, आफूले भनेजति कमिसन नआउने भएपछि उनले एक छानबिन उपसमिति गठन गरेका थिए ।
उपसमितिले मर्मतका कागजात प्रमाणीकरण गरी जम्मा २१ लाख डलर मात्रै थप खर्च भएको प्रतिवेदन २६ सेप्टेम्बर २०२५ मा दिएको थियो । त्यही अनुसार अधिकारीले भुक्तानी स्वीकृति दिएका थिए ।
तर, सुरुमा ४९ लाख डलरमा मर्मत हुने भनेर त्यही अनुसार एलसी खोलिएको इन्जिन मर्मतको अन्तिम बिल कसरी करिब ६० प्रतिशत बढेर ७७ लाख ७८ हजार डलर आयो, निगमले के आधारमा त्यो बिल सच्याएर ७० लाख डलरको बनायो भन्ने कुरा नै शंकास्पद रहेको स्रोतले बतायो ।
‘अनुमानित लागतको २८ लाख ७५ हजार डलर अर्थात् करिब ४१ करोड रुपैयाँभन्दा बढीको बिल आउनु त्यति स्वाभाविक होइन,’ स्रोतको दाबी छ, ‘त्यसमा अधिकारीले कमिसनको मोलमोलाइ गरेको र कुरा नमिल्दा लामो समय भुक्तानी नै रोकिदिएका हुन् ।’
जहाजको दोस्रो इन्जिन मर्मतमा लागेको समय र यसबीचमा दैनिक पौने ८ लाख रुपैयाँ भाडा तिर्ने गरी प्रयोग भइरहेको इजरायली जहाजलाई तिर्नुपर्ने रकमको हिसाब हेर्ने हो भने त्यो डरलाग्दो देखिन्छ ।

पहिलो इन्जिन मर्मतको भुक्तानीमा समस्या भएपछि निगमका तत्कालीन अध्यक्ष अधिकारीले इजरायली मर्मत कम्पनी आईएआईसँग जहाज ग्राउन्डेड भएको अवधिको क्षतिपूर्ति दाबी गरेका थिए ।
भाडाको इन्जिन ल्याएदेखि नै अर्थात् मे २०२४ देखि नै निगमले भाडा रकम भुक्तानी गरेको छैन । त्यसबेलादेखिको कुल भाडा नै ३५ लाख डलर अर्थात करिब ५० करोड पुगिसकेको भन्दै भुक्तानीका लागि इजरायली कम्पनीले ताकेता गरिरहेको छ ।
अर्कातिर, दोस्रो इन्जिन मर्मत गर्न ८० लाख डलर लाग्ने लागत अनुमान इजरायली कम्पनीले गरेको थियो । त्यो इन्जिन मर्मतका लागि ११ जनवरी २०२४ मै जहाज इजरायल पुगेको थियो । यो इन्जिन पनि ६७ दिनमा बनाउनुपर्ने सम्झौता छ ।
त्यसअनुसार ६७ लाख डलरको एलसी पनि निगमले खोलेको थियो । तर, इजरायली कम्पनीले १६ महिनापछि मात्रै मे २०२५ मा मर्मत सकिएको जानकारी निगमलाई गराएको थियो ।
यो इन्जिन मर्मतमा ४ सय ८० दिनभन्दा बढी लाग्नुमा त्यही फ्यान ब्लेड उत्पादन कम्पनीले समयमा नदिएको भन्ने कारण इजरायली कम्पनीले दिएको निगम स्रोतले बतायो ।

त्यसभन्दा पनि डरलाग्दो कुरा भने कमिसनकै कुरा नमिल्दा निगमले मर्मत भइसकेको इन्जिन ८ महिनादेखि इजरायलमै छाडेर भाडाको इन्जिन चलाइरहेको छ ।
मर्मत गरिएको आफ्नो इन्जिन इजरायलमै छाडेर भाडाबापत मात्रै करिब साढे १८ करोड रुपैयाँ अनावश्यक रूपमा इजरायली कम्पनीलाई तिर्नुपर्ने स्थितिमा तत्कालीन कार्यकारी अध्यक्ष अधिकारीले निगमलाई पुर्याएको देखिन्छ ।
‘खरिदमा अपारदर्शी रूपमा तय गरिएको मूल्य तथा बिल संशोधनका नाममा भएका चलखेल त छँदै छन्, बनेको इन्जिन नल्याएर उसको इन्जिन प्रयोगमा तिर्नुपर्ने साढे १८ करोड त सिधै भ्रष्टाचार हो,’ निगम स्रोतले भन्यो ।
