+
+
Shares

अवकाशमा जाने बेला विदेशमा कर्मचारी सरुवा गर्दै नेवानि अध्यक्ष अधिकारी

नेवानिका विभिन्न अन्तर्राष्ट्रिय कार्यालयमा कन्ट्री म्यानेजर तथा एकाउन्ट म्यानेजर लगायत पदमा सरुवाका लागि कार्यकारी अध्यक्ष अधिकारीले अहिले धमाधम अन्तर्वार्ता लिइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १२:५४
फाइल तस्वीर

९ असोज, काठमाडौं । अवकाशमा जान एक महिना बाँकी रहँदा ४५ जना करारमा भर्ना गरेका नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीले विदेशस्थित कार्यालयमा कर्मचारी सरुवा गर्ने अन्तिम तयारी थालेका छन् ।

नेवानिका विभिन्न अन्तर्राष्ट्रिय कार्यालयमा कन्ट्री म्यानेजर तथा एकाउन्ट म्यानेजर लगायत पदमा सरुवाका लागि अधिकारीले अहिले धमाधम अन्तर्वार्ता लिइरहेका छन् ।

विदेशमा राम्रो कमाइ हुने भएकाले ती स्टेसनमा सरुवा हुन चाहनेसँग आर्थिक लाभ लिएर मात्रै अधिकारीले सरुवा गर्ने गरेको नेवानिकै एक अधिकारीले बताए । नेवानिले देश बाहिरका विभिन्न कार्यालयमा १३ जना कर्मचारी सरुवा गर्दैछ ।

नेवानिले दुबई, मुम्बई र ग्वान्जाओमा आठौं तहका एक–एक जना कर्मचारीलाई कन्ट्री म्यानेजरका रूपमा सरुवा गर्दैछ । त्यसरी सरुवा भएर जान चाहने कर्मचारीसँग कार्यकारी अध्यक्ष अधिकारीले मंगलबाार अन्तर्वार्ता लिएका छन् ।

त्यस्तै नयाँदिल्ली र बैंककमा सातौं तहका एक–एक कर्मचारीलाई एयरपोर्ट/स्टेसन म्यानेजरमा नेवानिले पठाउँदै छ । त्यका लागि पनि उनले मंगलबार नै अन्तर्वार्ता लिएर भ्याएका छन् ।

त्यस्तै दिल्ली, मुम्बई र ग्वान्जाओमा सातौं तहका एक–एक जना लेखा प्रबन्धक पठाउने तयारी उनले गरेका छन्, जसका लागि बुधबार अन्तर्वार्ता लिइएको छ ।

दिल्ली, बैंकक र ग्वान्जाओमा छैटौं तहका तीन जना एसरपोर्ट/स्टेसन म्यानेजर पठाउने तयारी उनले गरेका छन् । त्यसका लागि बुधबार नै अधिकारीले अन्तर्वार्ता लिएका छन् । बैंकक र दोहामा एक–एक जना छैटौं तहका लेखा प्रबन्धक सरुवा गर्ने तयारी उनको छ । यो पदमा जान इच्छुकसँग उनले बिहीबार अन्तर्वार्ता लिएका छन् ।

यसअघि १ साउनमा नै नेवानिले सूचना प्रकाशित गरी यी स्थानमा जान चाहनेसँग आवेदन माग गरेको थियो । त्यसरी आवेदन दिनेसँग अन्तर्वार्ता भइरहेको छ ।

तर, देखाउनका लागि मात्रै प्रक्रिया पूरा गरे पनि यथार्थमा आर्थिक लाभका आधारमा सरुवा हुने गरेको नेवानिकै कर्मचारीहरू बताउँछन् । आफ्नो कार्यकाल एक महिना मात्रै बाँकी भएको अवस्थामा कर्मचारी सरुवाका लागि भरमग्दुर प्रयास गर्नुले यसको पुष्टि हुने सम्बद्ध स्रोतले बतायो ।

‘यसरी देश बाहिरका विभिन्न स्टेसनमा पोस्टिङ लिन चाहनेसँग आर्थिक लाभ लिने र भनेको ठाउँमा सरुवा गरिदिने संस्कृति नै अध्यक्षले बनाएका छन्,’ नेवानि स्रोतले भन्यो, ‘भारतका स्टेसनमा सरुवा हुनेसँग ५ लाखसम्म र तेस्रो मुलुकमा जानेसँग ८ देखि १० लाख रुपैयाँको डिल हुने गरेको छ ।’

नेवानिले कर्मचारी भर्ना गर्न लागेका देशमध्ये कतिपयमा त नियमित उडान हुने कि नहुने भन्ने टुंगो छैन । नेवानिले बिहीबारदेखि  चीनको ग्वान्जाओमा पहिलो उडान गर्दैछ । तर, त्यहाँका लागि अहिलेसम्म नियमित उडान तालिका नै बनेको छैन । तर, अधिकारीले त्यहाँका लागि पनि कर्मचारी पठाउने अन्तिम तयारी थालेका हुन् ।

यसअघि आफ्नो  कार्यकाल सकिन लाग्दा अधिकारीले कानुन विपरीत अन्तर्वार्ता मात्रै लिएर करारमा ४५ कर्मचारी भर्ती गरेका थिए । तेस्रो, चौथो र पाँचौं तहमा गरेर उनले ४५ जनालाई छनोट गरेका थिए ।

लोक सेवा आयोगको संगठित संस्थाका कर्मचारीको सेवाका सर्तसम्बन्धी कानुन, बढुवा र विभागीय कारबाही सम्बन्धी व्यवस्था  सामान्यतया संगठित संस्थाले अस्थायी वा करारमा नियुक्ति गर्न पाइँदैन ।

संगठनलाई आवश्यक पर्ने कार्यालय सहयोगी र श्रेणीविहीन पदमा कर्मचारी नियुक्ति गर्नुपरे मात्रै करार वा दैनिक ज्यालादारीमा राख्न पाइने व्यवस्था छ । त्यसरी अस्थायी वा करारमा कर्मचारी नियुक्ति गर्दा प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने व्यवस्था छ ।

तर, कार्यकारी अध्यक्ष अधिकारीले कानुन विपरीत तेस्रो, चौथो र पाँचौं तहमा अत्यधिक मात्रामा कर्मचारी भर्ना गरेका हुन् । आफ्नो चार वर्षे कार्यकालमा विभिन्न पार्टीका २ सयभन्दा बढी कार्यकर्तालाई अधिकारीले दैनिक ज्यालादारी तथा करारमा नियुक्त गरेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?