सम्झौतामै नभएका शीर्षक राखी ३ अर्ब ३३ करोड क्षतिपूर्ति दाबी
जहाजको दोस्रो इन्जिन बिग्रिँदा सम्झौता अनुसार भाडाको इन्जिन उपलब्ध नगराएको भन्दै निगमले ३० नोभेम्बर २०२३ देखि २६ अप्रिल २०२४ सम्मको क्षतिपूर्ति माग गरेको थियो ।
तर, आईएआईले जहाज इजरायलमा लगी इन्जिन फेरबदल गर्दा लाग्ने खर्च मिनाहा गर्ने, जहाज भूमिस्थ (ग्राउन्डेड) हुँदाको समयको इन्जिनको भाडा मिनाहा गर्ने उल्लेख गरेको थियो ।
त्यसैबीच तत्कालीन अध्यक्ष अधिकारीले निगम सञ्चालक समिति सदस्य संयोजक भएको इन्जिन सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेस गर्न उपसमिति गठन गरेकोमा ८ अगस्ट २०२४ मा उपसमितिले क्षतिपूर्तिबारे प्रतिवेदन पेस गरेको थियो ।
त्यही प्रतिवेदनका आधारमा तत्कालीन अध्यक्ष अधिकारीले ४ अप्रिल २०२५ मा २ करोड ३० लाख ३४ हजार डलर अर्थात ३ अर्ब ३३ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको निगम स्रोतले बतायो ।
जहाज ग्राउन्डेड हुँदा मानसिक तनाव भएको, निगमको गुडविलमा असर परेको जस्ता शीर्षक राखेर क्षतिपूर्ति दाबी गरिएको निगम स्रोतले बतायो ।
‘यस्ता शीर्षकमा क्षतिपूर्ति आउने सम्भावना नै देखिन्न, इजरायली कम्पनीसँग बार्गेनिङका लागि मात्रै यस्तो दाबी गरेको देखिन्छ,’ स्रोतले भन्यो ।
निगमको अर्थ विभागबाट प्राप्त विवरण तथा सम्बन्धित विभाग समेतको छलफलले नै उल्लेखित क्षतिपूर्ति विवरण आईएआईसँग नेगोसिएसन गर्ने प्रयोजनका लागि १५ फेब्रुअरी २०२५ मा तयार गरिएको विवरण हेरफेर गरी बनाइएको निष्कर्ष निकालेको थियो ।
यो विवरण निगमको ए३२० जहाज इन्जिन मर्मत र लिज इन्जिनसँग सम्बन्धित क्षतिको यकिन विवरण नभएको निष्कर्ष उनीहरूको थियो ।
इजरायली कम्पनीले निगमलाई एक पत्र पठाई निगमको क्षतिपूर्ति त्यो दावी अस्वीकार गरेको तर ‘जेस्चर अफ गुडविल’ का रूपमा निगमको जहाज इजरायल लगे इन्जिन फेरबदल नि:शुल्क गर्ने र जहाज ग्राउन्डेड हुँदाको इन्जिन भाडा शुल्क मिनाहा गरिदिने, निगमले तिर्नुपर्ने ब्याज मिनाहा गर्ने लगायत प्रस्ताव गरेको निगम स्रोतले बतायो ।
इजरायली कम्पनीले जम्मा ४ लाख ३ हजार डलर मात्रै क्षतिपूर्ति दिने उल्लेख गरेको स्रोत बताउँछ ।
यस विषयमा निगमले आईएआईलाई वार्तामा बोलाए पनि आफ्ना सर्त पूरा गरेपछि मात्रै काठमाडौं आउने जानकारी गराएको निगम स्रोतले जनाएको छ ।
पहिलो जहाज मर्मत बापत बक्यौता २१ लाख डलर भुक्तानी गर्नुपर्ने, दोस्रो इन्जिनको ६७ लाख डलरको एलसीको म्याद सकिएकाले त्यो नवीकरण गर्नुपर्ने सर्त राखेको छ । त्यतिमात्र होइन, निगमले भाडाको जहाज प्रयोग गर्ने सम्झौता खारेज गर्ने सूचना पनि पठाएको थियो ।
निगमले भने भाडाको इन्जिन प्रयोग अवधि थप गरिदिन अनुरोध गर्दै उसले भने अनुसार २१ लाख डलर भुक्तानी गरेको छ । यसपछि पनि अझै ५ लाख डलर भुक्तानी बाँकी रहेको इजरायली कम्पनीको दाबी छ । तर, निगमले भने १ लाख २० हजार डलर मात्रै बाँकी रहेको जनाउँदै आएको छ ।
त्यसका साथै दोस्रो इन्जिन मर्मत बापत ६७ लाख डलरको एलसी खोलेको पनि निगम स्रोतले जनाएको छ । दोस्रो इन्जिन मर्मतको अन्तिम बिल ९१ लाख डलरको आएकाले अझै २३ लाख डलर भुक्तानी बाँकी रहेको निगम स्रोत बताउँछ ।
निगममा कार्यकारी सञ्चालक रूपमा अमृतमान श्रेष्ठलाई सरकारले नियुक्ति दिएपछि उनले इजरायलमा बनेको इन्जिन फिर्ता ल्याउने तथा भाडाको इन्जिन फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् । त्यसैका लागि उनले २१ लाख डलर भुक्तानी गर्नुका साथै ६७ लाख डलरको एलसी खोलेका हुन् ।
जहाज ग्राउन्डेड भएको अवधिको क्षतिपूर्ति र बाँकी बक्यौता लगायत विषयमा अहिले निगम र इजरायली कम्पनीबीच वार्ता भइरहेको निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठले जानकारी दिए ।
‘पुरानो बक्यौता नतिर्दा तथा एलसी नवीकरण नगर्दा इजरायली कम्पनीसँग कुराकानी नै नहुने तथा इन्जिन नै फिर्ता गर्न नसकिने अवस्था रहेछ, म आएपछि जोखिम लिएर २१ लाख डलर भुक्तानी पनि गरिदिएँ,’ श्रेष्ठले भने, ‘एलसी नवीकरण पनि गरिदिएँ, बल्ल अब निगम र इजरायली कम्पनीबीच संवाद हुने र इन्जिन फिर्ता हुन सक्ने वातावरण बनेको छ ।’
सम्झौता अनुसार इजरायली कम्पनीले इन्जिन उपलब्ध गराउन नसक्दा र मर्मतमा ढिलाइ गर्दाको क्षतिपूर्ति आफूहरूले दाबी गरेको र त्यस विषयमा वार्ता चलिरहेको उनले बताए ।
वार्ताका लागि निगमका प्राविधिक उपकार्यकारी निर्देशक डोलेश्वर कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको उनले जानकारी दिए ।
निवर्तमान अध्यक्ष अधिकारीले दाबी गरेको ३ अर्ब ३३ करोड क्षतिपूर्ति यथार्थमा आधारित नभएको पनि श्रेष्ठले बताए । सम्झौता अनुसार उचित क्षतिपूर्ति माग गर्न अध्ययन भइरहेको र त्यसपछि दुई पक्षबीच नेगोसिएसन गरी क्षतिपूर्ति लिइने उनले बताए ।
‘इजरायली कम्पनीले समयमा जहाज मर्मत नगरेर कमजोरी गरेको छ, उसले गरेको गल्ती अनुरूपको क्षतिपूर्ति लिन्छौं,’ श्रेष्ठले भने, ‘त्यो त छाड्दैनौं ।’
इजरायल जस्तो द्वन्द्वको उच्च जोखिम हुने देशको कम्पनीलाई इन्जिन मर्मतको जिम्मा दिनु नै गल्ती भएको उनको भनाइ छ ।
यस विषयमा कुरा गर्न निगमका पूर्वकार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पनि सम्पर्क गर्ने प्रयास गरिएको थियो । उनले प्रयोग गर्ने गरेका दुवै मोबाइल नम्बरमा सम्पर्क स्थापित हुन सकेन ।
प्रतिक्रिया 4